पद्मा–श्याम गोतामे पुरस्कार पाँडेलाई

0
Shares

काठमाडौं।

हास्यव्यंग्य निबन्धकार श्याम गोतामे र उहाँकी धर्मपत्नी पद्मा गौतमको नामबाट स्थापना गरिएको ‘पद्मा–श्याम गोतामे पुरस्कार’ वरिष्ठ हास्यव्यंग्यकार रामकुमार पाँडेलाई प्रदान गरिएको छ । २१ हजार रुपियाँ राशि रहेको उक्त पुरस्कार पहिलोपटक हास्यव्यंग्य लेखक पाँडेलाई प्रदान गरिएको हो । नेपाल स्रष्टा समाजले बुधबार विशेष कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार प्रदान गरेको हो ।

नगद २१ हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर प्रमुख अतिथि पद्मा गौतमले हास्यव्यंग्यकार रामकुमार पाँडेलाई सम्मान गर्नुभएको हो । कार्यक्रममा अभियान साहित्य कलाकार समाजका संरक्षक, हास्यव्यंग्य लेखक तथा कलाकार डम्बर घिमिरे, साहित्यकार पशुपति दंगाल,लगायतका स्रष्टाहरुको उपस्थिति रहेको थियो । आफू सम्मानित भएपछि पाँडेले श्याम गोतामे खरो स्वभावको, निडर तिखो व्यंग्य गर्ने र आफ्नै बुबालाई समेत भ्रष्टचारको मुद्दा हाल्ने एक अनौठो व्यक्तित्व भएको स्मरण गर्नुभयो । त्यस्तै नाट्यकर्मी अशेष मल्लले पद्मा–श्याम गोतामे पुरस्कार पाउने रामकुमार पाँडे सही व्यक्तित्व भन्दै प्रशंसा गर्नुभयो ।

गोतामेकी पुत्री रेनु गौतमले बुबाको नाममा पुरस्कार स्थापना गरेपछि बुबाको आत्माले पनि शान्ति पायो होला भन्दै बुबाले हास्यव्यंग्यमा दिएको योगदान बिर्सने नहुने बताउनुभयो ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा सम्पन्न भएको उक्त समारोहमा गोतामे पत्नी पद्मा गौतम प्रमुख अतिथि रहनुभएको थियो । हास्यव्यंग्यकार रामकुमार पाँडे, नाट्यकर्मी अशेष मल्ल, साहित्यकारहरु विधान आचार्य, श्रीओम श्रेष्ठ, राधेश्याम लेकाली, धीरेन्द्र प्रेमर्षी, देविका तिमल्सिना, निरा गौतमले मूर्धन्य हास्यव्यंग्य निबन्धकार श्याम गोतामेको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रमका सभापति श्रीओम ‘रोदन’ले यस्तो मूर्धन्य स्रष्टाको नाममा स्थापना भएको पुस्कार कार्यक्रम गर्न पाउँदा नेपाल स्रष्टा समाज पुलकित भएको र हरेक वर्ष हास्यव्यंग्य कलाकारलाई पद्मा–श्याम गोतामे पुरस्कार प्रदान गरिने जानकारी गराउनुभयो ।