शिक्षाविद् स्व. राजवंशीको चाहना : नयाँ पुस्ता स्वदेशप्रति समर्पित होऊन्



काठमाडौं।

‘विदेश पढ्न जाने, घुम्न जाने तर त्यहीं बसेर अरुको चाकरी गर्ने होइन, फर्केर आफ्नै देशको सेवा गर्ने ।’ शिक्षाविद् स्वर्गीय लक्ष्मण राजवंशीको यो भनाइ आफूलाई साह्रै घत लागेको बताउँदै कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले भन्नुभयो– ‘मैले पनि मेरो छोरालाई भनेको छु, तिमीहरू पढाइ सकेर स्वदेश फर्की आफ्नै देशको सेवा गर्नुपर्छ ।’

राजधानीमा सोमबार आयोजित लक्ष्मण राजवंशी स्मृतिग्रन्थको लोकार्पण तथा उहाँको कथामा आधारित चलचित्र सनाखतको शुभारम्भ कार्यक्रममा बोल्दै श्रेष्ठले नयाँ पुस्ता देशप्रति समर्पित होऊन् भन्ने चाहना राख्ने शिक्षाविद् तथा साहित्यकार स्व. राजवंशीले आफ्नै सन्तानहरूलाई पनि विदेश पलायन हुन नदिई स्वदेशकै सेवामा लगाएर उदाहरण प्रस्तुत गर्नुभएको जिकिर गर्नुभयो । सिद्धार्थ वनस्थली इन्स्टिच्युटको संस्थापक प्राचार्य स्व. राजवंशीका दुई छोरामध्ये जेठा रुपक राजवंशी सिद्धार्थ वनस्थलीकै प्राचार्यका रुपमा सेवारत हुनुहुन्छ भने कान्छा छोरा दीपक राजवंशी सौरदीप बोर्डिङ स्कुलको संस्थापक भई शिक्षण क्षेत्रमै हुनुहुन्छ ।

कार्यक्रममा लोकार्पण गरिएको स्व. राजवंशीको स्मृतिग्रन्थमा शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले स्व. राजवंशीलाई नेपालका मोपासाँको रुपमा चित्रित गर्नुभएको छ । मोपासाँले फ्रेन्च लघुकथाको माध्यमबाट राष्ट्रलाई माथि उठाएको सन्दर्भ जोड्दै स्व. जोशीले लक्ष्मण राजवंशीको हरेक कथामा राष्ट्रको एउटा युग हुने उल्लेख गर्नुभएको छ । उहाँले दरिलो लेखनद्वारा समाज र राष्ट्रलाई चित्रित गर्ने स्व. राजवंशीको योगदानको यथोचित कदर हुन नसकेको भन्दै स्मृतिग्रन्थमा चिन्ता व्यक्त गर्नुभएको छ ।

लोकार्पित कृतिको समीक्षा गर्दै प्रा.डा. लक्ष्मणप्रसाद गौतमले राजवंशीको व्यक्तित्व सिंगै पुस्तकमा अटाएको बताउनुभयो । उहाँले राजवंशीलाई शिक्षा र साहित्यको पर्यायका रुपमा परिचित व्यक्तित्वका रुपमा आफूले पाएको उल्लेख गर्नुभयो । साहित्यका क्षेत्रमा ३२ वटा कृति प्रकाशित गरिसक्नुभएका राजवंशीको यो कृति लेखका रुपमा ९७ वटा रहेका छन् । कतिपय लेख छोटा तथा कतिपय लामा भए पनि राजवंशीको संस्मरण हृदयको भाषाले आफूलाई नढाँटी लेखिएको कृति भएकोमा गौतमले जोड दिनुभयो ।

सिद्धार्थ वनस्थलीको प्राचार्य रुपक राजवंशीले पौने दुई वर्षको समय आफूहरुका लागि ज्यादै कष्टकर रहेको बताउँदै अरुले दाइ भनेको सुनेर आफूले पनि बुबालाई दाइ भन्ने गरेको स्मरण गर्नुभयो । उहाँले भावुक शैलीमा शैशवकालका कुरा कोट्याउँदै भन्नुभयो– ‘सानोमा म बुबाको काँध चढेर अलगिएँ तर आज बुबा मेरो काँध चढेर अलगिनुभयो ।’

कार्यक्रममा नेपाल भाषा, नेपाली र अंग्रेजी गरी तीन भाषामा निर्माण भएको स्व. राजवंशीकै कथामा आधारित चलचित्र ‘सनाखत’ को प्रमुख अतिथि हास्य कलाकार मदनकृष्ण श्रेष्ठले शुभारम्भ गर्नुभएको थियो । छोराछोरी विदेशिने नेपाली समाजको कथावस्तु समेटिएका उक्त चलचित्रमा श्रेष्ठले मुख्य भूमिका निर्वाह गर्नुभएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठका साथै हरिवंश आचार्य, नारायणदेवी प्रधान, धीरेन शाक्य, सन्तोष पन्तलगायतले अभिनय गर्नुभएको छ ।

एएन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको उक्त चलचित्रको पटकथा लेखन र निर्देशन आर्यम नक:मीले गर्नुभएको छ । कार्यक्रममा सबै कलाकारलाई सम्मान गरिएको थियो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्