कांग्रेस संस्थापनइतर पक्ष : शेखरले गगनलाई फकाउँदै, गगन संसदीय दलको नेता नछाड्ने



काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस संस्थापनइतर पक्ष डा.शेखर कोइराला–गगनकुमार थापाको बैठक बसेको छ । आज (मंगलबार) संसदीय दलको निर्वाचन प्रक्रियाका लागि उक्त समूहको बैठक बसेको हो ।

कांग्रेस संस्थापनइतर पक्ष शेखर–गगनको बैठक बसिरहेको छ । दलको नेतामा सभापति शेरबहादुर देउवाले नछाड्ने भएपछि शेखर–गगनको बैठक (हिजो) सोमबारदेखि लगातार नै चलेको छ ।

आज (मंगलबार) सो पक्षको केही समयअघि शुरु भएको बैठकमा संसदीय दलको नेता चयनदेखि नयाँ सरकार गठनका विषयमा पनि छलफल हुने नेताहरूले जानकारी दिएका छन् ।

शेखर कोइराला र गगन थापाले पनि संसदीय दलको नेतामा आकांक्षा राखेका छन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअघि आफूलाई भावी कांग्रेस संसदीय दलको नेता र प्रधानमन्त्रीको रूपमा अघि सारेका महामन्त्री गगन थापाले पनि संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारीमा छन् ।

उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका युवा नेताको समर्थन छ । तर, बहुमत सभापति देउवा पक्षलाई रहेकाले शेखर–गगनको बैठक बसेको हो ।

सो बैठकमा शेखरले संसदीय दलको नेताका लागि गगनलाई विगत केही समययता फकाउँदै आएका छन् । तर, गगनले हालसम्म पनि आफूले उक्त दलको नेतामा आफ्नो उम्मेदवारी नछोड्न स्रोतले बताएको छ ।

बैठकमा उपसभापति धनराज गुरुङ, चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसी र दिलेन्द्र बडू लगायतका केही नेता सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्