नेपाल–भारतबीच गणस्तरीय संयुक्त सूर्य किरण अभ्यास सुरु

0
Shares

काठमाडौँ।

नेपाली र भारतीय सेनाबीच गणस्तरीय संयुक्त अभ्यास सूर्यकिरण–१६औँ शृङ्खला आजदेखि रुपन्देहीको सालझण्डीमा सुरु भएको छ । विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद जस्ता विषय समावेश गरी सञ्चालन हुने १४ दिने उक्त संयुक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी यामप्रसाद ढकालले शुभारम्भ गरेका हुन्।

प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा तीन सय ३४ र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा तीन सय ३४ सैनिक तालिममा सहभागी छन् ।

यसअघि संयुक्त अभ्यास सूर्य किरणको पन्ध्रौँ संस्करण भारतको पिथौरागढमा भएको थियो । अभ्यास विसं २०६७ बाट नेपाल र भारतमा वार्षिकरुपमा आलोपालो गरी सञ्चालन हुँदैआएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

तालिमका क्रममा फौजले प्रतिविद्रोह तथा प्रतिआतङ्कवादलगायत जङ्गलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास गरिन्छ । उक्त तालिमबाट दुवै मुलुकका सेनाबीचको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदान प्रदान हुनेछ ।