सुदूरपश्चिममा गठबन्धन सरकार, को बन्ला मुख्यमन्त्री ?

गठबन्धनभित्र हानथाप

0
Shares

धनगढी  । 
सुदूरपश्चिम प्रदेश सभामा मंसिर ४ मा सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेस ठूलो दल बनेको छ। २०७४ को निर्वाचनमा तेस्रो दल बनेको कांग्रेस प्रत्यक्षतर्फको १२ र समानुपातिकतर्फको ७ सहित १९ सिट पाएर पहिलो बनेको हो। सुदूरपश्चिममा चार वर्ष प्रतिपक्षी भूमिकामा रहेको कांग्रेस गत चैत २५ मा नेकपा माओवादी केन्द्रको नेतृत्वको सरकारमा मिसिएको थियो।

निर्वाचनको अन्तिम मतपरिणाम आएपनि नयाँ सरकार गठनको प्रक्रिया अघि नबढेकाले हाल माओवादीकै त्रिलोचन भट्ट नेतृत्वको सरकारले काम गरिरहेको छ। माओवादी नेतृत्वको सरकारमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका पनि मन्त्रीहरु छन्। दलहरुले हालै सम्पन्न चुनावको नजिापछि समानुपातिक तर्फका प्रदेशसभा सदस्यहरुको नाम पनि टुंगो लगाइसकेका छन्। यो सँगै सुदूरपश्चिम प्रदेशमा सरकार गठन र मुख्यमन्त्री बन्न सांसदहरुबीच भइरहेको हानथापले चर्चा पाएको छ। सुदूरपश्चिममा सरकार बनाउन सत्तारुढ गठबन्धनले बहुमत पाएको छ। जसअनुरुप यहाँ समानुपातिकसहित नेपाली कांग्रेसले १९, माओवादी केन्द्रले ११ र नेकपा एकीकृत समाजवादीले ४ सिट जितेका छन्।

सुदूरपश्चिम प्रदेश सभामा २७ जना सांसद हुँदा सहज बहुमत पुग्छ। अहिले यी सत्ता गठबन्धनका प्रमुख तीन दल मिल्दा प्रदेश सांसदको संख्या ३४ हुन्छ। प्रदेशसभामा सत्ता गठबन्धनभन्दा बाहिर रहेको एमालेले भने १० सिट मात्रै पाएको छ। यस्तै यो निर्वाचनबाट उदाएको रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिको ७, एक स्वतन्त्र र राप्रपाले १ सिट पाएको छ।

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबाट मुख्यमन्त्री र मन्त्रीमा आकांक्षी प्रदेशसभा सदस्यहरु सपथ ग्रहण नगर्दै संघीय राजधानी काठमाडौं पुग्नुभएको छ। उहाँहरुले भेटघाट तथा छलफललाई तीव्रता दिनुभएको छ। अहिलेको सत्ता गठबन्धन कायमै रहेर अगामी सरकार गठन हुने संकेत देखिएका बेला सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धनका नेताहरु सत्ता केन्द्रीत राजनीतिमा व्यस्त हुनुहुन्छ। गठबन्धनमा हुने भागबण्डाका आधारमा प्रदेशको नेतृत्व कुन दलले पाउछ ? र अन्य दलको सरकारमा कस्तो सहभागिता रहन्छ ? भन्ने कुरा प्रष्ट नभइसकेको अवस्थामा आ–आफ्नो ढंगले नेतृत्व पाउनुपर्ने लबिङमा हुनुहुन्छ। गठबन्धनको सरकार लगभग पक्कापक्की जस्तै बन्दा मुख्यमन्त्री को हुने ? भन्ने कुरा आम चासोको विषय समेत बनिरहेको छ। अहिले यहाँ गठबन्धनकै दलहरुभित्र मुख्यमन्त्रीको लागि मारामार परिरहेको छ।

