एपोलोमा रक्तदान



काठमाडौं । 

समुदाय–प्रहरी साझेदारीअन्तर्गत आइतबार मध्य बानेश्वरस्थित एपोलो इन्टरनेसनल कलेजको प्रांगणमा एक रक्तदान कार्यक्रमको आयोजना गरियो ।

कलेजका कार्यकारी निर्देशक किशोर गौतमको अध्यक्षतामा आयोजित कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथि प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सोबिता गौतमले सभालाई सम्बोधन गर्दै आफू युवा जगत्को प्रतिनिधि भएकाले संसद्मा युवायुवतीलाई आफ्नै देशमा बसेर अध्ययन तथा काम गर्न पाउने वातावरण निर्माणका लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद गौतम आफ्नो जितलाई युवाको जित भन्दै अब मुलुकमा परिवर्तन गर्ने बेला आएको र त्यसका लागि सबैको सहयोगको आह्वानसमेत गर्नुभयो ।

कलेजका कार्यक्रम निर्देशक विमल गौतमले कार्यक्रमका सहभागीहरूलाई स्वागत गर्दै सांसद गौतमको बधाई तथा सम्मानपत्र वाचन गर्नुभएको थियो भने कार्यकारी निर्देशक किशोर गौतम, निर्देशकद्वय अजयप्रसाद ढकाल र डा. ध्रुव भट्टराईले सो सम्मान संयुक्त रूपमा प्रदान गर्नुभयो ।

कलेजका प्रशासन प्रमुख गणेश गौतमको सञ्चालनमा भएको सो कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं १० का वडा अध्यक्ष रामकुमार केसी, सामुदायिक प्रहरीका तर्फबाट ताराराम दयाललगायतले सम्बोधन गर्दै कार्यक्रमको सराहना गर्नुभयो । साथै सबै वक्ताहरूले एपोलो इन्टरनेसनल कलेजसँग सामाजिक गतिविधिहरूमा हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी वृत्त तिनकुनेका प्रमुख प्र.ना.उ. निशान्त श्रीवास्तवलगायतको विशेष उपस्थिति रहेको थियो ।

एपोलो कलेजमा अध्ययनरत बीबीए सातौं तथा बीबीए–बीआई सातौं सेमेस्टरका विद्यार्थीको सक्रियतामा आयोजित कार्यक्रममा १ सय १२ विद्यार्थीले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्