राष्ट्रपति पदमा पनि ध्यान जान आवश्यक : डा.कोइराला

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री पदमा मात्र नभई राष्ट्रपति पदमा पनि ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनुभएको छ । उहाँले संसदको बनोट अहिले निकै तरल अवस्थामा रहेको जिकिर गदै यस्तो समयमा राष्ट्रपतिको भूमिका अत्यन्तै महत्वपूर्ण रहने बताउनुभयो ।

ललितपुरमा बुधबार आयोजित तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका परराष्ट्र मामिला सल्लाहकार एवं पर्यटन बोर्डका पूर्व वरिष्ठ निर्देशक आदित्य बरालको पुस्तक ‘भायबल ट्राजेक्टोरी’को विमोचन समारोहमा बोल्दै डा. कोइरालाले यस्तो धारणा राख्नुभएको हो । उहाँले कुनै पनि दलका नेताहरूले राष्ट्रपति पदमा ध्यान नदिई केवल प्रधानमन्त्रीको पदमा मात्र आफूलाई केन्द्रित गरेको गुनासो गर्दै भन्नुभयो– ‘मैले चुनावपछि प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका नेतालाई भेटें । उहाँहरू सबैको ध्यान केवल प्रधानमन्त्री पदमा छ । राष्ट्रपति पदमा खासै चासो राख्नुभएको छैन । तर अहिलेको राजनीतिक अवस्थामा निकै तरल छ । यस्तो बेलामा राष्ट्रपतिको भूमिका निकै महत्वपूर्ण छ ।’ उहाँले एमालेको दुई तिहाइ सरकारको पालामा बजेट सिंहदरबारबाट नियन्त्रित भएको टिप्पणी गर्दै भन्नुभयो– ‘हामीले ५ वर्ष कसरी खेप्यौं दुई तिहाई सरकारको पालामा भन्ने राम्ररी थाह छ । सभामुख आफ्नै छ तर बजेट चाहिं सिंहदरबारबाट प्रस्तुत हुन्थ्यो ।’ डा. कोइरालाले अहिले आफ्नो कुनै सिद्धान्त नभएका नयाँ पार्टीहरू संसदमा कसरी प्रस्तुत हुन्छन् भन्ने पनि चिन्ताको विषय रहेको बताउनुभयो ।

पर्यटन बोर्डका पूर्व वरिष्ठ निर्देशक बरालले बोर्डमा आफ्नो २० वर्ष लामो सेवा अवधिमा विभिन्न अखबारहरूमा प्रकाशित गर्नुभएको पर्यटनसम्बन्धी लेखहरूको पुनर्संपादित संग्रह हो– ‘भायबल ट्राजेक्टोरी’ । २ सय ७२ पृष्ठको उक्त पुस्तक नेपालको पर्यटनको विकासका बारेमा रुची राख्नेहरूका लागि उपयोगी हुने विश्वास गरिएको छ । साथै पुस्तकमा कोभिड–१९ पछिको अहिलेको सामान्य अवस्थाको पर्यटनको परिदृश्यमाथि पनि विवेचना गरिएको छ ।