आमाबाबुसहित आठ आफन्त गुमाएकी श्रेया

0
Shares

 काभ्रे
यहाँ चित्रमा देखिएकी श्रेया तामाङ बनेपास्थित अर्किड स्कुलको नर्सरी कक्षामा अध्ययनरत छिन् । ६ वर्र्षीया श्रेयाले मंगलबार काभे्रेको बेथानचोक गाउँपालिका ४ चलालगणेस्थानमा भएको बस दुर्घटनामा बाबु बुद्ध र आमा कोपिलासहित आठ आफन्त गुमाएकी छन् ।

बसमा सँगै यात्रा गरेकी श्रेयाको शरीरभरि सिसाका साना घाउ भए पनि उनी स्वस्थ छिन् । उनलाई शारीरिक गम्भीर चोटपटक छैन ।

शिर मेमोरियल अस्पतालको बालशाखामा उनको उपचार भइरहेको छ । उनलाई स्थानीय डिकमान लामाले सकुशल बसबाट उद्धार गर्नुभएको थियो ।‘बसबाट निकाल्नेबित्तिकै श्रेयाले बाबुआमाका बारेमा सोधिन्, जबाफ मसँग थिएन, मैले उनलाई कति गम्भीर चोट छ भनेर शरीरभरि हेरेँ, सिसाका टुक्रा बिझेको देखेँ, झिकेर फालेँ र अरू घाइतेको रगतको छिटा उनको शरीरमा लागेको रहेछ, पुछपाछ बनाएँ’ स्थानीय डिकमान लामाले नेपाल समाचारपत्रलाई भन्नुभयो ।

बनेपा ११ का ८ जना र १४ का २ जना गरी १० जनाको निधन हुँदा यतिखेर सिंगो गाउँ शोकमा डुबेको छ । दुर्घटनामा तेमालका २, बेथानचोकका २, मण्डनदेउपुरका १, ललितपुरका १, मकवानपुर जिल्लाका १ जनाको निधन भएको छ ।‘बुबा आमा दुवै गुमेको खवरले हामी पनि विक्षिप्त छौं, कोठामा सँगै बसेको नाताले छोरी श्रेयाको रेखदेखका लागि अस्पताल बसिरहेको छु’– सीता तामाङले भन्नुभयो–‘बच्चाले बुबा आमा कहिले आउनुहुन्छ भनेर सोधिरहेकी छन् ।’

विद्यालयकी शिक्षिका सुशिला श्रेष्ठका अनुसार विद्यालयमा ज्ञानी र जिज्ञासु स्वभावकी छात्रामध्ये श्रेया एक हुन् । उनको पढाइ तीक्ष्ण छ । आमा २६ वर्र्षीया कोपिला थांका लेख्नुहुन्थ्यो भने बाबु बुद्ध फर्निचरको काम गर्नुहुन्थ्यो । कोपिला र बुद्धकी एक मात्र सन्तान श्रेया अभिभावकविहीन बन्न पुगेकी छन् ।

यस्तै, अस्पतालमा उपचाररत २३ वर्र्षीय शेरबहादुर तामाङले बुबा र आमा गुमाउनुभएको छ । उहाँको ढाडमा गम्भीर चोट लागेको छ । उहाँका आमा–बुबा हेमा तामाङ र आकुर तामाङ दुवैले उक्त घटनामा ज्यान गुमाउनुभएको हो ।तेमाल घर भएकी २९ वर्षीया टीकालक्ष्मी तामाङ र उनका छोरा ९ वर्षीय गुरु लक्ष्मणदास तामाङको पनि निधन भएको छ । आफन्तको छेवरमा गएकाले मृत्यु हुनेहरू अधिकांश आफन्त छन् । केही छिमेकी पनि परेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लामा कोशीपारीको बस दुर्घटनापछि धेरै जनको क्षति हुनेगरी भएको यो भूकम्प र कोभिडपछिको अर्काे ठूलो विपद हो ।शवको पहिचान भएलगत्तै धुलिखेल अस्पतालमा शवको पोस्टमार्टम गरियो । आफन्तहरूलाई शब बुझाएर पठाउने गरी प्रशासनले तयारी गरेको थियो । एकै गाउँका धेरै व्यक्तिको निधन भएकाले धार्मिक संस्कारअनुसार अन्त्येष्टिका लागि प्रशासन, राजनीतिक दल र जनप्रतिनिधिहरूले समन्वय गरेका थिए ।

