छैटौंपटक प्रधानमन्त्रीको बाटो तय गर्दै देउवा

0
Shares

काठमाडौं । 

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौंपटक प्रधानमन्त्री हुने बाटो तय गर्नुभएको छ । गठबन्धन दलहरूलाई मिलाएर नयाँ सरकारको नेतृत्व गर्ने कसरतमा लाग्नुभएका देउवालाई संसदीय दलको नेतामा निर्वाचित भएसँगै आगामी प्रधानमन्त्रीको बाटो खुलेको हो ।

कांग्रेसको बुधबार भएको संसदीय दलको निर्वाचनमा सभापति देउवाले ६४ मत ल्याउनुभएको थियो भने उहाँसँग प्रतिस्पर्धामा उत्रिएका महामन्त्री गगन थापाले २५ मत ल्याउनुभयो ।

नवनिर्वाचित ८९ सांसदले मतदान गरेको उक्त निर्वाचनमा देउवाको पक्षमा ७२ प्रतिशत मत र थापाको पक्षमा २८ प्रतिशत खसेको छ । २०५१ सालमै तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले युवा नेता देउवालाई संसदीय दलको नेतामा अघि सारेपछि उहाँले ४९ वर्षको उमेरमै देशको प्रधानमन्त्री बन्ने अवसर पाउनुभएको थियो ।

तत्कालीन चुनावपछि छोटो समयका लागि प्रधानमन्त्री बने पनि तत्कालीन माओवादी द्वन्द्व व्यवस्थापनमा भट्टराई र कोइरालालाई असहज परिस्थिति बनेसँगै देउवा दोस्रो र तेस्रोपटक प्रधानमन्त्री बन्न सफल हुनुभएको थियो । पार्टीभित्रको समीकरणलाई सहज बनाउन सभापति कोइरालाले २०५६ मा नेता कृष्णप्रसाद भट्टराईलाई चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नुभएको थियो ।

२०६२-६३ को परिवर्तनपछि देउवा दुईपटक प्रधानमन्त्री भइसक्नुभएको छ । यसरी पाँचाै‌ं पटक प्रधानमन्त्री हुनुभएका देउवालाई पुनः प्रधानमन्त्रीको बाटो खुलेको जिकिर गर्दै देउवा निकट केन्द्रीय सदस्य एनपी साउँदले भन्नुभयो– ‘हामी संसद्को सबैभन्दा ठूलो दल भएकाले र वर्तमान सत्ता गठबन्धनमा सहभागी सबै पार्टीहरूले मान्न सक्ने नेता कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर नै भएकाले उहाँलाई प्रधानमन्त्री बन्न सहज छ ।

अब सरकार बनाउने विषयमा गठबन्धन र गठबन्धनभन्दा बाहिर रहेका दलहरूसँग समेत छलफल गरेर अघि बढ्नेछौं ।’२०६४ मा नेता रामचन्द्र पौडेलसँग संसदीय दलको नेतामा पराजित देउवा २०७० सालमा संविधानसभाको दोस्रो निर्वाचनपछि तत्कालीन पार्टी सभापति सुशील कोइरालासँगको प्रतिस्पर्धामा समेत पराजित हुनुभएको थियो  । सुशीलको निधनपछि १३ औं महाधिवेशनमा देउवा सभापति निर्वाचित भएपछि दलको नेता र प्रधानमन्त्री हुनुभएको थियो ।

२०७४ सालको निर्वाचनपछि संसदीय दलको नेतामा निर्वाचित हुँदा देउवासँगको प्रतिस्पर्धामा प्रकाशमान सिंह मैदानमा हुनुहुन्थ्यो  । संस्थापनइतर समूहले प्रकाशमानलाई अघि सर्दा गगनले उहाँलाई साथ दिनुभएको थियो । अहिले गगन मैदानमा आउँदा प्रकाशमानले देउवालाई नै सहयोग गर्नुभयो । लामो समयदेखि नेतृत्व परिवर्तनको आवाज उठाउँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना मुद्दालाई विसर्जन गर्दै देउवाकै प्रस्तावक बसेर उहाँकै समूहमा समाहित हुनुभयो ।

देउवाको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का हुनुहुन्थ्यो । खड्कालाई पहिलादेखि नै देउवाको उत्तराधिकारीका रूपमा हेरिएको छ । तर, रामचन्द्र पौडेल, प्रकाशमान सिंह र विमलेन्द्र निधी पुनः सोही समूहमा स्पष्ट देखिएसँगै खड्काको बाटो अवरोध हुने भएको उनी निकटका एक नेताले बताए । समूहको हिसाबले दोस्रो वरीयतामा आइसकेका खड्कालाई अर्को समूहबाट आयातीत नेताहरूबाट अवरोधको खतरा बढेको उहाँको भनाइ छ । महामन्त्री थापाको प्रस्तावकमा नेता शेखर कोइराला हुनुहुन्थ्यो भने युवा नेताहरू धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले समर्थन गर्नुभएको थियो ।

