लेखापाल नहुँदा रकम भुक्तानी गर्नसमेत बाधा

0
Shares

मुगु ।

मुगुको सदरमुकाममा लेखापाल नहुँदा विभिन्न योजनाका रकम भुक्तानी गर्नसमेत बाधा परेको छ । सदरमुकाम गमगढीस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट २ देखि ५ दिनको लागि लेखापाल पठाएर स्थायी कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता निकास गर्ने गरिएको छ ।

लेखापाल नभएकै कारण लामो समयदेखि कर्मचारीले तलब भत्ताबाट वञ्चित छन् । लेखापाल नभएकै कारण प्रशासनिक सेवाप्रवाहमा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ले बताए । उनका अनुसार धेरै गाउँपालिकाका अधिकांश विकास योजनाका मुद्दा अख्तियारमा उजुरी पर्ने गरेकाले यहाँ लेखापाल आउँन नमानेका हुन् ।

सोरु गाउँपालिकाबाट गत वर्ष मात्रै १७ वटा मुद्दा अख्तियारमा परेका थिए । ‘अख्तियारमा मुद्दा परेपछि सबैभन्दा धेरै तनाब लेखापाललाई नै हुन्छ,’ उनले भने, ‘अन्य आर्थिक कामकाजमा जनप्रतिनिधिले अनावश्यक दवाव दिने गरेका कारण पनि यहाँ लेखापाल आउँन मान्दैनन् ।’

लेखापाल नहुँदा चालु आर्थिक वर्षका योजनाहरू अन्योलमा परेको गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए । ‘लेखापाल खोज्दै कोष नियन्त्रण कार्यालय तथा संघ र प्रदेशका मन्त्रालय गुहार्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘पहिलेका लेखापाल सरुवा भएपछि अरु आउन मान्दैनन् ।’