सकियो प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सबै प्रक्रिया

0
Shares

काठमाडौं । 

गत मंसिर ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को सबै प्रक्रिया सकिएको छ । बुधबार निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर निर्वाचनसँग सम्बन्धित सबै प्रक्रिया सम्पन्न भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले सम्पूर्ण निर्वाचन परिणामसहितको प्रतिवेदन बिहीबार राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेकोे जानकारी दिनुभयो । उहाँले निर्वाचन परिणाम, मतदान तथा उम्मेदवारको अवस्था र धरौटी जफत समेतको तथ्याङ्क आयोगले विश्लेषण गरेर प्रतिवेदन तयार पारिसकेको बताउनुभयो । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ अर्थात ६१ दशमलव ४१ प्रतिशत मतदान भएकोमा ५.०६ प्रतिशत मत बदर भएको छ ।

प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २ सय २६ अर्थात ६१ दशमलव ८५ प्रतिशत मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भई ५ दशमलव शून्य ९ प्रतिशत मत बदर भएको छ ।आयोगका अनुसार प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड १० लाख ३४ हजार ५ सय अर्थात ६१ दशमलव ३६ प्रतिशत मत खसेको थियो । जसमध्ये १ करोड ५ लाख ८५ हजार ३ सय मत सदर भएको छ भने ४ दशमलव शून्य ७ प्रतिशत मत बदर भएको छ । त्यसै गरी प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १० लाख २८ हजार ३ सय ७६ अर्थात ६१ दशमलव ३१ प्रतिशत मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।

समानुपातिकतर्फ ४७ दलले बन्दसूची बुझाएको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो– ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्थाबमोजिम यस निर्वाचनबाट ७ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।’ प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।

सो व्यवस्थाअनुसार प्रदेश नं. १ मा ६, मधेश प्रदेशमा १०, वाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभामा प्रतिनिधित्व भएको छ ।आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका ४ हजार २ सय ८५ जनाको जमानत जफत भएको छ । प्रतिनिधिसभातर्फ १ हजार ९ सय ६१ जना र प्रदेशसभातर्फ २ हजार ३ सय २४ जनाको ३ करोड १२ लाख तीस हजार धरौटी जफत भएको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ सिटमा ६१ दलका २ हजार ४ सय १२ उम्मेदवार थिए । त्यस्तै, प्रदेशसभामा ३ सय ३० सिटका लागि प्रत्यक्षमा ३ हजार २ सय २४ जनाले उम्मेदवारी दिएका थिए ।

आफ्नो क्षेत्रमा खसेको मतमध्ये कुल सदर मतको १० प्रतिशत मत नकटाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था रहेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार प्रतिनिधिसभातर्फ १ हजार ९ सय ६१ जना र प्रदेशसभातर्फ २ हजार ३ सय २४ जनाको धरौटी जफत भएको छ भने समानुपातिकतर्फ ४० वटा दलको धरौटी जफत भएको छ ।प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार रुपियाँ धरौटी जम्मा गर्नुपर्ने व्यवस्थाअनुसार उम्मेदवारले धरौटी राखेका थिए । तर, महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रदेशसभातर्फ प्रदेश नं. १ मा ३०, मधेश प्रदेशमा २६, वाग्मती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको आयोगले जनाएको छ । प्रतिनिधि सभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ र प्रदेश सभातर्फ पुरुष २ हजार ८६, महिला २३७ र अन्य १ गरी जम्मा २ हजार ३२४ जना (७६ दशमलव शून्य ४ प्रतिशत) उम्मेदवारहरूको धरौटी रकम जफत भएको आयोगले जनाएको छ ।