आमाहरूप्रति सम्मान–भावको खाँचो



आमा धर्तीकी स्वरूप हुन् । उनी सबैकी जीवन हुन् । शक्तिरूपा, ममताकी खानी र सबैका लागि सुखदायिनी आमाको महिमा अपरम्पार छ ।

यस्ती अत्यन्त महिमामयी आमाको रूपचाहिँ विभिन्न प्रकारको छ । तीमध्ये हामीलाई जन्म दिएर धर्ती देखाइदिने आमा, बाँच्नका लागि अन्नपानी दिएर हुर्काउने नेपाल आमा, ज्ञानको अपार स्रोत वैदिक–संस्कृत आमा र हाम्रा लागि अति उपयोगी जनावर गाईआमा हामीले कहिल्यै पनि बिर्सन नहुने चारथरी आमाहरू हुन् । तर यी सबै आमाहरू यतिखेर सङ्कटमा छन् ।
जन्मदाता आमा: 
संसारका सबै आमाहरूले आ–आफ्ना सन्तानका लागि ठूलो कष्ट उठाएका हुन्छन् । नौ महिनासम्म पेटमा, एक–दुई वर्षसम्म काखमा र जीवनभर हृदयमा राखेर आफ्ना सन्तानलाई अजस्र एवं निःस्वार्थ माया दिने आमा नै हुन् । यस्ती आमालाई आजकल जताततै अपमान गरिएको सुन्न र देख्न पाइन्छ ।

बच्ची, नानी, कन्या, छोरी, बुहारी, दिदीबहिनी पनि सबै आमाकै रूपहरू हुन् । कतिपय अवस्थामा तिनलाई हाकाहाकीरूपमा भोगविलास र विज्ञापनको साधनका रूपमा प्रयोग गर्ने गरिएको छ । यत्रतत्र यौनशोषणको सिकार हुने गरेका पनि तिनीहरू नै छन् । कतै सामूहिक बलात्कारको सिकार बन्छन् र हत्यासमेत गरिन्छन् । कतै देउकी, झुमा र छाउपडी प्रथाका सिकार हुने पनि मातृशक्ति आमाहरू नै हुन् । कतै तेजाव खन्याइने, कतै दाइजो नल्याएको निहुँमा मट्टीतेल÷पेट्रोल खन्याएर जलाइने, कतै बोक्सी भनेर मलमूत्र खुवाइने र कतै बोक्सीकै आरोपमा कुटिने÷डामिने÷मारिने छोरी, बुहारी, भाउजू पनि अन्ततः आमाहरू नै हुन् ।

यस्ता जघन्य अपराधमा संलग्न अपराधीहरूलाई कानुनबमोजिम सजाय नहुँदा एकातिर अपराधीहरू बढ्दै छन् भने अर्कातिर मृत्युवरण गर्न पुगेका आमाहरूको आत्माले यो देशको वातावरणमा अदृश्य चित्कार गरिरहेको छ । तिनको आत्माले शान्ति पाएको छैन । शायद त्यसैले पनि यो देशमा राजनीतिक अविवेकीपन र कुशासनको रजाइँ भएको होला !

नेपाल आमा:

महसुस गरिएकै कुरा हो, नेपाल आमा प्रत्येकपटक शासकीय दोहनमा परेर गम्भीर सङ्कटबाट गुज्रिरहेकी छिन् । उनलाई रोग, भोक, भ्रष्टाचार, गरिबी, हिंसा, बेरोजगारीले सताएको छ । जाल, झेल, अपराध, आतङ्कले उत्तिकै पिरोलेको छ । साँध मिचाइ, नदीनाला बेचाइ, नियतवश वा अनजानमै पनि प्राकृतिक दोहन पनि उत्तिकै सहनुपरेको छ । पछिल्लो समयमा त माटै छोडेर विदेश जाने सन्तानहरूको सङ्ख्या बढ्न थालेको छ ।