१७ जनाको मृत्यु र २२ जना घाइते हुने गरी भएको दुर्घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारको संयोजकत्वमा प्रहरी र ट्राफिक प्रहरी सम्मिलित छानबिन समिति गठन भएको छ । छानबिन समिति गठनसँगै पीडितहरूले शव बुझेका छन् ।

यसैबीच प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको बैठकले दुर्घटनाको सत्यतथ्य जाँचबुझ गर्न छानबिन समिति गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपाने, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख डीएसपी रेशम बोहोरा र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवाल रहनुभएको छ ।

समितिले १० दिनभित्र बेथानचोक गाउँपालिका वडानम्बर ४ चलाल गणेस्थानमा भएको दुर्घटनाको छानबिन गर्नेछ ।पीडितहरूले बुधबार ९ जनाको शब लिएर गएका छन् भने एकै परिवारका ८ जनाको शव आफन्त जापानबाट आएपछि अन्त्येष्टिका लागि लैजाने भएका छन् ।

दुर्घटनामा मृत्यु भएकाहरू
१) ललितपुर जिल्ला महांकाल गाउँपालिका ६ बस्ने वर्ष २२ को तेजप्रसाद तिमल्सिना (चालक)
२) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष २७ की कोपिला तामाङ
३) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ५५ को कुमार तामाङ
४) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ११ को पुष्कर तामाङ
५) काभ्रे जिल्ला बेथानचोक गा.पा. ४ बस्ने वर्ष १९ को रविन तामाङ
६) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ७९ की निर्मला तामाङ
७) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष २८ की मन्जु तामाङ
८) काभ्रे जिल्ला तेमाल ८ बस्ने वर्ष २९ की टिकालक्ष्मी तामाङ
९) काभ्रे जिल्ला तेमाल ८ बस्ने वर्ष ९ का गुरुलक्ष्मण दास तामाङ
१०) मकवानपुुर जिल्ला इन्द्रसरोवर गा.पा.वडानम्बर १ बस्ने वर्ष ६ की समीक्षा थिङ
११) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ४३ की हेमा तामाङ
१२) काभ्रे जिल्ला मण्डनदेउपुर १ बस्ने वर्ष ४१ की चेलिमाया तामाङ
१३) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ५० को आकुर तामाङ
१४) काभ्रे जिल्ला बनेपा १४ बस्ने वर्ष ४२ को रामकुमार तामाङ
१५) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ३० को बुद्ध तामाङ
१६) काभ्रे जिल्ला बनेपा १४ बस्ने वर्ष २८ की गीता श्रेष्ठ
१७) काभ्रे जिल्ला बेथानचोक ५ बस्ने वर्ष २४ की मञ्जु तामाङ

तीव्र गतिको बसमा ब्रेकफेल भएपछि…….

बस दुर्घटनाको हृदयविदारक अवस्थाले मंगलबारदेखि काभ्रे पूरै शोकमा डुबेको छ । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानमा साँझ ६ बजेर २७ मिनेट जाँदा भएको बस दुर्घटनाका कारण काभ्रे शोकमा डुबेको हो । बनेपा नगरपालिका, बेथानचोक गाउँपालिका, ललितपुरलगायत विभिन्न स्थानका बालबालिका तथा युवासहित १७ जनाले अकालमा ज्यान गुमाउनुपरेको अकल्पनीय दुर्घटनालाई नियालिरहेका स्थानीय बासिन्दा यतिबेला शोकमा डुबेका छन् ।

धार्मिक संस्कार छेवरमा सहभागी भएर फर्कंदै गरेको बस दुर्घटनामा परेको हो । तीव्र गतिमा गुडेको बसमा एक्कासी खट्याक्क आवाज आएसँगै चालकले गाडीको ब्रेक लागेन भन्दै भित्तामा लगेर ठोक्दा यो घटना भएको धुलिखेल अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका घाइते सुनाउँछन् ।

