तातोपानीमा सार्वजनिक सुनुवाई

0
Shares

म्याग्दी । बेनी नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहजीकरणमा तातोपानीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकमा भए गरेका विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो ।

बेनी नगरपालिका–४, सिङ्गास्थित तल्लो तातोपानी बजार क्षेत्रमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले चालु आवको पहिलो चौमासिकमा सम्पन्न भएका विकास, निर्माण तथा योजनाको प्रगति र सेवा प्रवाहको बारेमा जानकारी गराउनुभएको थियो । पहिलो चौमासिकको गत कार्तिक मसान्तसम्म बेनी नगरपालिकाले समग्रमा १६ दशमलव ९६ प्रतिशत प्रगति हासिल गरेको छ ।

चालु आवमा बेनपाको कुल ७३ करोड ३१ लाख ५३ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा चालुतर्फ ४८ करोड ३७ लाख २५ हजार रुपैयाँ रहेको थियो भने ११ करोड ३५ लाख ७१ हजार रुपैयाँ अर्थात् २३ दशमलव ४८ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । यसैगरी पुँजीगततर्फ २४ करोड ९४ लाख २८ हजार रुपैयाँ विनियोजन भएकोमा एक करोड सातलाख ८५ हजार अर्थात् चार दशमलव ३२ प्रतिशत खर्च भएको उहाँले जानकारी दिनुभयो ।

आन्तरिक आयतर्फ चालु आवमा कुल चार करोड २३ लाख ७० हजार रुपैयाँ प्रक्षेपण गरिएकोमा त्यसमध्ये हालसम्म एक करोड ५७ लाख आठहजार सातसय २१ रुपैयाँ अर्थात् ३७ दशमलव ०७ प्रतिशत रकम सङ्कलन भएको बेनी नगरपालिकाले जनाएको छ । त्यस्तै विभिन्न विषय तथा क्षेत्रगत रुपमा विनियोजन भएको कुल बजेटमध्ये आर्थिक विकासतर्फ दुई दशमलव ५२ प्रतिशत, सामाजिक विकासतर्फ २२ दशमलव ३७ प्रतिशत, पूर्वाधार विकासमा तीन प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धितमा चार दशमलव ४१ प्रतिशत र कार्यालय तथा प्रशासनिकतर्फ २५ दशमलव ५२ प्रतिशत रकम खर्च भएको छ ।

सार्वजनिक सुनुवाइमा सहभागी तातोपानीका स्थानीयवासीहरुले तातोपानीको बजार क्षेत्रमा ढल निकासको काम प्रभावकारी नभएको, उपल्लो बजार क्षेत्र सडकभन्दा माथिबाट वर्षात्को समयमा खसिरहने भू–क्षय, बाढीपहिरोको उच्च जोखिममा परेको, ठूलोखोला क्षेत्रमा सडक निर्माण गर्दा निर्माण व्यवसायीले ढल निकास र नाली नबनाएको, वैदेशिक रोजगारीले पारिवारीक कलह निम्त्याएको, व्यक्तिगत रुख तथा काठ कटानी र चिरानीमा समस्या उत्पन्न भएको, सवारीसाधनको लाइसेन्स लिनका लागि धेरै टाढा वीरगञ्जसम्म जानुपरेको, खानेपानीको समस्या झेल्नुपरेको, तातोपानी कुण्डको संरक्षण गर्नुपर्नेलगायत थुप्रै विषयहरु उठाएका थिए ।

सहभागीहरुले उठाएका प्रश्नहरुको उत्तर दिँदै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नगर क्षेत्रमा निर्माणाधीन विकास निर्माणका योजना तथा यसअघि सुरु गरी अथुरा र अपुरा कामलाई पूर्णता दिनका लागि आवश्यक पहल थालिएको बताउनुभयो । यस्तै प्रमुख प्रशासकीय अधिकृत ढकाल, वडा अध्यक्षहरु अणबहादुर खड्का, गोविन्द बानियाँ, कृष्णसिङ बानियाँले पनि जिज्ञासाको समाधान गर्नुभएको थियो ।
सिङ्गाका वडाध्यक्ष खड्काले स्वागतसहित सार्वजनिक सुनुवाई कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सहसचिव साधन राम्जाली, कार्यसमिति सदस्य कृष्णबहादुर जिसी र पत्रकार धिरन खत्रीले सहजीकरण गर्नुभएको थियो ।