आमाद्वारा हुर्काइएका सन्तानहरूलाई उनै आमाको माया लाग्दैन । तिनै आमामाथि भरोसा र विश्वास छैन । यदि त्यो हुँदो हो त सानो कक्षामा पढ्दादेखि नै ‘म त फलानो देश पो जाने !’ भनेर त्यही देशबारे जान्ने र त्यही देशको भाषा सिक्ने उत्सुकता बढ्दैनथ्यो । जसका मुखबाट पनि पासपोर्ट र भिसाकै कुरा सुन्नुपर्दैनथ्यो । उब्जाउशील भूमि जताततै बाँझिएको पनि देख्नुपर्दैनथ्यो । युवाशक्तिलाई स्वदेशमै टिकाउने दीर्घकालीन योजना बनाउनुको साटो सरकार स्वयं अघि बढेर विभिन्न देशमा श्रम सम्झौताका लागि प्रयासरत हुँदै, म्यानपावर कम्पनी व्यवस्थापन गर्न र ‘भाषा कक्षा’ खोलिएको हेरेर रमाइलो मान्दैनथ्यो !अस्ति वैशाख ३० मा भएको स्थानीय चुनाव र हिजो भर्खरै सम्पन्न सङ्घ तथा प्रदेशको चुनावमा ‘फ्री भिसा र फ्री टिकट’ को भाषण दिएरै हाम्रा कतिपय नेताले चुनाव जिते, जिताए । विदेश जाने र पाउने कति ठूलो कुरो रहेछ ! त्यसका सट्टा, ‘यही देशमा उद्योधन्दा खोली रोजगारीका अवसर बढाएर विदेशमा रहेका नेपाली युवालाई पनि यहीँ झिकाइनेछ’ भन्ने खालको अभिव्यक्ति कसैबाट सुन्न पाइयो !

हाम्रो मौलिक नेपाली भाषा, संस्कृति, लोकसङ्गीत, पहिरनजस्ता कुराहरू बिस्तारै हराउन थालेका छन् ! तिनका सट्टा विदेशी भाषा, विदेशी संस्कृति, विदेशी गीत सङ्गीत र विदेशी पहिरन नै हामीलाई प्यारो, इज्जतिलो, सजिलो र राम्रो लाग्न थालेको छ । खानेकुरा पनि विदेशतिर नै उब्जेका÷बनेका खाने बानी भैसक्यो । नेपाल आमाप्रति यत्रतत्र सर्वत्र यस्तो पाखण्डीपन देखाउने सन्तानको कसरी भलो होला ! अतीतप्रति आत्मगौरव र वर्तमानका पीडाहरूको महसुस नहुने राष्ट्रले आफ्नो भविष्य कसरी बनाउन सक्ला ?

वैदिक–संस्कृत आमा:

विश्वकै पुरानो भाषा संस्कृत देवभाषा हो । यो संसारका धेरै भाषाहरूको जननी भाषा पनि हो । मानव सभ्यताको जग बसाल्ने अथाह ज्ञान संस्कृत भाषामै छ । संस्कृतमा लेखिएका वेद, उपनिषद्, गीता, पुराणजस्ता ग्रन्थहरू हाम्रा अमूल्य निधि हुन् । यीमध्ये पनि वेदलाई सृष्टिको सबैभन्दा प्राचीन ग्रन्थ तथा ऋषिसाहित्य मानिन्छ ।

संस्कृत भाषामा अन्य भाषाहरूका भन्दा कता हो कता बढी शब्दहरू छन् । यो भाषा बोल्दा जिब्राका सबै मांसपेशीहरूको उपयोग हुन्छ । अमेरिकन हिन्दू विश्वविद्यालयका अनुसार, संस्कृतमा कुरा गर्नेलाई ब्लड प्रेसर, मधुमेह, कोलेस्टेरोलजस्ता रोगबाट मुक्ति मिल्छ ।

संस्कृतले दिमागलाई तेज बनाउनुका साथै स्मरणशक्ति बढाउने थाहा पाएर बेलायत र आयरल्यान्डका विश्वविद्यालयहरूमा यो भाषा अनिवार्य विषयका रूपमा पढाउन थालिएको छ । जर्मनीमा पनि उसै गरी यो भाषालाई विश्वविद्यालयहरूमा स्थान दिइएको छ । कर्मकाण्ड, ज्योतिष, साहित्य, दर्शन, गणित, विज्ञान, आयुर्वेदजस्ता मानवजातिका लागि आवश्यक पर्ने सम्पूर्ण अत्युत्तम ज्ञानको भण्डार संस्कृत भाषामा नै छ । त्यस्तो अथाह ज्ञानसागरबाट थोरै प्यास मेटाउनका लागि भए पनि धेरथोर मात्रामा संस्कृत भाषा जान्नै पर्ने हुन्छ ।

