नेपालको कानुनले जुवातास खेल्नलाई प्रतिबन्ध लगाएको छ । तर, सरकारलाई नै चुनौती दिएर लुकिछिपी तास खेल्नेको संख्या पनि उत्तिकै छ ।
कतिपयलाई प्रहरीले जुवातास अड्डाबाटै पक्राउ गर्दछ । त्यसरी पक्राउ परेकालाई कानुनमा उल्लेख भएबमोजिम कारबाही गरिन्छ । पछिल्लो समय शेयर पनि ठ्याक्कै जुवातासजस्तै भएको छ । एकदिन शेयरको मूल्य बढ्यो हर्षित हुन्छन्, अर्को दिन फेरि घटिहाल्छ । जसको कारण शेयरमा लगानी गर्नेहरु जतिखेर पनि तनावमा देखिन्छन् ।
जुवातासमा मार् यो भने खुशी र हार्यो भने दुःखी हुन्छन्, शेयरमा पनि उस्तै अवस्था छ । शेयरमा जथाभावी लगानी गर्नेहरु अहिले टाट पल्टिसकेका छन् । घरखेत बेचेर शेयरमा लगानी गर्नेहरु अहिले सडकमा आइपुगेका छन् । आफ्नो भएको जेथो नै डुबेपछि शेयर लगानीकर्ताहरुलाई ‘मर्नु न मोटाउनु’ भएको छ ।
शेयरको घट्दो मूल्यका कारण वित्तीय संस्थाहरु पनि डुब्ने अवस्थामा पुगेका छन् । शेयर धितो राखेर कर्जा दिने बैंक फाइनान्सको लगानी जोखिममा परेको प्रस्टै बुझिएको छ । शेयरमा नयाँ लगानीकर्ता ठप्पझैँ भइसकेको छ । अहिले पनि विभिन्न कम्पनीहरुले आईपीओ खोलिरहेका छन् । नयाँनयाँ कम्पनीहरुले दिनहुँजसो शेयर निष्कासन गर्दछन् ।
पछिल्लो समय बैंक फाइनान्स आफैं पनि रित्तो हुँदा शेयरवालालाई कसरी नाफा दिन्छ ? वित्तीय संस्थाहरुले कर्जा दिन सक्ने अवस्था छैन । यता, दिएको कर्जा पनि उठाउन हम्मेहम्मे परिरहेको छ । सर्वसाधारणहरुले पनि वित्तीय संस्थामा लगेर पैसा राख्दैनन् । रातारात आफ्नो जम्मा भएको रकम निकाल्ने क्रम बढ्दो छ । जसका कारण शेयरको मूल्य झनै घट्ने अड्कलबाजी गर्न थालिएको छ । ऋण लिएर शेयर किन्नेहरु भाग्नुपर्ने अवस्थामा आइपुगेको बताइन्छ ।
तर, शेयरमा धेरै लगानी भएका व्यापारीहरु शेयरको मूल्य बढ्छ भनेर बजारमा हल्ला फिँजाइरहेका छन् । एकातिर व्यक्तिसँग पैसा छैन, अर्कोतिर बैंक फाइनान्सले कर्जा दिँदैन । अनि कसरी शेयरको मूल्य बढ्छ ? सीधासाधी जनतालाई भिडाउनका निम्ति व्यापारीहरुले भ्रम फिँजाइरहेका छन् । बैंक फाइनान्सहरु धराशायी हुनुको प्रमुख कारण शेयर र घरजग्गामा जथाभावी लगानी गर्नु हो ।
तर, शेयर र घरजग्गाको मूल्य बढाउने सरकारले होइन, व्यापारीहरुले हो । शेयरमा अर्बौं रुपियाँ लगानी गर्ने र घरजग्गामा खर्बौं लगानी गर्नेहरुको भागाभाग भइसकेको छ । ठूला व्यापारी देशै छोडेर भागिसकेका छन् भने साना व्यापारी लुकिछिपी हिँडेका छन् । बैंक फाइनान्सको कर्जा प्रत्येक दिन बढिरहेको छ तर घरजग्गा र शेयरको मूल्यमा मन्दी आएको छ । तीन सयको शेयर एकसय रुपियाँमा बिक्री भएको छैन । यता, घरजग्गाको मूल्य पनि स्वाट्टै घटेको छ ।