यो संसदीय दलको निर्वाचनले उक्त समूहमा कांग्रेसका दोस्रो र तेस्रो तहका युवा नेताहरूको वर्चश्व स्थापित भएको छ । ४६ वर्षीय थापाले आफ्नो उमेरभन्दा बढी समय राजनीति गरेका सभापति देउवासँग भिड्ने हिम्मत गरेर पार्टीका युवा नेताहरूसमेत एकै ठाउँ उभिने परिस्थिति निर्माण गराउन सफल भएको जस पाउनुभएको छ । भोटको अंकगणितमा हारजित जे भए पनि पार्टीभित्र युवाहरूको मतैक्यताले पार्टीमा परिवर्तनको बलियो सन्देश दिएको र युवा नेताहरूको राजनीतिक जित भएको राजनीतिक विश्लेषक एवं लेखक शंकर तिवारीले बताउनुभयो ।

चौथोपटक संसदीय दलको नेता बन्नुभएका देउवाले गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दलहरूलाई संसदीय दलको नेता चयन भइसकेपछि शक्ति बाँडफाँट गर्ने आश्वासन दिँदै आउनुभएको थियो । देउवा दलको नेता चुनिएपछि अब गठबन्धनमा शक्ति बाँडफाँट र नयाँ सरकार गठनको छलफलको बाटो खुलेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि दिनुभएको समयावधि आइतबार बेलुका ५ बजेसम्म रहेकोले उक्त समायावधिमा नयाँ सरकारको अभ्यास गर्न समय अपुग भए समय थप गर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिने जानकारी दिँदै डा. महतले भन्नुभयो– ‘कांग्रेसको नेतृत्वमा वर्तमान गठबन्धनकै सरकारलाई निरन्तरता दिने पहिलो प्रयास हुनेछ ।’

दुवै महामन्त्रीको आगामी सरकारमा नजाने घोषणा

यसैबीच नेपाली कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आगामी सरकारमा मन्त्री नबन्ने घोषणा गर्नुभएको छ । कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएसँगै महामन्त्री थापा र उहाँका समर्थक अर्का महामन्त्री शर्माले बुधबार भावी सरकारमा सामेल नहुने बताउनुभएको हो । थापाले भविष्यमा संसदीय दलकै नेता बन्ने तयारीमा केन्द्रित हुने बताउनुभएको छ भने शर्माले पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरू आफ्नो जिम्मामा रहेकाले पार्टीकै काम गर्ने बताउनुभएको छ ।

संसदीय दलको नेताको मतपरिणाम सार्वजनिक भएलगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै थापाले आफ्नो समूहलाई थप मजबुत बनाउँदै लैजाने र सरकारमा आफू सामेल नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो– ‘कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने अरू साथीहरू जानु हुन्छ । कांग्रेसको संसदीय दलको नेता परिवर्तन हुनुपर्छ भन्ने मेरो सोच हो । म त्यसमा लागिरहन्छु, । म कांग्रेसको महामन्त्री पनि हुँ र सांसद पनि हुँ । त्यही रूपमा आफूले गर्नुपर्ने काम गरिरहन्छु ।’ थापाले पार्टीमा संस्थागत रूपमा छलफल नगरी राष्ट्रपति तथा प्रधानमन्त्री पद आलोपालोबारे निर्णय नगर्न सचेत गराउनुभएको छ ।

‘कुनै पनि अर्को पार्टीसँग सरकार चलाउने सन्दर्भमा आलोपालो गर्ने भनेर कुनै समझदारी गर्छ भने संस्थागत रूपमा भएको यस्तो समझदारीलाई कांग्रेसले बोक्छ । तर, योभन्दा अगाडिका समयहरूमा जस्तै बन्द कोठामा नेताहरू बसेर आलोपालो गर्ने निर्णय गर्नुभयो भने त्यसलाई कांग्रेसले बोक्दैन । भोलि नेपाली कांग्रेसले धोका दियो भन्न पाउनुहुन्न ।’

अर्का महामन्त्री शर्माले सरकारमा जाने पार्टीका नेताहरूलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताअनुसार काम गर्न आग्रह गर्ने कुरामा आफू निरन्तर लाग्ने जिकिर गर्दै उहाँले भन्नुभयो– ‘मेरो काँधमा कतिवटा कामहरू गर्न नसकिराखिएको, गर्न नभ्याइरहेको र कामहरूले मलाई पर्खिरहेको बेला छ । अनि विश्वप्रकाश शर्मा तुरुन्तै मन्त्री बन्नतिर लागेर हुन्छ ? उहाँले सरकारमा जाने सांसदहरूको संयोजनलगायतका कामहरू अघि बढाउने काममा आफू लाग्ने बताउनुभयो ।