अर्थतन्त्रमा आश



विभिन्न क्षेत्रमा निराशा छाइरहेका बेला अर्थतन्त्रको पछिल्लो सूचकले सानो भएपनि प्रसन्नता दिलाएको छ । नेपाल राष्ट्र बैंंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९-८० को पहिलो चार महीना अर्थात साउन–कात्तिकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले गत वर्ष अर्थतन्त्रमा देखा परेको बाह्य क्षेत्रको संकटमा सुधार हुनथालेको देखाएको छ ।

प्रतिवेदनका अनुसार, कात्तिकसम्म बैंंकिङ क्षेत्रसँग भएको विदेशी विनिमयको सञ्चिति बढेको देखिन्छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।कात्तिक मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति ९ अर्ब ६३ करोड अमेरिकी डलर पुगेको छ । असोजमा ९ अर्ब ४८ करोड अमेरिकी डलर थियो । गत वर्ष विदेशी मुद्राको सञ्चिति तीव्र रुपमा घटेपछि सरकारले बाह्य क्षेत्रको सन्तुलनमा संकट आउने अनुमान गरेर कयौं वस्तुको आयातलाई रोकेको थियो ।

कात्तिकसम्मको विदेशी विनिमयको सञ्चितिले ८.४ महीनाको वस्तु र सेवा आयात गर्न धान्छ । राष्ट्र बैंकले मौज्दात विदेशी विनिमयको सञ्चिति कम्तीमा सात महीनाको वस्तु र सेवा आयात गर्नपुग्ने गरी लक्ष्य तोकेको छ । विदेशी मुद्राको सञ्चितिमा सुधार आउन थालेसँगै सरकारले रोक लगाएका वस्तुको आयात गर्ने बाटो खुला गरिसकेको छ ।

त्यसैगरी, शोधनान्तर स्थिति कात्तिकमा १४ करोड ९६ लाख डलर वचतमा छ । गत वर्षको यही अवधिमा यस्तो शोधनान्तर स्थिति १ अर्ब २७ करोड अमेरिकी डलर घाटामा थियो । यस वर्ष आयातमा कटौतिसँगै शोधनान्तर स्थिति सकारात्मक भएको हो । त्यस्तै, वैदेशिक कारोबारलाई जनाउने चालू खाता २८ करोड अमेरिकी डलर घाटामा छ । गत वर्षको यही अवधिमा एक अर्ब ८६ करोड डलर घाटामा थियो । वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिटेन्सको वृद्धिले अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको खाडल पुर्न भरथेग गरेको देखिन्छ । कात्तिकसम्म रेमिटेन्सको आप्रवाह १०.८ प्रतिशत बढेको छ ।

राष्ट्र बैंकका अनुसार, कात्तिकसम्म दुई अर्ब ९३ करोड अमेरिकी डलर रेमिटेन्स भित्रिएको छ । गत वर्ष यही अवधिमा रेमिटेन्सको आप्रवाह ७.३ प्रतिशत घटेको थियो । कात्तिकसम्म एक लाख ९५ हजार नेपाली वैदेशिक रोजगारीमा गएको अनुमान छ । त्यसैगरी, वैदेशिक रोजगारीमा गएर फर्किएका ८७ हजार चार सयभन्दा बढी व्यक्तिले फेरि वैदेशिक रोजगारीमा जान पुनः अनुमति लिएका छन् । यसबाट सरकारलाई रेमिट्यान्स बढ्ने नै छ ।

यस वर्षको पहिलो चार महीनामा वैदेशिक व्यापारमा असन्तुलन कायम रहेको देखिन्छ । कात्तिकसम्म नेपालले ५४ अर्ब ७७ करोड मूल्य बराबरको वस्तु निर्यात गरेको छ भने आयात पाँच खर्ब ३२ अर्ब ६९ करोड पुगेको छ । गत वर्षभन्दा आयात १८ प्रतिशत र निर्यात ३३ प्रतिशतले घटेको राष्ट्र बैंंकले जनाएको छ ।

बाह्य क्षेत्रमा सुधार भए पनि देशभित्रको अर्थतन्त्रको चाप यथावत रहेको देखिन्छ । कात्तिकसम्म उपभोक्ता मूल्यवृद्धि ८.०८ प्रतिशत पुगेको छ । यो गत वर्षको यही अवधिमा ६.०४ प्रतिशत मात्रै थियो । मूल्यवृद्धि उच्च हुँदा निम्न आय समूहका सर्वसाधारण बढी मर्कामा पर्छन् । त्यसैले केही सूचकहरु सकारात्मक भए भनेर फुर्किने अवस्था भने देखिन्न ।

प्रतिक्रिया दिनुहोस्