महाभारतको महाभारत : ‘अरब’मा बजेट, ‘करोड’मा ठेक्का, ‘लाख’मा भुक्तानी

अवधी सकियो, सडक उस्तै

14
Shares

महाभारत, काभ्रे । जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । ६ वर्षअघि सडकको ट्रयाकसमेत नभएको पालिकामा सडक जोडिएसँगै स्तरोन्नतीका लागि विनियोजन भएको अरबौँको रकम करोडमा ठेक्का लाग्ने र लाखमा भुक्तानी हुने गरेको छ ।

‘संघ, प्रदेश र स्थानीय सरकारको तर्फबाट सडक तथा अन्य पूर्वाधारका लागि अरबौँको रकम विनियोजन हुन्छ, निर्माण व्यवसायीहरुले करोडमा ठेक्का पार्छन अनि समयमै काम सम्पन्न नगर्दा लाखमा भुक्तानी हुन्छ’–गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो– ‘निर्माण ब्यवसायीहरुका कारण जनप्रतिनिधिको बदनाम त भएको छ नै बजेटको सदुपयोग नभएका कारण स्थानीयहरु विकासबाट बञ्चित भएका छन् ।’

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि महाभारत गाउँपालिका केन्द्र पुग्ने सडकदेखि वडा र टोल टोलसम्म पुग्ने गरी ३ सय ५ किलोमिटर ट्रयाक खोलिएको अध्यक्ष जिम्बाले बताउनुभयो । ‘२०७४ अघि महाभारत पुग्न सिन्धुली जिल्लाको सडक प्रयोग गर्नु पर्दथ्यो’– अध्यक्ष जिम्बाले भन्नुभयो– ‘५ वर्षभित्र महाभारत गाउँपालिकाको केन्द्र पुग्ने मुख्य दुई सडकको ट्रयाक खोलिएको छ भने गाउँपालिका केन्द्रबाट वडा केन्द्र र टोल टोल पुग्ने गरी ३ सय ५ किलोमिटर ट्रयाक खोलिएको छ । अबको योजना भएका सडकलाई स्तरोन्नती गर्ने हो ।’

अवधी सकियो, सडक उस्तै

निर्माण व्यवसायीको लापर्बाहिका कारण महाभारत गाउँपालिका हुँदै विभिन्न स्थान पुग्ने सडकको निर्माण कार्य अलपत्र परेको छ । २०७९ असार मसान्तमा अवधि सकिएको सडक अलपत्र कारण स्थानीय थप जोखिममा परेका छन् । गाउँपालिकाले पटक पटक समयमै निर्माण कार्य सम्पन्न गर्न ताकेता गरे पनि पहुँचका आधारमा निर्माण कार्य अघि बढ्न सकेको छैन ।

२०७७ असोज २० गते बागमती प्रदेशका मन्त्री रामेश्वर फुँयालले तीनखुट्टेमा शुभारम्भ गर्नु भएको मंगलटार–चारकिल्ला–तिनखुट्टे–बनखु सडक लामो समय अवरुद्ध थियो । महाभारत गाउँपालिकाको तिनखुट्टे देवीटार सडक खण्डको ८.७ किलोमिटर सडक कालोपत्रे गर्ने गरी ४९ करोड रकम विनियोजन भएको थियो ।

४९ करोड मध्ये २५ करोड ८२ लाख १० हजार ३ सय १६ रुपियाँ खर्च गर्ने गरी २०७९ असार ३० गतेभित्र सम्पन्न गर्ने गरी २०७७ असार ३० गते सम्झौता गरिएको थियो ।

बागमती प्रदेश सरकारले रोशी गाउँपालिकाको पिथली रजवास हुँदै महाभारत गाउँपालिकाको बुढाखानी चारकिल्ला तीनखुट्टे देवीटार घर्तीछाप गोकुले सडक निर्माणका लागि बहुवर्षीय योजनामा समावेश गर्ने गरी ५० करोड रकम विनियोजन गरेको थियो । निर्माण कम्पनीले ३७ प्रतिशत कम रकममा ठेक्का सम्झौता गरेको थियो ।

कन्टिजेन्सी समेत ४० करोड रकम महाभारत गाउँपालिकाको तीनखुट्टे देवीटार सडक खण्डका लागि खर्च हुने छ । इलाम घर भएका डम्बर खड्का उक्त सडक निर्माणका आधिकारीक व्यक्ति हुन् । खड्काले पहुँचका आधारमा सडक निर्माणमा आलटाल गरेको स्थानीयले बताए ।

स्थानीय निरबहादुर बोम्जनले पहुँचका आधारमा निर्माण ब्यवसायीले सडक निर्माण नगर्दा स्थानीयहरु संकटमा परेको बताउनुभयो । ‘सर्वसाधारण विरामी भएको अवस्थामा सडक नभएकै कारण दुई दिन बोकेर सडक पुहँचमा पु¥याउनु पर्छ’– स्थानीय धनबहादुर बोम्जनले भन्नुभयो– ‘मुख्यमन्त्री, मन्त्री, दलका नेता, सांसद धेरै आए, सडक समयमै निर्माण हुन्छ भन्ने आश्वासन दिए ।

अवधी सकिँदासम्म सडक निर्माण कार्य १० प्रतिशत पनि भएको छैन ।’ सडक फराकिलो बनाउँदै कालोपत्रेसम्म गर्ने जिम्मेवारी प्राप्त गरेको श्रेष्ठ सक्षम जेभी कम्पनीको आलटालका कारण नागरिकहरुले सास्ति खेप्नु परेको छ । ‘उक्त सडक निर्माण सम्पन्न हुँदा हिउँद र वर्षातको मौसममा सडकबाट ओहोरदोहोर गर्न कठिन हुँदैन’– अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो– ‘महाभारत क्षेत्रमा सडक कालोपत्रे हुने कुराले नागरिकहरुमा आशाको सञ्चार जगाएको थियो । निर्माण व्यवसायीका कारण जनप्रतिनिधि बदनाम भएका छौं ।’

