त्रिविका ६२ आंगिक क्याम्पसमा विद्युतीय हाजिरी लागु

0
Shares

काठमाडौं । 

महिनामा एकपटक आएर महिनाभरिको हाजिर गर्ने प्रवृतिको अन्त्य गर्न त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसमा विद्युतीय हाजिरी अनिवार्य गरेलगत्तै कार्यविधि बनाउन शुरू गरेको छ । त्रिवि प्राध्यापक संघले कार्यविधि बनाउनुपर्ने माग राखेपछि कार्यविधि बनाउन लागिएको हो ।

दशैलगत्तै अनिवार्य गरेको विद्युतीय हाजिर प्रभावकारी भएपछि त्यसलाई व्यवस्थित र थप कडाई गर्न कार्यविधि बनाउन लागेको त्रिविले जनाएको छ । त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले नेपाल समाचारपत्रसँग कुरा गर्दै सबै निर्देशनालय, विभाग, महाशाखा, प्राध्यापक, सहप्रध्यापक, उपप्राध्यापकलगायत सबै कर्मचारीलाई अनिवार्य हाजिरको व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘विद्युतीय हाजिर शुरू भइसकेको छ । अब केही महिनाभित्र कार्यविधि बनाएर सोहीअनुसार व्यवस्थित गर्नेछौं ।’ उहाँले त्रिविलाई प्रविधिमैत्री बनाउन सबै कर्मचारी र शिक्षकले अनिवार्य रूपमा विद्युतीय हाजिर गर्नुपर्ने व्यवस्था गरेको बताउनुभयो ।

यसअघि सो व्यवस्था कार्यान्वयन गर्न खोज्दा प्राध्यापक संघले विरोध जनाउँदै हाजिर नगर्न प्राध्यापकलाई आग्रह गरेको थियो । भदौ ३१ गते अनिवार्य गरिएको सो पत्रको आधारमा अनिवार्य विद्युतीय हाजिरी प्रणाली लागु गर्न नहुनुको कारण माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको थियो ।

सो उजुरीको आधारमा आयोगले तत्काल विद्युतीय हाजिरी कार्यान्वयनमा ल्याउन त्रिविलाई निर्देशन दिएको थियो । निर्देशनलगत्तै त्रिविले ६२ वटै आंगिक क्याम्पसमा अख्तियारको पत्र र त्रिवि रजिस्ट्रारको कार्यालयको निर्देशनको पत्र पुनः क्याम्पसहरूमा पठाएको थियो । त्यसपछि मात्र सबै क्याम्पसका कर्मचारी, प्राध्यापक, सहप्राध्यापक र उप प्राध्यापकहरूले विद्युतीय प्रणालीमा हाजिर गरेका थिए ।

त्रिविका उपकुलपति प्राडा बास्कोटाले त्रिविमा देखिएको विकृति, विसंगति र वेतिथिको अन्त्य गर्न विद्युतीय हाजिरीलाई अनिवार्य गरिएको जानकारी दिनुभयो । त्रिविले पदाधिकारीलाई भने विद्युतीय हाजिरी गर्ने व्यवस्था गरेको छैन । त्रिविका उपकुलपति, रजिस्टार, रेक्टर, क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखले विद्युतीय हाजिर गर्ने गरेका छैनन् । त्रिविका प्राध्यापकहरूले भने सधैं सबै कक्षा नहुने हँुदा हरेक दिन हाजिर गर्न आउने व्यवस्था जायज नभएको तर्क राखेका छन् ।

पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक मिनेष घिमिरेले स्नातक तहमा सबै दिन कक्षा भए पनि सेमेस्टर लागु भएका विषयमा दैनिक कक्षा नहुने अवस्थामा सबै दिन अनिवार्य हाजिरीको औचित्य नभएको टिप्पणी गर्दै भन्नुभयो– ‘एक दिन कक्षा लिनुपर्छ, अर्को दिन तयार गरेर पढाउन आउनुपर्ने भएकोले विद्युतीय हाजिरी झन्झट हुन्छ ।’ सबै क्याम्पसले आएको र गएको समयसहित हाजिर गर्नुपर्ने व्यवस्था गरेको छ । पाटन संयुक्त क्याम्पसले कातिक २० गतेबाट विद्युतीय हाजिर अनिवार्य गरेको हो ।

