एमाले शान्त : सरकार निर्माणको दौडधुपमा गठबन्धन

0
Shares

काठमाडौं ।

नयाँ सरकार निर्माणका लागि वर्तमान सत्ता गठबन्धनमा दौडधुप शुरू भएको छ । सत्ता साझेदार दलभित्र प्रधानमन्त्रीको विषयमा निर्णय नभए पनि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीको दाबी गर्दै दौडधुप बढाएका हुन् ।

सत्ता गठबनधनको प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटर प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । गठबन्धनकै सरकार बनाउने र पहिलोपटक आफू प्रधानमन्त्री हुने दौडमा लागेका दाहाललाई देउवाले कांग्रेस संसदीय दलको निर्वाचनपछि मात्रै यस विषयमा सल्लाह गर्ने भन्दै टार्नुभएको छ । कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ ।

देउवा आफैं प्रधानमन्त्री हुने लाइनमा बसेकाले प्रचण्डलाई पर्खन लगाएको उहाँ निकटका एक केन्द्रीय सदस्यले नेपाल समाचारपत्रलाई बताए । उनले भने– ‘सभापति आफैं प्रधानमन्त्रीको लाइनमा हुनुहुन्छ । यो अवस्थामा प्रचण्डलाई हुँदैन भन्यो भने भड्किएर एमालेसँग मिल्न जाने हुन् की भन्ने डर पनि छ । त्यसैले पार्टी संसदीय दलको नेता छनोटपछि सल्लाह गरौंला भनेर भन्नुभएको हो ।’ दलको नेता बन्न कांग्रेसभित्र लडाइँ शुरू भएको छ । संस्थापन पक्षमा सभापति देउवाको विकल्पमा कोही देखिँदैनन् । तर, संस्थापन इतर समूहमा नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच दुई धार देखिएको छ ।

संस्थापन इतर समूहबाट गगन वा शेखर एकजना मात्रै उम्मेदवार बन्दा देउवाका पक्षमा रहेका केही सांसदहरूले समेत नयाँ पुस्ताका पक्षमा मतदान गर्ने र जिताउन सक्ने कुरालाई ध्यानमा राख्दै कोइराला समूहबाट दुवै जना दलको नेतामा उठाउने खेल भएको भन्दै संस्थापन इतरका दोस्रो तहका नेताहरू समूह विभाजन हुन नहुने पक्षमा छन् । तर, केही शीर्ष भनिएका नेताहरूले नै समूहभित्रै पुराना र नयाँ पुस्ताको कुरा उठाएर विवाद बढाएको सो समूहका युवा नेताहरूको भनाइ छ ।

आगामी सरकार निर्माणअघि हुने संसदीय दलको नेता चयनलगायत विषयमा निर्णय गर्न कांग्रेसले आइतबार कार्यसम्पादन समितिको बैठक बसेर ३ सदस्यीय समिति बनाएको छ । समितिमा सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजक तथा प्रकाश स्नेही र पुष्पा भुसाल सदस्य रहनुभएको छ । संसदीय दलको नेताको चुनावको मिति तोक्ने र चुनाव गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, शेखर कोइराला, गगन थापालगायत आकांक्षी छन् ।

दलको नेताको चुनाव १÷२ दिन भित्रै हुने बताइएको छ । त्यसपछि सरकार गठन प्रक्रियाका लागि कांग्रेसमा बाटो खुल्नेछ । कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णयसमेत गरेको छ ।सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच सामान्य बैठकहरू भए पनि शक्ति बाँडफाँटको निर्णय भइनसकेको नेताहरूले बताएका छन् । सरकार वर्तमान सत्ता गठबन्धनकै बन्ने जिकिर गर्दै नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भन्नुभयो– ‘दलहरू संसदीय दलको नेता छनोटमा केही दिन व्यस्त होलान् । त्यसपछि चाँडै निकास निस्कन्छ ।

शक्ति बाँडफाँट प्याकेजमै हुन्छ ।’ गठबन्धन कायमै राख्ने निर्णय गरेको एकीकृत समाजवादीले दलको नेतामा अध्यक्ष माधव कुमार नेपाललाई नै अघि सार्ने जनाए पनि नयाँ सरकारको पहिलो प्रधानमन्त्रीमा भने दाबी गरेको छैन । माओवादी केन्द्रले भने सोमबार बैठक बस्ने जनाएको छ । उक्त दलले अध्यक्ष प्रचण्डलाई नै सर्वसम्मतले दलको नेता छनोट गर्ने बताएको छ ।

माओवादी केन्द्रसहित कम्युनिस्ट वामपन्थी सरकार बनाउने प्रयासमा रहेको एमाले भने पछिल्लो समयमा सत्ता गठबन्धन दलहरूले नै सरकार बनाउने जनादेश पाएको भन्दै शान्त बसेको छ । एमाले प्रमुख प्रतिपक्षी भएर बस्ने बताउँदै एमालेका नेता विशाल भट्टराईले भन्नुभयो– ‘यदि गठबन्धनले बहुमत पु¥याउन सकेन भने हामी अघि बढ्छौं ।’

केही समयअघि ओलीले फोन गरेर प्रचण्डलाई मिलेर जान सकिने भने तापनि त्यस बेला प्रचण्डले गठबन्धन नछाड्ने जवाफ दिनुभएको थियो । तर, अहिले आएर प्रचण्ड आफैं प्रधानमन्त्री बन्ने सर्तमा एमाले अध्यक्ष ओलीसँग संवाद गर्न चाहेको बताइएको छ । एमाले–माओवादी सहकार्यको नयाँ सरकारका विषयमा अहिले नसोचिएको स्पष्ट पार्दै नेता भट्टराइले भन्नुभयो– ‘माओवादी अध्यक्षले एमालेसँगको सहकार्यमा सरकार बनाउने प्रस्ताव गर्नुभएको हो । तर, हाम्रो अध्यक्षले त्यसमा केही प्रतिक्रिया दिनुभएको छैन ।’

प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा माओवादी केन्द्र आफैं सत्ताको नेतृत्व गर्न चाहन्छ । नयाँ सरकारको पहिलो नेतृत्व आफंैले गर्ने दौडधुपमा लागेको माओवादीलाई प्रधानमन्त्री सहज रूपमा दिइहाल्ने अवस्थामा अन्य दलहरू पनि छैनन् ।

सरकार निर्माणको जोड घटाउका लागि स्वतन्त्र र नयाँ दलहरूलाई समेत मनाउने अभ्यासमा गठबन्धनका नेताहरू लागेका छन् । पहिलोपटक संसद्मा आएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत सरकारमा जाने तयारीमा हुनुहुन्छ । उहाँले सरकार निर्माणको विषयमा चासो दिँदै एमाले र माओवादी अध्यक्षसँग भेट गरिसक्नुभएको छ ।

नयाँ सरकार गठनका लागि ७ दिनको समय

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सात दिनको समय दिएर सरकार गठनका लागि राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी गत मंसिर ४ मा भएको निर्वाचन परिणामअनुसार संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलको बहुमत नआएकाले उपधारा (२) अनुसार सरकार बनाउन आह्वान गर्दै सात दिनको म्याद उपलब्ध गराएको जानकारी दिएको हो ।

संविधानको उक्त व्यवस्थाअनुसार प्रतिनिधिसभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्नेछ ।