काठ तस्करीमा कर्मचारीकै संलग्नता



रौतहट । पछिल्लो महिनामा भएको रौतहटको वनको काठ तस्करीका तीन घटनामा कर्मचारीहरूकै संलग्नता रहेको आरोप लागेको छ । नीयमन निकायको उदासिनताले उनीहरूले प्रश्रय पाईरहेका छन् ।

गत पुष १ गते रौैतहटको वृन्दावन साझेदारी वन उपभोक्ता समूहको क्षेत्रबाट काठ तस्करी गरेको आरोपमा पक्राउ परेका चन्द्रपुर नगरपालिका–१० निबासी सुरेन्द्र पासवान र जीतेन्द्र साहले वयानको क्रममा काठ काट्न पठाउने व्यक्तिको नाम लिए पनि अनुसन्धान अधिकृत बालकिशोर सिहले वयानमा उसको नाम समावेश नगरेको आरोप लागेको छ ।

काठ काटन पठाउने चन्द्रपुर–१० का मुकेश साहले सब डिभिजन वन कार्यालय वृन्दावनका वन अधिकृत बालकिशोर सिंहको मिलोमतोमा उनीहरूलाई पठाए पनि अन्य वन कर्मचारीले तस्करी हुँदै गरेको सूचनामा उनीहरूलाई पक्राउ गरेपछि यसको रहश्य खुलेको हो ।

पक्राउ परेका दुवै जनाले संचारकर्मीलाई आफूहरू गरीब परिवारको सदस्य रहेको बताउँदै प्रलोभनमा आफुहरुलाई वन अधिकृतसँग सम्झौता भईसकेको भन्दै काठ काट्न पठाए पनि पक्राउ परेको बताएका छन् । उनै वन अधिकृत सिहलाई अनुसन्धान अधिकृत तोकिएपछि छानबिन प्रभाबित भएको हो ।

यस विषयमा वन अधिकृत सिहले आफनो नाम जङ्गलमा लिएको सुनेको बताउनुभयो । उता सब डिभिजन वन कार्यालय जुडिबेलाका अधिकृत सुरेश महतोले ९० हजार लिएर गएको कात्तिक ७ गते चन्द्रपुर–२ जुडिबेलाबाट पुरानो घरको काठ ना २ ख ८७१७ नम्बरको ट्रकमा अन्यन्त्र लैजान मौखिक अनुमति दिए पनि सो काठ ट्रक डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएपछि वन अधिकृत महतोले अनधिकृत लाभ लिएको खुलेको थियो । यद्यपी उनले घुस लिएको अस्वीकार गरे पनि घुस रकम फिर्ता लिन आउने डरले उनी कार्यालयमा समेत बस्न छाडेका छन् ।

घुस रकमको बाँडफाँट नमिलेपछि तस्करीमा संलग्नलाई एकअर्का कर्मचारीले पक्राउ गर्न थालेपछि यसको वास्तविकता बाहिरीएको छ । तत्कालिन सब डिभिजन वन कार्यालय धन्सारका अधिकृत बैजनाथ मण्डलले गएको असारको पहिलो साता सब डिभिजन वन कार्यालय धन्सार क्षेत्रमा घाटगद्धि गरेको १८१ क्युफिट सालको २४ थान गोलिया काठ गायब गराएको रहस्य खुले पनि उनीमाथि कारबाही अझै हुन सकेको छैन ।

सहायक वन अधिकृत रामप्रसाद साहको नेतृत्वमा छानबिन समिति गठन भएपनि प्रतिबेदन डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरले त्यतिकै थन्काई दिएको छ । गोलिया काठ गायब बनाइएको प्रतिवेदन सब डिभिजन वन कार्यालय धन्सारमा कार्यरत फरेष्टर सुरेन्द्र कोईरीले डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको प्रतिवेदनमा सहायक वन अधिकृत बैजनाथ मण्डल, फरेष्टर मन्जुर मियाँ, वन रक्षक मोहम्मद मुस्तुफाले जङ्गलसैया साझेदारी बन उपभोक्ता समितिका पदाधिकारीसँगको मिलेमतोमा उक्त गोलिया काठ राजश्व रकम र प्रक्रिया मिचेर उपभोक्तालाई बिक्री गरेको प्रतिवेदन डिभिजन कार्यालयमा बुझाएका थिए । उक्त गोलिया काठ गायब बनाउने समयमा सहायक वन अधिकृत मण्डल सब–डिभिजन वन कार्यालय धन्सार र सब डिभिजन वन कार्यालय जङ्गलसैया दुवैको प्रमुख थिए ।

प्रतिक्रिया दिनुहोस्