माधव नेपालको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री देउवा र प्रचण्ड शिक्षण अस्पताल पुगे

0
Shares

काठमाडौ । ज्वरो र निमोनिया लगायतका स्वास्थ्यमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार गराइरहनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा अस्पताल मंगलबार १ बजे अस्पताल पुग्नुभएको थियो ।

आधा घण्टा नेता नेपाल र प्रधानमन्त्री देउवा भेटका समयमा अस्पतालको कक्षमा दुईजना मात्र बसेर गोप्य रुपमा कुराकानी गर्नुका साथै स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको अस्पताल स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवा अस्पताल पुग्नु अगाडिनै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पनि त्रिवि शिक्षण अस्पताल पुग्नुभै नेता नेपाललाई भेटी स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै सरकार बनाउँने बिषयमा समेत गोप्य कुराकानी गरेको स्रोतले जनाएकोछ ।
प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार देउवा र प्रचण्डले उपचाररत नेपालको स्वास्थ्यावस्थाको जानकारी लिँदै स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

नेता नेपाल ज्वरो, निमोनिय, दम, ब्लडप्रेसर, स्वास नलीको र फोक्सोको संक्रमणका कारण मंगलबार त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार नेता नेपालको स्वास्थ्य अवस्था स्थिर रहेकाले केही दिन अस्पतालमै बसेर उपचार गराउँन चिकित्सकहरुले सल्लाह दिएका छन् ।