साँझको समय सबै काम सकेर आ–आफ्ना घर फर्कंदै थिए । एक्कासी बस दुर्घटनामा धेरै मानिस हताहत भएको खबर फुसको आगोझैं फैलियो । उद्धारका लागि गृह, प्रशासन तथा स्थानीय निकाय र एम्बुलेन्सहरू घटनास्थलतर्फ दौडिए । अस्पतालमा स्वास्थ्यकर्मीहरू आकस्मिक उद्धारका लागि तयारी अवस्थामा जुटे । सञ्चारकर्मीहरू घटनास्थलतिर दौडिए ।

घटना भएको एक घण्टा पनि नबित्दै धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल अस्पतालमा बिरामी बोकेर एम्बुलेन्सलगायतका सवारीसाधनहरूको भीड लाग्यो । अस्पतालको आकस्मिक कक्षमा धुकधुकी छाम्दै घाइतेलाई ल्याइयो, होसमा भएका र नभएका बिरामी तथा मृतक को हो तत्काल छुट्याउन सक्नेअवस्था भएन ।

दुवै अस्पतालमा दौडादौडको अवस्था शुरू भयो । दुर्घटनामा परेकाका आफन्त, शुभचिन्तक, स्थानीय प्रतिनिधि, पत्रकारहरूको ठूलो संख्यामा उपस्थिति भयो । साथसाथै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसहित जिल्ला प्रहरीका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलगायतको सुरक्षा टोली घाइतेको स्वास्थ्य अवस्था र मृतकको पहिचानसहित व्यवस्थापनका लागि घटना स्थल हुँदै अस्पतालमै पुग्यो ।

अस्पतालको आकस्मिक कक्ष परिसरमा पाइला टेक्ने ठाउँ थिएन । पहिला घाइते ओसारेर र दोस्रो चरणमा घटना स्थलमै मृत्युवरण गरेका व्यक्तिहरूको शव खातैमाथि खात लगाएर बोकेर साइरन बजाउँदै आएका एम्बुलेन्स र गाडीको लाम बन्यो । रातको १० बजुन्जेल यो क्रम जारी नै थियो ।

यतिबेर धेरै घाइते र मृतकको पहिचान खुल्न सकेको थिएन । अस्पताल परिसर मानव रगतमा लत्पतियो । घाइते र शवलाई स्टेचरमा हाल्दै आकस्मिक कक्षभित्र हुरीको गतिमा भित्र्याउने कााम भएको थियो । आफन्तको वियोगमा छटपटाएका व्यक्तिहरूको रुवावासीले धुलिखेल अस्पताल र बनेपा अस्पताल प्रांगण स्तब्ध थियो । आकस्मिक कक्षबाहिर नियाल्दै गरेका प्रमुख जिल्ला अधिकारी पाण्डेका आँखा पनि बगिरहेका देखिए । उपचारमा खटिएका चिकित्सक नर्सहरू पनि बिरामीको अवस्था देखेर डाँको छोडेरै रोए ।

घाइतेको अवस्था हृदयविदारक थियो । कसैको टाउँको फुटेको, कसैको हात नै छिनेको, कसैको खुट्टा भाँचिएको, कसैले कसैलाई चिन्नेसम्मको अवस्था थिएन । रातमा घटना भए पनि स्थानीय प्रसासन, स्थानीय वासिन्दा र अस्पताल तथा चिकित्सक, स्वास्थ्यकर्मीहरूका साथ स्थानीय जनप्रतिनिधिहरूले उद्धारका लागि देखाएको तदारुकता सराहनीय थियो । तत्कालै गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय गृह प्रशासनलाई उद्धार कार्यका लागि आवश्यक पर्ने स्रोत साधन तत्काल उपलब्ध गराउने तत्परता देखाउनुभयो ।

बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन् । बनेपा नगरपालिका–११ का कुमार तामाङको नातिको व्रतबन्धमा बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किंदै गरेको बस दुर्घटनामा परेको हो ।