बढी नाफा खानका निम्ति हिजो वित्तीय संस्थाहरुले आँखा चिम्लेर लगानी गरे । घूस खाएर महँगो ब्याजमा कर्जा प्रवाह गरे । तर, आज उनीहरु नै शिथिल भएका छन् । घरजग्गा र शेयर किन्नलाई खरिदकर्ता नहुँदा उनीहरुको लगानी जोखिममा पुगेको छ । मुलुकमा थुप्रै सरकारी बैंकहरु छन् । तर, बढी ब्याज पाउने लोभमा सर्वसाधारणहरुले निजी बैंकमा लगेर बचत गरे ।
सर्वसाधारणद्वारा आफ्नो खुट्टामा आफैँले बन्चरो हान्ने काम भयो । सरकारी बैंकमा राखेको रकम कुनै पनि हालतमा डुब्दैन । बैंक नै डुबे पनि त्यसको भर्पाइ सरकारले नै गर्दछ । हिजोको दिनमा सहकारीको कारणले धेरै मानिसहरु रोडमा आइपुगे । त्यतिखेर पनि सरकारले चुइँक्क बोलेन । अहिले पनि सरकार मौन छ । घरजग्गा र शेयरको मूल्यमा लगातार गिरावट आइरहेको छ । जसका कारण धेरै सर्वसाधारण निराश भइसकेका छन् ।
राजनीतिक दलका नेताहरुले यसअघि पनि पटक–पटक घरजग्गा र शेयरमा लगानी गर्नु भनेको असारे भल हो भन्दै आएका थिए । असारे भल जुनसुकै बेला पनि सुक्न सक्छ भनेर शेयरलाई ताकेर उदाहरणसमेत दिइएको थियो । शेयरको मूल्यमा कतिखेर मन्दी आउने हो, यसको अड्कलबाजी गर्न नसकिने भनेर उनीहरुले विभिन्न मितिमा भनेका थिए ।
तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले घरजग्गा र शेयरमा लगानी गर्नु जुवातास खेल्नुसरह भएको भनी धेरैचोटि भनेका पनि थिए । नेपाल राष्ट्र बैंकको गर्भनर हुँदा खतिवडाले जथाभावी कर्जा दिनमा कडाइ गरेका थिए । यो क्षेत्रमा गरेको लगानीको भर हुँदैन, जति बेला पनि डुब्न सक्छ भनेर उनले सबैलाई सुझाएका थिए । तर, अन्त्यमा अर्थमन्त्री खतिवडालाई दोषी ठहर्याइयो ।
अर्थमन्त्री खतिवडाका कारण जग्गा र शेयर कारोबारीहरु रिसाए । बैंक फाइनान्स र जनता दुवैलाई हौसिएर शेयर नकिन्न बारम्बार भन्दा पनि कसैले टेरपुच्छर मानेनन् । जसको नतिजा बिस्तारै देखिँदै छ ।
बैंक फाइनान्सले शेयर र घरजग्गा लिलाम गर्न खोजे तापनि किन्ने मान्छे छैनन् । किनकि प्रायजसोले शेयर र घरजग्गाको मूल्यमा अझ गिरावट आउँछ भनेर बुझिसकेका छन् । घरजग्गा र शेयरको बिक्रीवितरण ठप्प हुँदा राज्यलाई राजस्व आएन । त्योभन्दा बढी जनताको लगानी नै जोखिममा पर्यो । दलालीहरुको लहैलहैमा लाग्दा जनताले नपाउनु दुःख पाए । सरकारी बैंकले ११ प्रतिशत ब्याज दिने भनेका छन् ।
