ट्रक व्यवसायी भन्सार केन्द्रित आन्दोलनमा, माग सुनवाइ नभए अझै चर्काउने चेतावनी



बुटवल। 

भारतीय ओभर लोड गाडीका कारण आफ्नो पेशा संकटमा परेको भन्दै नेपाली ट्रक व्यवसायीहरूले आन्दोलन चर्काउने चेतावनी दिएका छन् । पटक पटकको अनुरोध सरकारले नसुन्ने भए पछि अब भन्सार नाका नै ठप्प पार्ने व्यवसायीहरूले चेतावनी दिएका छन् ।

नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशले शुक्रवार भैरहवामा विरोध सभा गरी आन्दोलनको चेतावनी दिएको छ । पश्चिमाञ्चल यातायात व्यवसायी समिति, लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, बाणगंगा यातायात व्यवसायी समिति, राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी संघ, लुम्बिनी साना तथा मझौला व्यवसायी समिति र ढुवानी व्यवसायी समितिले संयुक्त रुपमा भैरहवा भन्सार कार्यालय अगाडी विरोध सभा गरेका छन् ।

भारतीय ओभर लोडका कारण नेपाल तर्फ सडक, पुल लगायतका भौतिक संरचनाको क्षति मात्र नभई आफ्नो पेशा नै संकटमा पर्न थाले पछि उनीहरूले आन्दोलनको विकल्प नरहेको बताएका छन् । नेपाल सरकारले भारतीय ओभर लोड गाडीहरू व्यवस्थापन गर्नुपर्ने र यसो नगरे एक मुठी पनि भारतीय ओभर लोड रहेका समान नेपाल छिर्न नदिने चेतावनी दिएका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले अहिले नेपाल सरकारले मालवाहक सवारीका लागी भाडा दर तोके पनि ओभरलोडकै कारण नेपाली ट्रक व्यवसायीले न्यूनतम भाडा दर पनि नपाउने समस्या रहेको जिकिर गर्नु भयो । भारतीय ट्रक तुलनात्मक रुपमा सस्तो रहेको, ओभर लोड बोकेको कारण नेपाली ट्रकहरु भारतीयको प्रतिष्प्रर्धा गर्न नसकेको उनको भनाई छ । विभिन्न तहमा रहेको सरकारी अधिकारीहरूको सेटिङमा ओभर लोड गाडीहरू निर्वाध रुपमा नेपाल भित्रिरहेको पोखरेलको आरोप छ ।

बेलिहिया नाका हुँदै प्रवेश गर्ने भारतीय गाडीको ओभरलोडलाई छुट दिँदा ट्रक व्यवसायीहरु मर्कामा परेको बताउँदै व्यवसायीले सीमा नाकामै समय समयमा भारतीय ट्रक रोक्ने गरेका छन् ।

देश भित्रै ढुवानी गर्ने नेपाली नम्बर प्लेटका ट्रकलाई ओभर लोडमा कडाई गरेको प्रहरीले भारतबाट आउने भारतीय गाडीमा ओभर लोड छुट दिने गरेको छ । कानुन सबैलाई समान हुनुपर्ने भन्दै ओभर लोड नियन्त्रण गर्न व्यवसायीहरुले माग राख्दै आए पनि अहिले सम्म यसको सुनुवाइ हुन सकेको छैन ।

ट्रक व्यवसायीहरूले नेपालको २ प्रमुख नाका वीरगन्ज र भैरहवा नाकालाई लक्षित गरी ओभर लोड नियन्त्रण गर्ने राणनिति अगाडी बढाउने बताएका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष यम प्रसाद पाण्डेले भारतबाट आउने ठूला प्रकृतिका सामानलाई केही नगरे पनि पल्टी गरेर नेपाली ट्रकले बोक्न मिल्ने सामाग्रीको हकमा ओभर लोड नियन्त्रण गरिनु पर्ने बताउनु भयो ।

मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धी निर्देशिका २०७४ तथा ओभर लोड सम्बन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । निर्देशिकाको बुँदा नम्बर १० मा पनि “तोकिएको भारवाहन क्षमता भन्दा बढी भार बोकी आएका मालवाहक सवारी साधनले प्रचलित कानुन अनुसारको जरिवाना गर्नुको साथै बढी भएको समान झारी सवारी धनीले नै त्यस्तो समानको भण्डारणको व्यवस्था मिलाउनु पर्ने” भनी उल्लेख गरेको छ ।

यातायात सम्बन्धी प्रचलित कानुन अनुसार ६ चक्के ट्रकले ९ दशमलव ६ टन, १० चक्के ट्रकले १६ दशमलव २ टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले २५ टन भन्दा र १८ चक्केले ३० टन भन्दा बढी भार बोक्न पाउँदैनन् ।  नेपालमा ३० टन भन्दा बढी भार बोक्नै पाइँदैन । नेपालका सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालवाहक यस्ता सवारी साधनले आफ्नो क्षमता भन्दा दोब्बर बढी भार बोक्ने गरेका छन् । ९६ टन सम्म भारवाहन गरेका मालवाहक गाडीहरू नेपाल भित्रिरहँदा ट्राफिक प्रहरीले १ हजार ५ सय जरिवाना लिएर नेपाल भरि प्रवेशको स्वीकृति दिएको हुन्छ ।

अब यसको नियन्त्रणमा कडाइका साथ लाग्ने पाण्डे बताउनु हुन्छ । भन्सारले ओभर लोड भएका बस्तुहरू भन्सार बिन्दुमै मिलान गर्नु पर्ने र यसो नगरे भन्सारकै अगाडी धर्ना बस्ने पाण्डेले बताउनु भयो । “सरकारले हाम्रो माग बारे सुनुवाइ नगर्ने हो भने या हामी भन्सारबाट कुनै ट्रक छिर्न दिँदैनौँ अथवा हाम्रो ट्रकको साँचो भारतीय ट्रक चालकलाई सुम्पिन बाध्य हुने छौँ ।” पाण्डेले भन्नु भयो “यस विषयमा हामीले छिट्टै आन्दोलनको कार्यक्रम घोषणा गर्दैछौं ।”

 

 

प्रतिक्रिया दिनुहोस्