विद्यार्थी कल्याण परिषद्को पहिलो बैठक आज

स्ववियु निर्वाचनको तयारीमा त्रिवि



काठमाडौं ।

 त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति र निर्वाचन कार्यतालिका सार्वजनिक गर्न मंगलबार त्रिवि विद्यार्थी कल्याण परिषद्को पहिलो बैठक बस्दै छ ।

विद्यार्थी संघसंगठनहरूसँग अनौपचारिक छलफल भइसकेको जानकारी दिँदा परिषद्का सदस्य सचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले नेपाल समाचारपत्रलाई फागुन १४ मै गर्नेगरी कार्यतालिका सार्वजनिक गर्ने स्पष्ट पार्नुभयो । तोकेकै मितिमा निर्वाचन गर्नेगरी तयारी थालिरहेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘पहिलो बैठकपछि कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेका छौं । यसका लागि सरकारको पूर्ण सहयोगको आवश्यक्ता छ ।’

उहाँका अनुसार बैठकले निर्वाचनको कार्यतालिका तयारीका विषयमा छलफल गर्न विद्यार्थी संघ–संगठनलाई औपचारिक पत्राचार गर्नेलगायतका विषयमा निर्णय गर्नुका साथै बैैठकपछि त्रिविले सुरक्षा निकाय, दलका नेता लगायतसँग छलफल गर्ने तयारी थाल्नेछ ।

यसअघि त्रिविका पदाधिकारीले कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, गृह मन्त्रालय लगायतसँग छलफल गरिसकेको छ । त्रिविका रेक्टर प्राडा शिवलाल भुषालको अध्यक्षतामा हुने बैठकमा त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहाल उपाध्यक्ष रहने व्यवस्था छ ।देशभर ६२ वटा आंगिक क्याम्पस सञ्चालित छन् । विसं २०६५ मा भएको स्ववियु निर्वाचनपछि अर्थात पछिल्लो १४ वर्षदेखि त्रिविलगायत उपत्यकाका १३ र उपत्यका बाहिरका १० गरी २३ क्याम्पसमा निर्वाचन हुन सकेको छैन ।

विसं २०७३ सालमा उपत्यकाका ९ र उपत्यकाबाहिरका १७ गरी २६ वटा क्याम्पसमा निर्वाचन भएको थियो । २०६५ सालदेखि उपत्यकाका त्रिवि केन्द्रीय क्याम्पस, नेपाल ल, पद्मकन्या, शंकरदेव, त्रिचन्द्र, विश्वभाषा, पाटन संयुक्त, ललितकला, महेन्द्ररत्न, सरस्वती, अमृत साइन्स, नेपाल कमर्स र पब्लिक युथ क्याम्पसमा निर्वाचन हुन सकेको छैन । त्यति बेला उपत्यकाका २२ मध्ये थापाथली, भक्तपुर, नर्सिङ क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थान, जन प्रशासन, सानोठिमी, महाराजगन्ज, आयुर्वेद क्याम्पस कीर्तिपुर र रत्नराज्य लक्ष्मी क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।

सरकार आबद्ध नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन र एमाले निकट अनेरास्ववियुले फागुन १४ गर्ने नै निर्वाचन गराउन त्रिविलाई आग्रह गरेको छ । नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले फागुन १४ मै स्ववियु निर्वाचन गराउन त्रिविका उपकुलपतिसमक्ष ज्ञापनपत्र बुझाइसकेका छन् । उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सकिइसकेको अवस्थामा विद्यार्थी संगठनले स्ववियु निर्वाचन गर्न दबाब दिएका कारण निर्वाचन तयारीमा लागेको जानकारी दिनुभयो ।

२८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि २०७३ सालमा भएको स्ववियु निर्वाचनमा पहिलोपटक उपत्यकाका ९ र उपत्यकाबाहिरका १७ गरी २६ वटा क्याम्पसमा निर्वाचन भएको थियो । मिश्रित प्रणालीमा २०७३ सालमा सभापति, सचिव तथा कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन तथा उपसभापति र सह–सचिवका साथै ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्