विमानस्थल सम्भाव्यता अध्ययनको लागि सल्यानका ४ स्थान छनौट 

0
Shares

 सल्यान।
सल्यानमा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जिल्लामा विमानस्थल निर्माणका लागि ४ ठाउँको स्थान पहिचान गरेर प्राधिकरणले अध्ययन सुरु गरेको हो ।

बिहीबार जिल्ला प्रशासन कार्यालय सल्यानमा बसेको बैठकमा जिल्लाको शारदा नगरपालिकाको २ स्थान, छत्रेश्वरी गाउँपालिकाको लेख पोखरा र बागचौर नगरपालिकाको कोटमौला नजिकैको स्थानलाई छनोट गरेर अध्ययन सुरु गरेको छ । प्राधिकरणको प्राविधिक टोलीले बिहीबार शारदा नगरपालिका ५ ढार हुँदै कोटमौला स्थानको अध्ययन गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका विमानस्थल निर्माण विज्ञ गुरुदत्त अधिकारीले सबै किसिमको अध्ययन गरिसकेपछि कुन स्थान विमानस्थल बनाउनका लागि उपयुक्त छ भन्नेबारे सार्वजनिक गरिने र त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउने बताए । अध्ययनका लागि केही दिन सल्यानमै बस्ने उहाँले जानकारी दिनुभयो । ‘अध्ययनपश्चात् वातावरण, भौगोलिक बनावट, ट्राफिक, पहिरो जाने/नजाने क्षेत्र, पानीको मुहान भए/नभएको, हावा चल्ने/नचल्ने र कुहिरो लाग्ने/नलाग्ने क्षेत्र पहिचान गर्ने र त्यसपछि मात्र केही भन्न सकिने बताउनु भयो ।

जिल्लाको भौगोलिक बनावटका आधारमा ८ सय मिटर रन–वेसम्मको १८ देखि २० सिट क्षमता भएको प्लेन आउजाउ गर्न सक्ने विमानस्थल बनाउन सकिने अर्का विज्ञ युवराज रिजालले बताउनु भयो । ८ सय मिटर रन–वे विमानस्थल बनाउनका लागि शारदा नगरपालिका ५ ढारको स्थान कम हुने देखिएको उहाँले जानकारी गराउनु भयो ।

सल्यानमा एउटा विमानस्थल अत्यावश्यक भएकाले विमानस्थल अध्ययनका लागि नागरिक उड्डयन प्राधिकरणबाट प्राविधिकको टोली बोलाइएको संघीय सांसद प्रकाश ज्वालाले बताउनु भयो । आकस्मिक रुपमा कसैलाई बाहिर जानुपर्‍यो तथा कुनै घटनामा परेका बिरामीलाई तत्काल उद्धार गर्नुपर्‍यो भने अहिले पनि गाडीभन्दा अन्य विकल्प नभएकाले विमानस्थलको अवधारणा अघि सारिएको उहाँले जानकारी दिनु भयो । ‘योभन्दा पहिला जिल्लाको कालीमाटी गाउँपालिका १ कोट र छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरामा अध्ययन गरे पनि अध्ययनमै सीमित भएको थियो ।

पछिल्लो समयमा मानिसहरू छिटो सजिलो र सहज रुपमा यात्रा गर्न चाहने भएकाले विमानस्थल आवश्यक देखिएको प्रदेश सांसद सुरेश अधिकारीले बताउनु भयो  । विमानस्थल निर्माणका लागि सबैभन्दा पहिलो प्राथमिकता सदरमुकाम आसपासका क्षेत्रलाई दिइएको र विकल्प नभएपछि अन्य पालिकाका बारेमा प्रक्रिया अगाडि बढाउने उल्लेख गर्नुभयो ।

विमानस्थल निर्माणका लागि सबैलाई पायक पर्ने स्थान छनोट गर्न र पछि गएर सञ्चालनमै नआई बन्द हुने अवस्था सिर्जना हुन नदिन त्यहीअनुसार अध्ययन गर्न प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले प्राधिकरणको प्राविधिक टोलीलाई सल्लाह दिनुभएको छ । विमानस्थल निर्माण भए सबैलाई सहज हुने उहाँको भनाइ छ ।

जिल्लावासीले भने विमानस्थल निर्माणको विषय अध्ययनमै सीमित हुन नदिन सम्बन्धित निकाय र जिल्लाबाट निर्वाचित सांसदहरूसँग आग्रह गरेका छन् । उनीहरूले सदरमुकाम आसपासमै विमानस्थल उपयुक्त हुने दाबी गरेका छन् ।