धुपबत्तिपछि स्टेरिङ्ग

वर्षेनी करोडौ रकम विनियोजन हुने सडक जोखिममा छन् । ६ महिना मात्रै चल्ने सडकमा यात्रा गर्न विवश महाभारतबासी घरबाट निस्किएर गन्तब्यमा नपुगेञ्जल शर्दुम देवी मन्दिर सम्झन्छन् । चालकहरु उकालो र ओरालो यात्रा सकेपछि सर्दुम मन्दिरमा धुपबत्ति गर्छन् ।

धुपबत्तिपछि मात्रै चालक स्टेरिङ्गमा पुग्ने गरेका छन् । आर्थिक वर्ष २०७८÷२०७९ मा सडक स्तरोन्नतीका लागि एक करोड रकम विनियोजन भएको थियो । ५८ लाखमा ठेक्का सम्झौता भयो । १६ लाख रुपियाँको काम सम्पन्न भएको विल भर्पाई बुझाएका निर्माण ब्यवसायी आत्माराम लामाले ९ लाखरुपियाँ भुक्तानी पाए । मर्मत गर्ने क्रममा लगाईएको वालमा कमसल निर्माण सामाग्री प्रयोग गरेको भन्दै स्थानीयले उजुरी गरेका थिए ।

सोहि उजुरीका आधारमा प्राविधिक मूल्याकन गरी भुक्तानी गरिएको प्रमुख प्रशासकिय अधिकृत हरिसिंह विष्टले बताउनुभयो । चालु वर्षका लागि संघ र स्थानीय सरकारको समपुरक बजेटमा १० करोड विनियोजन भएको छ । महादेवटार सर्दुम बुढाखानी सडकको विभिन्न खण्डमा २ किलोमिटर ढलान र मोड सुधार हुनेछ ।

सडकमा अरबौ बजेट

चौकीडाँडा–सिपाली–बुढाखानी–महादेवटार सडक महाभारत गाउँपालिकाको मुख्य सडक हुनुपर्नेमा सिपाली खोलाका कारण सम्भव भएन । खोला बाहेकको स्थानबाट ट्रयाक खोल्न असम्भव भएपछि पालिकाले मुख्य सडकका रुपमा पिन्थली–रजवास–भूमिचुली–बुढाखानी–देवीटार सडकलाई प्राथमिकतामा राख्यो ।

उक्त सडकका लागि विभिन्न खण्डमा अरबौँ रकम विनियोजन भएको छ । तीन वर्षभित्र निर्माण कार्य सम्पन्न हुने गरी ९८ करोड ७४ लाख १७ हजार रकम विनियोजन भएको अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । १४ किमी कालोपत्रे, ३ किमी ढलानसहित १७ किलोमिटर सडकका लागि संघ र प्रदेश सरकारको लगानी छ ।

भूमिचुली किल्ला सडकका लागि थप १२ करोड रकम विनियोजन भएको छ । एक किलोमिटर ढलानसहित सडक स्तरोन्नती कार्य भईरहेको छ । पिन्थली रजबास सडकका लागि ५ करोड रकम विनियोजन भएको छ ।

तीनखुट्टे देविटार सडकका लागि ४९ करोड रकम विनियोजन भएको छ । बजेट विनियोजन हुने, ठेक्का लाग्ने तर समयमै निर्माण ब्यवसायीले काम नगर्दा स्थानीयमा निराशा छाउन थालेको अध्यक्ष जिम्बाले बताउनुभयो ।

‘अरबौँमा बजेट आएको सुनिन्छ, नेताहरु आएर भाषण गर्नुहुन्छ । तर, काम हुँदैन’– स्थानीय राजन बोम्जनले भन्नुभयो– ‘विनियोजित बजेटअनुसार कार्य सम्पन्न भए महाभारत स्वर्ग हुने थियो ।’ विकट क्षेत्रका आधारमा राज्यले गरेको प्राथमिकता निर्माण ब्यवसायीको अवरोध र असहयोगका कारण सदुपयोग हुन नसकेको सरोकारवालाहरुको बुझाइ छ । महाभारतमा पुर्वाधारका काम चार महिना मात्रै सम्भव छ ।

अलपत्र पुल

तीनखुट्टे देवीटार सडक खण्डमा नाली निर्माण, रिटेनिङ्ग वाल, ग्याबिङ्ग वाल, कजवे, कल्भर्ट लगायतका संरचनासँगै ३० एमएमको कालोपत्रे गरिनेछ । सडक पार गर्न पार्वती, खानी र बनखु खोलामा दुईवटा पक्कि पुल निर्माण शुरु भए पनि अलपत्र छन् ।

पुल निर्माणको कार्य अलपत्र हुँदा सर्वसाधारण झन् जोखिममा छन् । गाउँपालिकाले ७ वटा पुल निर्माणका लागि रकम सुनिश्चित गरेको छ । मसाने भन्ज्याङ्ग फोक्सिङ्गटार, चौखाला दोभान, किल्ला, सिन्धुली जोड्ने खोला लगायतका स्थानमा पुल निर्माणका लागि डिपिआर र बजेट सुनिश्चित भए पनि निर्माण ब्यवसायीको ढिलाईका कारण नागरिकहरु सकटमा छन् ।