प्रधान सेनापति प्रभुराम शर्माद्वारा सेनाका प्रशिक्षक तथा खेलाडीलाई पुरस्कार वितरण

0
Shares

काठमाडौं । प्रधान सेनापति प्रमुराम शर्माले नेपाली सेनाका प्रशिक्षक तथा खेलाडीहरुलाई पुरस्कार वितरण तथा सम्मान गरेका छन् ।

आज (बुधबार) गण्डकी प्रदेशमा आयोजना गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्न सफल सेना, त्रिभुवन आर्मी क्लबका खेलाडीलाई शर्माले पुरस्कार वितरण तथा सम्मान गरेका हुन् ।

यसका साथै प्रशिक्षकलाई जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा आयोजित एक विशेष कार्यक्रमकाबीच पुरस्कार वितरण तथा सम्मान गरिएको छ ।

सो अवसरमा प्रधान सेनापति शर्माले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ू मा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुलाई पुरस्कार वितरण गरी १४ जना रेकर्ड होल्डर र ३२ जना प्रशिक्षकहरुलाई प्रधान सेनापति प्रशंसा निशान पदक प्रदान गरेका थिए ।

शर्माले राष्ट्रिय कीर्तिमान राख्न सफल आठ जना सैनिक खेलाडीलाई पदोन्नती गरी दज्र्यानी चिन्ह समेत प्रदान गरेका थिए । शर्माले २७औँ सैनिक तेक्वान्दो च्याम्पियनशिप २०२२ मा सहभागी भई पदक प्राप्त गर्न सफल हुने तीन जना खेलाडीलाई समेत पुरस्कार वितरण गरेका थिए ।

उक्त कार्यक्रममा, सम्बोधन गर्दै प्रधान सेनापति महारथी शर्माले राष्ट्रिय खेलकुद क्षेत्रमा पाएको सफलताबाट नेपाली सेनाले गौरवान्वित हुने अवसर प्राप्त गरेको र त्रिभुवन आर्मी क्लब राष्ट्रिय खेलकुद क्षेत्रको मेरुदण्डको रुपमा रहेको यथार्थलाई पुष्टि गर्न मद्दत पुगेको हुँदा सम्पूर्ण खेलाडीहरुलाई हृदयदेखि आभार प्रकट गरेका थिए ।

उनले राष्ट्रिय खेलकुद क्षेत्रमा विशेष योगदान दिँदै अन्तर्राष्ट्रिय खेल जगतमा नेपालको छविलाई बढाउन नेपाली सेना हरहमेशा प्रयासरत रहँदै आएको र त्रिभुवन आर्मी क्लब खेलाडी उत्पादनको मुख्य थलोको रुपमा रही आफ्नो दायरा बढाउन तल्लिन रहेको जानकारी गराए ।

प्रतियोगिताको क्रममा एक कर्मठ प्रतिभावान एवं लगनशील खेलाडी गुमाउन परेकोमा प्रधान सेनापति महारथी शर्माले दुःख व्यक्त गर्दै पुनः एक पटक शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना समेत व्यक्त गर्नु भएको थियो ।

सोही अवसरमा शर्माले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता(२०७९ मा आफ्नो क्षमता प्रदर्शन गरी १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कांस्य गरी कूल ३ सय ७१ पदक प्राप्त गर्दै त्रिभुवन आर्मी क्लबलाई राष्ट्रिय च्याम्पियन बनाउने खेलाडीहरु, प्रशिक्षकवर्ग एवं व्यवस्थापन टोली लगायत प्रत्यक्ष वा परोक्ष रुपमा योगदान दिने सम्पूर्णलाई हार्दिक बधाई एवं धन्यवाद दिए ।

कार्यक्रमको दौरान बलाधिकृत रथी सरोज प्रताप राणाले यस खेलकुद प्रतियोगितामा रजत पदक प्राप्त गरेका खेलाडीहरुलाई र बलाध्यक्ष रथी सिताराम खड्काले कास्य पदक प्राप्त गरेका भएका खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्दहरु, अधिकृत, पदिक, प्रशिक्षक तथा खेलाडीहरुको उपस्थिती रहेको थियो ।