भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध औषधि र कपडा बरामद



मोरङ । मोरङमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध औषधी र विभिन्न कपडा प्रहरीले बरामद गरेको छ । हिजो (शनिबार) राति बरामद गरेको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका–१६ विराटनगर जुटमिल नजिकबाट करिब १२ लाख तीन हजार चार सय २० रूपियाँ बराबरको आँखाको लेन्स लगायतका विभिन्न अवैध औषधि तथा कपडाहरू प्रहरीले बरामद गरेको हो ।

अपरिचित व्यक्तिहरूले भारतबाट नेपालतर्फ अवैध रूपमा लुकाई छिपाई बोरामा ल्याउँदै गरेको उक्त सामानहरू ईलाका प्रहरी कार्यालय रानी र ईलाका प्रहरी कार्यालय रानी (सिमा)बाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ सोही स्थानमा छाडी फरार भएपछि प्रहरीले बरामद गरेको हो ।

हाल फरार अपरिचित व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्