तर यति महत्वको संस्कृत भाषालाई ऋषिहरूको तपोभूमि रहेको हाम्रै देशका सरकारी विद्यालयमा स्थान छैन । यसका सट्टा गुणस्तरीय शिक्षाका नाममा विद्यालयहरूमा अङ्ग्रेजी भाषालाई माध्यम भाषा बनाउने लहर चलेको छ । कथित ‘जनयुद्धकाल’मा संस्कृत भाषामाथि निर्मम प्रहार भएको थियो । कक्षा सातसम्म संस्कृत विषय अनिवार्य पढाउने गरिएकोमा पछि हटाइयो । संस्कृत भनेकै ‘शुद्ध पारिएको’ हो । संस्कृत नै हटाएपछि हामी शुद्ध र संस्कारवान् हुने कुरै भएन ।
गौमाता:
बहुगुणी विशेषता र उपयोगिता बुझेर हिन्दू परम्परामा गाईलाई परापूर्व कालदेखि नै मातृरूप मानी पूजा गर्ने गरिएको पाइन्छ । गाईमा ३३ कोटि देवताहरूको बास रहेको विश्वास पनि छ । कुनै पनि देवकार्य तथा पितृकार्यमा गाईको दूध, दही, घिउ, गोबर, गहुँत चाहिन्छ । खाना खाइसकेपछि त्यो ठाउँमा गाईको गोबरले लोटाउने चलन पनि हिन्दू नेपाली समाजमा छँदै छ । यी कुराहरू वैज्ञानिक अध्ययनबाट पनि सही भएको कुरा प्रमाणित भएको छ ।

जर्मन कृषि वैज्ञानिक डा. जुलिशुस एवं डा. बुकद्वारा गरिएको अनुसन्धानबाट के पत्ता लागेको छ भने, गाई धर्तीको एकमात्र त्यस्तो प्राणी हो जसले अक्सिजन ग्रहण गरेर अक्सिजन नै छोड्छ । गाईको मूत्रमा सुन, तामा, क्याल्सियम, पोटासियम, सोडियम, नाइट्रोजन, फास्फेट आदि लगभग २४ तत्व हुन्छन् । गाईको दूधमा रेडियो विकिरणबाट रक्षा गर्ने सबभन्दा अधिक शक्ति हुन्छ । यसले मानिसलाई हृदयरोगी हुनबाट बचाउँछ । स्मरण शक्ति बढाउँछ । आँखाको ज्योति बढाउन मद्दत गर्छ । गाईको दूध चिल्लोरहित तर शक्तिशाली हुने हुँदा जति खाए पनि यसले मोटोपन बढ्दैन । यो स्त्रीहरूको प्रदर रोगमा पनि लाभदायक हुन्छ ।

गाईको गोबरमा हैजाका कीटाणुलाई नष्ट गर्ने शक्ति हुन्छ । यसको गन्धले अन्य रोगका कीटाणु पनि मर्छन् । यो दाद, लुतो, घाउ, खटिराजस्ता रोगका लागि औषधि पनि हो । गाईको गोबरको गुइँठा बाल्दा झिँगा, लामखुट्टे आदि कीटाणु भाग्छन् र दुर्गन्ध पनि नाश हुन्छ । केवल एउटा गाईको गोबरबाट प्रतिवर्ष ३० देखि ४५ हजार किलो बायोग्यास प्राप्त हुन्छ । गाईको एक तोला घिउबाट यज्ञ गर्दा १६०० किलो अक्सिजन उत्पादन हुन्छ । खालि पेटमा बिहान–बिहान गौमूत्र सेवन गर्नाले क्यान्सरजस्तो घातक रोग पनि ठीक हुन्छ । गाईको शारीरलाई प्रतिदिन १५–२० मिनेट जति हातले मुसार्ने हो भने उच्च रक्तचाप ठीक हुन्छ । गाईको शरीरबाट प्राकृतिकरूपमै निस्कने गूगलको सुगन्धले आसपासको वायुमण्डललाई प्रदूषणरहित बनाउँछ । एउटै गाईमा कति धेरै शक्ति र गुण !