त्यसै गरी, निजीले १४ र सहकारीले १८ प्रतिशत ब्याज दिने प्रलोभन देखाइरहेका छन् । तैपनि कोही पैसा राख्न तयार छैनन् । बरु, भएको पैसा पनि निकाल्न दौडधुप गरिरहेका छन् । बचतकर्तालाई १८ प्रतिशत ब्याज दिने सहकारीले कर्जा लिनेसँग कति ब्याज लिन्छ ? भन्ने बेलामा १९ प्रतिशतमा कर्जा लिएर जानुस् भन्छन् तर सबै हिसाब गर्दा ४२ प्रतिशत पर्न जान्छ । तीन प्रतिशत सेवाशुल्क, पेनाल्टी, घूस गर्दा कर्जावाल सीधै मारमा पर्छन् । सहकारी विभागले कर्जा लगानी गर्दा १६ दशमलव ३ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने नियम बनाएको छ ।
त्यसै गरी, सेवाशुल्क पनि एक प्रतिशत मात्र तोकिएको छ । महँगो ब्याज र बढी सेवाशुल्कका प्रलोभनमा वित्तीय संस्थाहरु फस्दा डिपोजिटकर्ताको रकम डुब्न बेर नलाग्ने स्थितिमा आइपुगेको छ । वित्तीय संस्थाहरुलाई ‘निल्नु न ओकाल्नु’ भइसकेको छ । हिजो ३–४ प्रतिशत ब्याजमा सर्वसाधारणको पैसा राख्ने काम भयो । तर, कर्जा लगानी गर्नेसँग महँगो ब्याज लिए । आएको नाफाजति सञ्चालक र कर्मचारी मिलेर झ्वाम्म पार्ने । बैंक फाइनान्सको यस्तो प्रवृत्तिका कारण उनीहरु जनताबाट नाङ्गिए ।
बैंक फाइनान्स जनताको नजरमा ठग देखिएका छन् । अझ कर्जा खानेहरुलाई बैंक फाइनान्सले रुवाउनु रुवाएका छन् । कर्जा तिर्नलाई समय नथपिदिने । धम्क्याउने, तर्साउने र पत्रपत्रिकामा निकालिदिने । कालोसूचीमा नाम राखिदिने । बैंक फाइनान्सको दबाब सहन नसकेर कतिपयले आत्महत्यासमेत गरेका घटना हाम्रै समाजमा छ । करोडपति रोडपतिसम्म बने । डिपोजिटवाललाई महिना नमरेसम्म ब्याज दिँदैनन् तर कर्जावाललाई कर्जा तिरेको दिनको समेत ब्याज लिन्छन् ।
अहिले व्यापारीहरुले पनि वित्तीय संस्थामा पैसा राख्न छोडिसके । आफूसँग भएको रकम घरमै राख्ने प्रवृत्ति बढ्दो छ । दैनिक लाखौं रकम उठाउने सहकारीका बजार प्रतिनिधिहरुलाई अहिले हजार उठाउन पनि हम्मेहम्मे परिरहेको छ ।
तलब दिन नसकेर वित्तीय संस्थाहरुले धमाधम कर्मचारी कटौती गर्दै छन् । सर्वसाधारणलाई ‘मुर्गा’ बनाउन खोजे पनि आमसञ्चारको सहयोगबाट पाएको चेतनाका कारण ठग्न सक्ने स्थिति छैन । पहिले शेयर र जग्गा व्यापारीले जे भन्थे, सर्वसाधारणले सजिलै पत्याउँथे ।
तर, अहिले आँखा चिम्लेर कसैको बोलीको आधारमा आफ्नो जिन्दगीभरको कमाइ कसैले लगानी गर्दैन । सर्वसाधारणमा यति चेतना आउनु भनेको दलालीहरुको ठग्ने कामको अन्त्य हुनु हो । ८० प्रतिशतले कर्जा लिएर घरजग्गा र शेयरमा लगानी गरेका छन् ।
उनीहरुको भएको जेथो सबै बैंक फाइनान्सकै नाममा छ । बजारमा यसको मूल्य घट्नेबित्तिकै यसको सीधा असर बैंक फाइनान्सलाई पर्छ । अब डुब्ने पालो बैंक फाइनान्सको आएको छ । यी संस्थाहरु डुब्नेबित्तिकै जनताको लगानी जोखिममा पर्छ ।
प्रतिक्रिया