मिर्गौला विशेषज्ञ डा.श्रेष्ठले शिक्षकलाई पढाउँदै



काठमाडौं । शहीद धर्मभक्त राष्ट्रि«य प्रत्यारोपण केन्द्र भक्तपुरका वरिष्ठ मिर्गौला विशेषज्ञ डा कल्पनाकुमारी श्रेष्ठले शिक्षकलाई पढाउँदै आएका छन् । शिक्षकले विद्यार्थी र विद्यार्थीमार्फत घरघरमा जनचेतना पुगोस् भन्ने हेतुले चन्द्रकोट गाउँपालिकाका शिक्षकलाई अङ्ग दानसम्बन्धी जानकारी गराएका छन् ।

गाउँपालिकाको बृहत् निःशुल्क स्वास्थ्य शिविरको लागि शान्तिपुरमा आएकी डा श्रेष्ठले गाउँपालिकाका–१२ विद्यालयका १७ शिक्षकलाई मिर्गौला रोगसँगै अङ्ग दानसम्बन्धी जानकारी दिए । उनले मिर्गौलाको निःशुल्क डायलाइसिस र निःशुल्क प्रत्यारोपण हुन्छ भन्ने गाउँगाउँमा जानकारी नभएकाले शिक्षकमार्फत प्रत्येक घरमा जानकारी गराउन आग्रह गरे ।

आर्थिक अभावमा मिर्गौलाको उपचार नरोकिने र प्रत्यारोपण गर्न परेमा मिर्गौला दिने र लिने दुई व्यक्ति भएमा पुग्ने उनले बताए । डा श्रेष्ठले शरीरका आठ अङ्ग दान गरेर आठ जनलाई संसार देखाउन सकिने बताए । रोगले च्यापेर मृत्यु अवस्थामा पुगेपछि अनिवार्य अस्पतालमा पु¥याउनुपर्ने जनचेतना पनि गाउँगाउँमा आवश्यक रहेको उनको भनाइ छ ।

मिर्गौला विशेषज्ञ डा श्रेष्ठले मिर्गौला असफल भएका बिरामी गाउँगाउँमा धेरै रहेको र यसको लक्षण पहिले नै नदेखिने भएकाले समयसमयमा जाँच गर्न पनि शिक्षकले विद्यार्थी र विद्यार्थीले घरमा भनेर सबैलाई सचेत गराउन आवश्यक रहेको बताए ।

बाह्र विद्यालयबाट सहभागी शिक्षकले मिर्गौला रोग र अङ्ग दानसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । वरिष्ठ विशेषज्ञ आएको समयमा अप्रत्यक्षरुपमा गाउँगाउँका सचेतनाका लागि सबै शिक्षकलाई त्यससम्बन्धी शिक्षा दिइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख नयनसिंह ठकुरीले जानकारी दिए । शिक्षकले विद्यालयमा विद्यार्थीलाई आफूले सिकेको कुरा सिकाउने छन् ।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले जनताको स्वास्थ्यप्रति गम्भीर हुँदै गाउँगाउँमा सचेतना होस् भनेर शिक्षकलाई चिकित्सकमार्फत जानकारी गराएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्