देउखुरीमा लुम्बिनी प्रदेशको राजधानी उद्घाटन

0
Shares

दाङ ।

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी)मा औपचारिक रूपमा प्रदेश सरकारको कार्य शुभारम्भ गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कार्यालयमा झण्डोत्तलन गरी प्रदेश राजधानीको उद्घाटन गर्नुभएको हो ।

झण्डोत्तोलनपछि मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश राजधानीको विधिवत् उद्घाटन गरिएको घोषणा गर्नुभएको थियो । प्रदेशसभाले २०७७ असोज २० गते प्रदेशको नाम लुम्बिनी र प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)लाई तोके पनि अहिलेसम्म अस्थायी मुकाम बुटवलबाट काम हुँदैआएको थियो । निर्णयको झण्डै २ वर्ष २ महिना ८ दिनपछि स्थायी राजधानी सञ्चालनमा आएको हो ।

मुख्यमन्त्री केसीले राजधानी कार्यान्वयनसँगै लुम्बिनीले संघीयताको लडाइँ जितेको बताउनुभयो ।प्रदेशको नाम र राजधानी तोक्न नसक्ने, तोकेका ठाउँमा व्यवस्थापन गर्न नसक्ने जस्ता समस्या संघीयता कार्यान्वयनकै समस्या भएको औंल्याउँदै उहाँले आफूहरूले केही जटिलता र केही जोखिम मोलेरै भए पनि यो लडाइँ जितेको बताउनुभयो ।

प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनीले नयाँ ठाउँमा राजधानी तोकेर व्यवस्थित सहर बनाउने अवसर पाएको बताउनुभयो । ‘संघीय राजधानी काठमाडौंसहित प्रायःजसो प्रदेशका राजधानीमा व्यवस्थित बसोबास छैन’– उहाँले भन्नुभयो– ‘नेपालकै सुन्दर उपत्यका देउखुरीमा स्थापित प्रदेश राजधानीलाई जस्तो चाह्यो त्यस्तै बनाउने अवसर, प्रदेश सरकार र राजधानीबासी मिलेर सुन्दर र व्यवस्थिति सहर बनाउनुहोला ।’

राम्रो योजना पाए पूर्वाधार विकासमा दातृ निकायबाट पनि सहयोग पाउने सम्भावना रहेको औल्याउँदै उहाँले राजधानीवासीले अनियन्त्रित जग्गा प्लटिङ र चर्को मूल्यमा कारोवारलगायतका समस्या प्रदेशवासीले नै अन्त्य गर्नुपर्ने बताउनुभयो ।प्रदेशसभाका समामुख पूर्णबहादुर घर्तीले प्रदेश आरम्भ भएको पाँच वर्षमै प्रदेशसभा आफ्नै भवनमा सर्ने अवस्था अन्य प्रदेशका लागि पनि अनुकरणीय हुने बताउनुभयो । अब गुरुयोजना अनुसार काम गरेर प्रदेश राजधानीलाई नेपालमै नमुना बनाउनुपर्ने उहाँले बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव दीपक काफ्लेले संविधानअनुसार प्रदेशसभाले गरेको निर्णय कार्यान्वायनमा कर्मचारी प्रशासनबाट पूर्ण सहयोग हुने बताउनुभयो ।केही दिनअघि बुटवलमा रहेका कर्मचारीले राजधानी नसार्न माग गर्दै आन्दोलनको चेतावनी दिएका थिए । तर, प्रमुख सचिव काफ्लेले भने प्रदेश प्रशासनबाट सेवा प्रवाहमा कुनै कमी आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रदेश सरकारले बुटवलमा अस्पताल, बाँकेको खजुरामा प्रदेश विश्वविद्यालय, पूर्वाधार र राजधानी व्यवस्थापनलाई चार गौरवको योजनाको रूपमा लिएको उल्लेख गर्दै सबै योजना पूरा हुने क्रममा रहेको र राजधानी व्यवस्थापनको काम पनि सोहीअनुसार सम्पन्न गरिएएको बताउनुभयो ।

राजधानी उद्घाटनका क्रममा राजधानी क्षेत्रका नागरिकले गाजाबाजासहित मौलिक सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । कार्यक्रममा पनि हजारौं नागरिक भेला भएका थिए ।उद्घाटन समारोह भव्य बनाउन राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा राजधानीभित्र पर्ने दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिका सरकारी, गैरसरकार, निजी क्षेत्र र नागरिक समाज तयारीमा जुटेका थिए ।