अमेरिकी वैज्ञानिक जेम्स मार्टिनका अनुसार गाईको गोबर एवं शर्करायुक्त कार्बनिक पदार्थलाई समुद्रको पानीसँग मिलाएर त्यस्तो रसायन बनाइन्छ जसले बाँझो भूमिलाई पनि हराभरा गरिदिन्छ र सुख्खा पानीको या तेलको कुवामा पनि पुनः पानी या तेल आउन शुरु हुन्छ ।

इटलीका वैज्ञानिक प्रा. जे.ई. बिग्रेडले गाईको गोबरलाई लिएर गरेको लामो प्रयोग र अनुसन्धानबाट, गाईको गोबरबाट अनेकौं असाध्य रोगहरू ठीक हुन्छन् भन्ने कुरा पत्ता लगाएका छन् । तर यी सबै कुराहरू प्रदूषित शहरमा पालिएका विकासे जातका गाईमा होइन, गाउँमा पालिएका जङ्गलमा चर्ने स्थानीय जातका गाईमा मात्र पाइन्छ भन्ने कुराचाहिँ बिर्सनुहुँदैन ।

घाँस खाएर अमृतसमान दूध दिने अनि धर्ती जोत्नका लागि सन्तान पाइदिने गाईको गुण वास्तवमै अतुलनीय छ । गौमाता अर्थात् गाई–आमाको यस्तै गुण महसुस गरेर पनि होला, हाम्रो देशमा गाईलाई राष्ट्रिय जनावर मानी गोवधलाई गैरकानुनी मानिएको छ । तर पछिल्लो समयमा आएर संविधानमै देश ‘धर्मनिरपेक्ष राष्ट्र’ भएपछि यहाँ अन्य धर्मले खेल्ने मौका पाएका छन् । फलतः गाईको महत्वलाई पनि बेवास्ता गर्न थालिएको छ ।

कतिपय ठाउँमा दूधका लागि बाच्छाहरूलाई मर्न बाध्य पारिने, छाडा छोडिने र दूध दिन छोडेका गाईहरूलाई बेवारिसे अवस्थामा छाडिने गरेको त सामान्य नै भैसकेको हो । तीन वर्षअघि (२०७६ भदौको दोस्रो हप्ता) सुर्खेतको वीरेन्द्रनगरनजिकैको जङ्गलको भीरबाट ३६ गाई (गोरुसमेत) लडाएर मारिएको सुन्नै नसकिने समाचारसमेत आएको थियो । गाईजस्तो मातासमान गुणवान् प्राणीको त्यस प्रकारको निर्मम हत्याले हाम्रो समग्र वातावरणमै नकारात्मक असर परेको हुनुपर्छ । यो माटोमा गाई अपमानित हुनु र गोवध हुनु नेपालीकै लागि अनिष्ट हो ।

भनिन्छ, गौहत्याबाट दुःख र महाविनाश निम्तिन्छ ।नेपाल परापूर्वकालदेखि नै कतिपय शासकीय अपवादलाई छोडेर सत्य, अहिंसा र सदाचारी मूल्य मान्यताको पालनामा रमाउने देश हो । यो महर्षि वाल्मीकि, महात्मा बुद्ध, राजर्षि जनक, महर्षि याज्ञवल्क्यजस्ता ज्ञानी र अहिंसावादी सन्त महात्माहरूको जन्मभूमि र कर्मभूमि पनि हो ।

थोरै होलान् तर अहिले पनि उपकारी, समाजसेवी र देशभक्त मानिसहरूको खाँचो छैन । तसर्थ जन्म दिने आमा, नेपाल आमा, संस्कृत आमा र गाईआमा यी सबै आमाहरूप्रति कृतज्ञ भएर आजसम्म भएका भयानक गल्तीहरूप्रति क्षमा माग्दै उनीहरूप्रति आदर सम्मानको भाव जगाउनुमा नै हाम्रो कल्याण छ ।

प्रतिक्रिया दिनुहोस्