सांसदले मातृभाषामा शपथ लिन सक्ने (सूचनासहित)



काठमाडौं । गत मंसिर ४ मा सम्पन्न प्रनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका सांसदहरुले मातृभाषामा शपथ लिन सक्ने संघीय संसद्को संचिवालयले जनाएको छ ।

त्यसका लागि संसद्ले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम संघीय संसद् सचिवालयमा पेश गर्नुपर्ने छ ।

आज (मंगलबार) संघीय संसद् सचिवालले जारी गरेको सूचनामा दुई घण्टा अगावै राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थितिको लागि सांसदहरुलाई अनुरोध पनि गरिएको छ ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जेष्ठ सदस्यले सांसदहरुलाई शपथ गराउने तय भएको छ । संविधानको धारा ८८ बमोजिम संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानून बमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था रहेको छ ।

भोलि (बिहीबार) दिउँसो १ बजेदेखि शपथ ग्रहण कायर्यक्रम सुरु हुने भएपनि नवनिर्वाचित सांसदहरुलाई ११ बजे नै प्रतिनिधिसभा बैठक कक्षमा पुग्न संसद् सचिवालयले सूचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्