साना किसान सहकारीका सञ्चालकले दिए राजीनामा

0
Shares

काभ्रे।

पछिल्लो समय सहकारीमा संकट निम्तिँदै गए पनि सहकारीका सञ्चालकहरू ऐन, कानुन, कार्यविधि तथा निर्देशनमा अटेर गरिरहेका छन् । दर्जनौँ सहकारीमा संकट परिरहेका खबर बाहिरिएको भए पनि जनप्रतिनिधि र सरकारी सेवामा रहेका कर्मचारीहरुले नेतृत्व गरिरहेका सहकारीले साधारण सभा सम्पन्न गर्दा पनि कानुनको उल्लंघन गरिरहेका छन् ।

सहकारीलाई नियमन र व्यवस्थापन गर्न सरकारी सेवामा रहेका कर्मचारी र जनप्रतिनिधि सहकारीको कुनै पनि पदमा रहन नपाउने व्यवस्था गरेको छ । ऐन जारी हुनु अघि पदमा रहेको भए पनि तत्काल राजीनामा दिन र साधारण सभामा उप निर्वाचनको माध्यमबाट सञ्चालक समिति चयन गर्न दिएको निर्देशन कसैले पनि कार्यान्वयन गरेका छैनन् ।

सहकारीका अगुवाहरुले नै यो ऐन, निर्देशन उल्लंघन गरे पछि प्रारम्भिक संस्थाहरूमा धमाधम जनप्रतिनिधि सञ्चालक बन्न थालेका छन् । जिल्ला सहकारी संघ र काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक टसमस छैनन् । वडा अध्यक्ष र शिक्षकहरू सञ्चालक र लेखा समितिमा छन् । न उनीहरूले राजीनामा दिएका छन् न साधारण सभा नै गर्न सकेका छन् ।

जो अगुवा उसैले अवज्ञा गरे पछि प्रारम्भिक संस्थाले अवज्ञा गर्न थालेका छन् । ‘सहकारीको छाता संगठनका सञ्चालकहरू नै अराजक र अवज्ञाकारी भए पछि प्रारम्भिक संस्थाहरुलाई निर्देशन दिनुको तुक छैन’–जिल्ला सहकारी संघका संचालक सदस्य दीपक थापाले भन्नुभयो–‘छानबिन समितिले राजीनामा दिन सुझाएका सञ्चालकहरू अवैध हुन् । कानुन विपरीतका संचालकहरुले राजीनामा नदिई साधारण सभा आयोजना गर्ने बैठक नै अवैद्य भएकाले असहमति व्यक्त गरेको छु ।’

पनौती १२ मा रहेको कलाँती भूमे डाँडामा रहेको साना किसान कृषि सहकारीको भर्खरै सम्पन्न साधारण सभाले शिक्षक कृष्णप्रसाद हुमागाईँलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ भने शिक्षक भोटु हुमागाईँ सञ्चालक सदस्य भएका छन् ।

त्यस्तै वडा अध्यक्ष जयराम केसी लेखा समिति संयोजक भएका छन् भने वडा कार्यालयमै कार्यरत कर्मचारी सरिता लामा सदस्य भएकी छिन् । भोटु हुमागाईँ विद्यालयका प्रधानाध्यापक छन् । ५० भन्दा धेरै सदस्यहरुले नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् भने केही सञ्चालक सदस्यहरुले राजीनामा दिएर उप निर्वाचन गर्न माग गरेका छन् । रामेश्वर खत्री, सुनमाया तामाङ, पूर्णकुमारी गुरुङ, मथुरा दाहाल, भवानी केसी, मिरा केसी लगायतले राजीनामा दिएका छन् ।

पनौती नगरपालिकाका रजिस्ट्रारले जारी गरेको निर्देशन पनि उक्त सहकारीले अवज्ञा गरेको छ । वडा अध्यक्ष आफै लेखा समिति संयोजक भएको उजुरी पछि नगरपालिकाले सूचना जारी गरेको हो ।

यता बनेपामा रहेको समृद्धि बचत तथा ऋण सहकारीको साधारण सभाले वडा सदस्य समिता थापा र शिक्षक गणेश दाहाललाई सञ्चालक बनाएको छ । ऐन विपरीत सञ्चालक भएकाहरुलाई राजीनामा दिई उप निर्वाचन गर्न सदस्यहरुले सुझाएका छन् । अन्य सहकारीमा पनि त्यस्तै अवस्था भएकाले तत्काल अनुगमन र कारबाही गर्न अभियानकर्ताहरुले अनुरोध गरेका छन् ।