दुई छोरा वैदेशिक रोजगारबाट फर्किएपछि आठ जनाको सामूहिक अन्त्येष्टि

0
Shares

काभ्रे।

बेथान्चोक गाउँपालिका वडा नम्वर ४ चलालगणेस्थानमा भएको दुर्घटनामा ज्यान गुमाउनेहरू मध्ये एकै परिवारका ८ सदस्यको अन्त्येष्टि चार दिन पछि शुक्रबार स्वयम्भूमा हुने भएको छ । पीडितका आफन्त वैदेशिक रोजगारका क्रममा मलेसिया र जापानबाट बिहीबार राति नेपाल फर्किएसँगै शुक्रबार शव बुझेर लगेका हुन् ।
‘१७ जना मृत्यु भएका मध्ये कुमार तामाङको परिवारका ८ सदस्य छन्’–प्रहरी प्रमुख एसपी चक्रराज जोशीले भन्नुभयो–‘कुमारको साइँलो छोरा जयराम मलेसिया र कान्छो छोरा अम्मर जापानबाट बिहीबार राति फर्किए पछि शव बुझाइएको छ ।’

काभ्रे पुण्यवती यातायात प्रालीले बस रिजर्भमा गएको भए पनि समितिमा आबद्ध भएकाले मृतकहरूको किरियाका लागि नगद ५० हजारका दरले उपलब्ध गराएको छ भने क्षतिपूर्ति स्वरूप ५ लाख दिने भएको छ । घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने बताएको छ । १७ मृत्यु भएको घटनामा २२ जना घाइते भएका थिए । घाइते मध्ये ५ जनाको डिस्चार्ज भइसकेको छ भने ६ जनाको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको बनेपाको शिर मेमोरियल र धुलिखेल अस्पतालमा उपचार भइरहेका छ ।

मंगलबार मसिंर २७ गते बनेपा ११ सल्लेबाट बेथान्चोक ५ च्याल्टी भान्जाको छेवरका लागि रिजर्भ गएको वा ३ ख ४३८५ नम्बरको बस साँझ फर्कने क्रममा दुर्घटनामा परेको थियो । तीव्र गतिका कारण ब्रेक नलाग्दा दुर्घटना भएको प्रत्यक्षदर्शी डिकमान लामाले बताउनु भयो ।

भान्जाको छेवरमा गएका एकै परिवारका १२ मध्ये ८ जनाको निधन भएको थियो । निधन हुनेहरु पनि सबै आफन्त हुन् । ८ जनाका आफन्त बाहिर भएकाले शवको अन्त्येष्टि हुने भएको हो । अन्य ९ जनाको बुधबार नै मृतकलाई क्षतिपूर्ति, किरिया खर्च र घाइतेको उपचार गरिदिने मौखिक सहमति पछि अन्त्येष्टि भएको हो ।