शपथग्रहणको तयारी तीव्र, सर्वदलीय बैठक बिहीबार



हेटौंडा । 

निर्वाचन आयोगले वागमती प्रदेशसभाका लागि निर्वाचित सांसदहरूको अन्तिम मतपरिणामसहित प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएसँगै संसद् सचिवालय शपथमा जुटेको छ ।

यसका लागि वागमती प्रदेशसभा सचिवालयले पुस ८ गते सर्वदलीय बैठक अह्वान गरेको छ । नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहणको मिति र समय निर्धारण गर्ने सर्वदलीय बैठक आह्वान गरिएको सचिवालयले जनाएको छ ।सांसदहरूको शपथग्रहणको तयारीलाई तीव्रता दिएको सचिवालयले शपथग्रहणअघि सर्वदलीय बैठक आह्वान गरेको हो । निर्वाचन आयोगको सहयोगमा वागमती प्रदेशका १ सय १० प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ सदस्य पहिचान गरेको सचिवालयले सोही विषयमा छलफलका लागि पुस ८ गते सर्वदलीय बैठक बोलाइएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

ढुंगानाको अध्यक्षता

सचिव खड्काका अनुसार वागमती प्रदेशसभामा नुवाकोट–२ (१) बाट माओवादी केन्द्रका तर्फबाट निर्वाचित ७२ वर्षका रामप्रसाद ढुंगाना वर्तमान प्रदेशसभामा ज्येष्ठ सदस्य हुनुहुन्छ ।

प्रदेशसभामा सभामुख र उपसभामुख नहुँदाको अवस्थामा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्थाअनुसार ढुंगानाले वागमती प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकको अध्यक्षता गर्ने सचिव खड्काले बताउनुभयो । ढुंगानालाई प्रदेश प्रमुखले शपथ गराउने र ज्येष्ठ सदस्य ढुंगानाले प्रदेशका अन्य सदस्यलाई शपथ गराउने सचिव खड्काले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको तथ्यांकअनुसार ढुंगानाको जन्म २००६ असोज २ गते भएको थियो ।

शपथग्रहण धकेलिने

प्रदेशमा सांसद्को शपथग्रहण, प्रदेशसभाको नयाँ अधिवेशन आह्वान र सरकार गठनमा ढिलाइ हुने भएको छ । प्रदेशसभा सचिवालयले आन्तरिक व्यवस्थापन पूरा गरे पनि दलहरूले तत्काल शपथग्रहणका लागि चासो नदेखाएपछि सरकार गठन र शपथग्रहण केही समय पछाडि धकेलिने भएको हो ।

प्रदेशसभाका ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले संघीय सरकार गठन र संसदीय दलको पदाधिकारी चयनपछि मात्र प्रदेशमा प्रक्रिया अगाडि बढाउन अनौपचारिक सुझाव दिएका छन् । जसका कारण प्रदेशको प्रक्रिया अलमलमा परेको छ ।

सत्ता गठबन्धनसँग ६५ सिट

१ सय १० सदस्यीय प्रदेशसभामा प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ ४४ सांसद् निर्वाचित भएका छन् । सरकार गठनका लागि ६५ सिट आवश्यक पर्नेमा सत्तारुढ गठबन्धनसँग ६५ सिट छ । जुन सरकार गठनका लागि पर्याप्त हुन्छ ।

प्रत्यक्ष र समानुपातिक गरी कांग्रेस ठूलो पार्टी बनेको छ । कांग्रेससँग प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १२ सिट गरी ३७ सिट छ । जुन २०७४ को प्रदेशसभा निर्वाचनबाट प्राप्त सिटभन्दा १५ ले बढी हो । सत्तारुढ गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रसँग २१ सिट छ । माओवादी केन्द्रले प्रत्यक्षतर्फ १४ र समानुपातिकतर्फ ७ सिट ल्याएको हो । गठबन्धनकै अर्को दल नेकपा (एकीकृत समाजवादी) सँग कुल ७ सिट छ ।

प्रदेशसभामा एमाले दोस्रो ठूलो दल बनेको छ । हाल एमालेसँग कुल २७ सिट छ । प्रत्यक्षमा १३ सिट जितेको एमालेले समानुपातिकमा १४ सिट ल्याएको हो । हालकै सत्तागठबन्धन टिकेर सरकार गठन गरे वागमती प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल एमाले बन्नेछ ।

४० पुगे महिला सदस्य

वागमती प्रदेशसभामा पहिलो कार्यकालमा भन्दा दोस्रो कार्यकालमा महिलाको प्रतिनिधित्व वृद्धि भएको छ । १ सय १० प्रदेशसभा सदस्य रहेको पहिलो प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक प्रणालीबाट ३७ महिला प्रदेशसभा सदस्य थिए । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक प्रणालीबाट गरी ४० महिला प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । वागमती प्रदेशसभामा ३३ वटा राजनीतिक दलको जमानत जफत भएको छ । प्रदेशसभामा समानुपातिकतर्फ कम्तीमा एक सिट ल्याउन नसक्ने दलको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ ।

मातृभाषामा पनि शपथ लिन पाइने

प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरूले आ–आफ्नो मातृभाषामा पनि शपथ लिन सकिने भएको छ । संघीय सांसद् सचिवालयले मंगलबार एक सूचना प्रकाशित गरी सोको जानकारी दिएको हो । त्यसका लागि संसद्ले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम संघीय संसद् सचिवालयमा पेस गर्नुपर्ने छ ।

त्यसै गरी सचिवालयल शपथ लिन राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा लगाएर आउन सांसद्हरूलाई आग्रह गरेको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ज्येष्ठ सदस्यले सांसदहरूलाई भोलि बिहीबार शपथ गराउनेछन् ।

संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था रहेको छ । सोहीअनुसार शपथ ग्रहण कार्यक्रममा सांसदहरू निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा एकप्रति प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हाल सालैको पासपोर्ट साइजको फोटो दुई प्रतिसहित उपस्थिति हुनुपर्नेछ ।
शपथ ग्रहण कायर्यक्रम बिहीबार दिउँसो १ बजेदेखि शुरू हुने भए पनि नवनिर्वाचित सांसदहरूलाई ११ बजे नै प्रतिनिधि सभा बैठक कक्षमा पुग्न संसद् सचिवालयले सूचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्