ज्येष्ठ नागरिकप्रति अब बन्ने सरकारको ध्यानाकर्षण



आजकाल ज्येष्ठ नागरिकले भोग्नुपरेका पीडाबारे समाचारमा बढी नै सुन्नु, पढ्नु, हेर्नुपरेको छ । उनीहरुका समस्याबारे सरकारले वृद्धभत्ता दिनुबाहेक सम्बोधन गर्न सकेको छैन । त्यही वृद्धभत्ता पनि आफू अशक्त भएकाले अरुले नै बैंकबाट ल्याइदिनुपर्ने हुँदा सम्बन्धित वृद्धवृद्धाकहाँ सबै रकम आइपुग्छ भन्न सकिने अवस्था छैन ।

मुलुकमा ज्येष्ठ नागरिकको समस्या विकराल बन्दै गएको छ । हुन त ज्येष्ठ नागरिक धर्मशाला हो, पुस्तकालय हो, महाविद्यालय हो र अनुसन्धान केन्द्र हो । तर यतातिर फर्केर हेर्न पनि चाहँदैनौँ हामी । ज्येष्ठ नागरिकमा भएका ज्ञान, बुद्धि, विद्या, कला, सीप र अनुभवको बेवास्ता गरिरहेका छौँ । वृद्धहरुलाई उपेक्षा र अवहेलना गनर्,े कानुनी तथा स्वास्थ्य उपचारबाट वञ्चित गर्ने, निर्णय गर्ने अधिकारबाट वञ्चित गर्ने कार्यले वृद्धहरुलाई आघात पु¥याएको छ ।

वृद्धहरुको चाहना बुझ्ने कोशिश पनि गरेको देखिँदैन । वृद्धहरु आफ्ना सन्तान आफ्नै वरिपरि रहिरहून् भन्ने चाहन्छन् । हाल स्वेच्छा र बाध्यताले वृद्धहरु एक्लिने क्रम बढ्दो छ । सहारा नपाएर वृद्धवृद्धा अलपत्र पर्ने अवस्थामा छन् । पारिवारिक व्यस्तताका कारण घर–परिवारमा उपयुक्त स्याहार र समय नपाउँदा वृद्ध मन रोइरहेको हुन्छ । चिन्ता, तनाव र शून्यतामा पिल्सिएका हुन्छन् उनीहरु । यसै पनि शारीरिक, मानसिकरुपमा अशक्त वृद्धवृद्धाहरुलाई परिवारको हेला र उपेक्षाले थप पीडा बल्झाउने गर्दछ ।

सन्तानको माया र स्याहारले नै वृद्धमन र जीवनलाई खुसी राख्न सकिन्छ । तर विडम्बना, आजको महँगी र प्रतिस्पर्धाको जमानामा छोराछोरीका लागि बाबुआमा बोझ बनिरहेका छन् । बाबुआमाप्रतिको मर्यादा र कर्तव्य आफ्ना सन्तानलाई सिकाउन, बुझाउन अक्षम छन् आजका पुस्ता । जसका कारण हरेकले आजका वृद्धले भोगेका भोगाइ सामना गर्नै पर्ने नियति हाम्रा सामु छ ।

वृद्धवृद्धाका शारीरिक, मानसिक अवस्था र वेदना सन्तानले त्यही उमेरमा नपुगी बुझ्न सक्दैनन् । बाबुआमाको वृद्धावस्थाको पीडाबोध गर्ने उमेरमा आफू पुग्दा बाबुआमाले नेटो काटिसकेका हुन्छन् । त्यतिखेर सन्तानले पश्चात्ताप गर्नबाहेक अर्को विपल्प रहँदैन । त्यसैले अब राज्यले पनि ज्येष्ठ नागरिकको सेवा संरक्षण तिनकै सन्तानको दायित्व हो भनेर ज्येष्ठ नागरिकले उठाउँदै आएका मागप्रति मौन रहन हुँदैन ।

अब राज्यले नै वृद्ध जीवनलाई सहज र सक्रिय बनाउन नयाँ योजना र अवधारणा ल्याउनु जरुरी छ । अब बन्ने नयाँ सरकारले वृद्धवृद्धाले भोग्नुपरेका समस्यातर्फ ध्यान पु-याओस् । उनीहरुलाई पैसामात्र भएर हुँदैन, मुख्य कुरा स्याहार र मायाको जरुरत पर्दछ ।
– सुबिनकुमार ‘सूर्य’, मन्थली, रामेछाप ।

प्रतिक्रिया दिनुहोस्