खासगरी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने रटान लगाइरहेको छ। सुदूरपश्चिम प्रदेशका महामन्त्री समेत रहनुभएका अछामबाट प्रदेशसभा सदस्यमा निर्वाचित मुख्यमन्त्रीका दाबेदार मेघराज खड्का आफूहरुको सरकार बन्ने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘माओवादीले यसअघि प्रदेश सरकार चलाइसकेको छ। अब गठबन्धन कायम रहदा पनि कांग्रेसले नै नेतृत्व गर्नुपर्छ। हाम्रो सरकार बन्छ, मुख्यमन्त्रीमा मेरो स्वभाविक दाबी छ। पहिलो आधा कार्यकाल भए पनि हामीले नै सरकार गठन गर्नुपर्छ भन्ने सबैको साझा बुझाइ छ।’

उसो त नेपाली काँग्रेसबाट दर्जन बढी सांसदहरु मुख्यमन्त्रीको लागि दौडधुप गरिरहनु भएको छ। कैलालीबाट निर्वाचित प्रकाशबहादुर देउवा र कमल शाह, कञ्चनपुरबाट निर्वाचित बहादुर थापा र देवानसिंह विष्ट र अछामबाट निर्वाचित मेघराज खड्का लगायतले अहिले मुख्यमन्त्रीको लागि लबिङ गरिरहनु भएको हो।

उहाँहरुमध्ये प्रकाश देउवाको सम्भावना बलियो रहेको काँग्रेस वृतमा चर्चा छ। तर, अन्यलाई पनि कम आक्न नमिल्ने देखिएको छ। माओवादी केन्द्रले नेकपा हुँदै पाँच दलीय गठबन्धन बनाएर कांग्रेस सरकार जादा समेत पाँच वर्ष सुदूरपश्चिम सरकारको नेतृत्व गरिसकेकाले अब कांग्रेसलाई छाड्नुपर्ने तर्क काँग्रेस नेताहरुको तर्क छ।

माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा बलियो दाबेदारी प्रकट गरेको छ। माओवादीका नेताहरु पनि नेतृत्व पाउने अडानबाट टसमस नहुने मुडमा देखिनुहुन्छ।निर्वाचनअघि नै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुरा पुगेर सुदूरपश्चिमको मुख्यमन्त्री माओवादीबाट बन्ने बताउनुभएको थियो। उहाँले माओवादीबाट खगराज भट्ट मुख्यमन्त्री बन्ने घोषणा नै गर्नुभएको थियो। माओवादीबाट खगराज भट्ट मुख्यमन्त्रीको चर्चित उम्मेदवार हुनुहुन्छ।

‘हिजो फरक प्रसंगमा फरक–फरक गठबन्धन थियो। सोहीअनुसार कांग्रेस पनि हाम्रो पार्टीको नेतृत्वको सरकारमा सामेल भएको हो,’ भट्ट भन्नुहुन्छ, ‘सुदूरपश्चिममा गठबन्धनमा हाम्रो मझदारी भएको अवस्था हो। त्यो अनुसार यो चुनावमा अघि बढेका थियो। त्यसैले शीर्ष तहले माओवादीलाई सुदूरपश्चिमको नेतृत्व दिने कुरा गरेको छ। नेताहरु आफ्नो अडानमा कायम छन् र हुन्छन् भन्ने लाग्छ।’

यता एकीकृत समाजवादीले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ। अहिले सुदूरपश्चिममा आफ्नो नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको समाजवादीका सांसद दीर्घ सोडारी बताउँनुहुन्छ। सोडारी अहिले प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री पनि हुनुहुन्छ। गठबन्धनको भागबन्डा गर्दा आफूले मुख्यमन्त्री पाउने उनको विश्वास छ।

‘हाम्रो पार्टीले गठबन्धनमा हुने भागबण्डाका क्रममा सुदूरपश्चिमको नेतृत्व पाउनुपर्छ भनेर प्राथमिकतामा राखेको छ,’ सोडारी भन्छन्, ‘यस अर्थमा सुदूरपश्चिमको नेतृत्वका लागि हाम्रो शसक्त दाबी छ।’