संसदीय दलको नेतामा संस्थापन इतर समूहबाट डा. कोइराला अघि बढ्ने

0
Shares

काठमाडौं । 

 नेपाली कांग्रेस संसदीय दलकाे नेतामा संस्थापन ईतर समुहबाट डा शेखर काेईराला नै अघि बढ्ने हुनुभएकाे छ ।

गत १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध सभापति लडेको र आगामी महाधिवेशनसम्म समूहलाई सशक्त राख्न डा. कोइराला नै उपयुक्त पात्र भएको भन्दै कोइराला पक्षका नेताहरूले अघि बढ्न सुझाव दिएपछि कोइराला संसदीय दलको नेतामा भिड्न तयार हुनुभएको हो ।

कांग्रेसको एउटा टिमबाट संसदीय दलको नेतामा नवनिर्वाचित सांसद डा. शेखर कोइरालाले नै लड्ने पक्का भएको कोइराला निकट मानिएका प्रतिनिधिसभा सदस्य डिकबहादुर लिम्बूले बताउनुभयो । लिम्बूले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अहिले जनतामा परिवर्तनको हुटहुटी जागेको छ, त्यो परिवर्तनको प्रतिनिधित्व डा. कोइरालाले गर्नुहुन्छ । चुनावको पुरै परिणाम नआउँदासम्म उहाँले नबोल्नु ठिकै हो । तर, अब घोषणा गर्नुहुन्छ । उहाँले महामन्त्रीलगायत सबै नेताहरूलाई समेटेर लानुहुन्छ ।’

संस्थापन पक्षबाट सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नै संसदीय दलको नेता हुने आन्तरिक सहमति भए पनि कोइराला समूहबाट कसले उम्मेदवारी दिने भन्नेबारे अहिलेसम्म आधिकारिक सहमति भएको थिएन । निर्वाचन आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को प्रतिवेदन बुझाइसकेपछि दलहरूलाई आधिकारिक रूपमा सरकार गठनको प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।

दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने प्रावधानअनुसार कांग्रेसले चाँडै संसदीय दलको निर्वाचनको तयारी थालेको सांसदहरूले बताएका छन् ।निर्वाचन पूर्व प्रधानमन्त्री बन्ने घोषणा गरेका सोही समूहका महामन्त्री गगन थापा दलको नेताका लागि अघि बढ्नभएको छ । तर, आफ्नो समूहमा सल्लाह नै नगरी प्रधानमन्त्री घोषणा गरेको भन्दै उहाँलाई पुराना पुस्ताका नेताहरूले स्वीकार गरिसकेको अवस्था छैन ।

यद्यपि, कोइराला समूहबाट दलको नेतामा शेखर नै अघि बढ्ने भए पनि थापा पछि हट्ने अवस्था नरहेको थापाको सचिवालयले जनाएको छ । प्रत्यक्ष ५७ र समानुपातिक ३२ गरी ८९ जना प्रतिनिधिसभा सदस्य रहेको कांग्रेसमा दलको नेता बन्न ४५ जनाको आवश्यकता पर्छ ।

अहिलेकै अवस्थामा संस्थापन समूहको सहज बहुमत देखिएको छ । अल्पमतामा रहेको कोइराला समूहमा सिनियर र जुनियरका नाममा ध्रुवीकरण भयो भने पुनः सभापति देउवा नै दलको नेता बन्न सहज हुने देखिन्छ । नेताहरूको अभिव्यक्तिले संस्थापन इतर समूहमा ध्रुवीकरणको संकेत देखाउँछ ।पार्टी सभापति शेरबहादुर देउवासँग लड्दाखेरि परिपक्व व्यक्तिका रूपमा कोइरालालाई नै अघि सार्न सो समूहका नेताहरूको दबाब रहेको एक केन्द्रिय सदस्यले बताए ।

उनले भने, ‘कोइरालाले धेरै छलफल र सबै नेताहरूको सल्लाहपछि आफू नै दलको नेतामा उम्मेदवार दिने निर्णयमा पुग्नुभएको हो । शेखर कोइरालले कुनै पनि बेला दलको नेतामा उम्मेदवारी घोषणा गर्नुहुन्छ । उहाँ अन्तिम गृहकार्यमा जुट्नुभएको छ ।

आज-भोलि नै उहाँले यो घोषणा गर्नुहुन्छ ।’ कोइरालाले दलको नेतामा देउवासँग प्रतिष्पर्धा गरे महामन्त्री गगन थापाले सघाउने अनुमान गरिएको नेताहरूले बताएका छन् । तर, थापाले आफूले चुनावअघि नै दलको नेतामा उठ्ने बताइसकेकाले समर्थन पाउने भन्दै कोइरालासमक्ष सन्देश पु-याउनका लागि हालसम्म उम्मेदवारीबाट पछि नहट्ने कुरालाई दोहो-याउँदै आएको कोइराला निकट नेताहरूको बुझाइ छ ।

अन्तमा थापाले कोइरालालाई सहयोग गर्ने र देउवालाई काउन्टर दिन संस्थापन इतर समूह एक हुनेमा उनीहरू विश्वस्त छन् । कांग्रेसका ८९ सांसदमध्ये ५६ जना संस्थापन र ३३ जना संस्थापन इतर समूहका सांसद् छन् । कोइराला नै संस्थापन इतर समूहका एकल उम्मेदवार बनेर समूहका सबै नेताहरूले सहयोग गरेको खण्डमा केही मत बढ्ने सो समूहको आँकलन छ ।

तर, महामन्त्री थापालाई संसदीय दलको नेता बनाउने भनेर अर्का महामन्त्री विशप्रकाश शर्मा समेतले सहयोग गर्ने सार्वजनिक अपिलका साथ तयारी तीव्र बनाएकाले थापा सहज रूपमा पछि नहट्ने उहाँ निकटका नेताहरूले बताएका छन् । संस्थापन समूहमा भने सभापति देउवालाई नै सर्वसम्मत रूपमा संसदीय दलको उम्मेदवार बनाएर अघि बढ्ने तयारी भएको नेताहरूले बताएका छन् । दलको नेता चयन भइसकेपछि सरकार निर्माणको प्रक्रिया अघि बढ्ने नेपाली कांग्रेसले जनाएको छ ।