कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता



काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्ने भएको छ । आज (मंगलबार) कांग्रेसले संसदीय दलका लागि उम्मेदवारी दर्ता गर्ने निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्ब जानकारी दिए ।

भोलि (बुधबार) कांग्रेस संसदीय दलको निर्वाचन हुने भएको छ । निर्वाचनका लागि समितिले हिजो (सोमबार) नै मतदाता नामावली सार्वजनिक गरिसकेको छ ।

आज दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ । संयोजक आङ्देम्बेका अनुसार उम्मेदवारको प्रथम नामावली आज दिउँसो ३ः३० बजे प्रकाशन हुनेछ ।

दिउँसो ३ः३० देखि ४ बजेसम्म उम्मेदवारको नामावलीमा दाबीविरोध हुनेछ । दिउँसो साढे ४ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ भने आज साँझ ५ः४५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।

संसदीय दलको नेताका मतदान भने भोलि बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, डा.शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।

कांग्रेस संसदीय दलको नेताको चुनावमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट ३२ सांसद मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्