अनिवार्य व्यवस्था गरेपछि महिनामा एक वा दुईपटक मात्र क्याम्पस आएर हाजिर गर्ने परम्परा अन्त्य भएको छ । यसअघि हाजिर नभएका शिक्षकलाई हरेक महिनाको २० गते बोलाएर तपाईंले हाजिर गर्नुप¥यो भन्ने गरेका थिए ।विद्युतीय हाजिर भएपछि त्रिविका कर्मचारीले आक्रोश जनाउन थालेका छन् । यसअघि ढड्डामा हाजिर गर्दा ३ दिन गयल भए क्याम्पस प्रमुखले रातो लगाउने र त्यसको त्रिविले अनुगमन गर्ने व्यवस्था थियो । त्रिविका क्याम्पसले ढड्डा र विद्युतीय हाजिरी गराएपछि कर्मचारी आक्रोशित छन् । त्रिविमा करिब ६ हजार ५ सयको संख्यामा शिक्षक छन् । विद्युतीय हाजिरी आंशिक शिक्षकलाई भने बाध्य छैन ।

‘पदाधिकारीलाई पनि अनिवार्य गराउनुपर्छ’ 

त्रिवि प्राध्यापक संघका अध्यक्ष प्रा. वसन्त ढकालले त्रिविका पदाधिकारीले पनि अनिवार्य रूपमा विद्युतीय हाजिरी गर्नुपर्नेमा जोड दिनुभएको छ । कर्मचारी, प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक र कर्मचारीलाई मात्र हाजिरी गराएकोमा विरोध जनाउँदै उहाँले सबैलाई विद्युतीय हाजिर गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो– ‘उहाँहरूले विशेष कामका कारण कहिले मन्त्रालय त कहिले बोलावट भएको कार्यालयमा गइरहनुपर्ने भएकोले विद्युतीय हाजिर आवश्यक नभएको तर्क राख्ने गर्नुभएको छ । त्यो संघलाई मान्य हुँदैन, सबैलाई अनिवार्य गराउनुपर्छ ।’ मन्त्रालयका सचिवले विद्युतीय हाजिर गर्छन् भने त्रिविका पदाधिकारीले किन गर्न नहुने भन्ने उहाँको प्रश्न थियो ।

उहाँले विद्युतीय हाजिरसँगै ढड्डामा हाजिर गर्नुपर्ने व्यवस्था हटाउनुपर्ने माग गर्दै भन्नुभयो– ‘किन दोहोरो हाजिरीको व्यवस्था गर्नुपर्‍याे ? विद्युतीय हाजिर गराएपछि ढड्डा हाजिर जरुरी छैन ।’ विद्युतीय हाजिरी गरेपछि कार्यकक्षको पनि व्यवस्थापन गर्नुपर्ने माग गर्दै उहाँले भन्नुभयो– ‘सधैं उभिँदा कतिको सान्दर्भिकता हुन्छ ? हामी प्राध्यापकलाई कार्यकक्षको व्यवस्था गर्नुपर्दैन ?’
प्रा. ढकालले विद्युतीय हाजिरी शुरू गरेसँगै कार्यविधि ल्याउन आग्रह गर्दै पदाधिकारी चलखेल गर्न र आफन्तलाई विद्युतीय हाजिरी नगर्न ढड्डामा समेत हाजिरी गर्न लगाउने चलखेल भएको आरोप लगाउनुभयो । उहाँले हाजिरी व्यवस्थित गर्न सबैलाई समान व्यवहार आवश्यक रहेको तर्क राख्दै सबै क्याम्पस प्रमुखले यस विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।