नौ दशक फिफा विश्वकपको आठ विजेता



काठमाडौं । 

फिफा विश्वकपको २२औँ संस्करण अहिले कतारमा जारी छ । विश्वकपको ट्रफी उचाल्नका लागि कतार पुगेका ३२ राष्ट्रमध्ये अहिले चार राष्ट्र अर्जेन्टिना, फ्रान्स, क्रोएसिया र मोरोक्को प्रतियोगिताको प्रथम, दोस्रो, तेस्रो र चौथो हुने होडमा बांकी छन् । विश्वकप सकिन एक साता पनि बांकी नरहेको बेला दोस्रो पटक एसियामा आयोजना भएको विश्वकपको उपाधि कसले जित्ला भन्ने कुराको बहस चरम चुलीमा छ ।

जसको जवाफ आगामी आइतवार रातिसम्म हामी सामू छर्लङ्ग हुने नै छ ।२२औ विश्वकपको विजेता को होला भन्ने ज्वरोले संसारलाई तताइरहंदा नौ दशक इतिहास बोकेको विश्वकपको उपाधि भने जम्मा आठ राष्ट्रबीच मात्र सिमित छ । जसमा विश्वकपका सदाबहार दावेदार ब्राजिलले सर्वाधिक पांच पटक उपाधि जितेको छ भने जर्मनी र इटालीले चार–चार पटक तथा उरुग्वे, अर्जेन्टिना र फ्रान्सले समान दुई–दुई पटक उपाधि उचालेका छन् ।

त्यसैगरी फुटबलको जन्मभूमिबाट परिचित इंग्ल्यान्ड र स्पेन एक–एक पटक च्याम्पियन बनेका छन् । यसपटक आठ पूर्व च्याम्पियनमध्ये सात राष्ट्र मात्र कतारमा उत्रिएका थिए । चार पटकका विजेता इटाली भने यो समेत गरी लगातार दोस्रो पटक विश्वकपमा छनोट भएन ।फिफा विश्वकप विजेताहरुको इतिहास पल्ट्याएर हेर्ने हो भने उरुग्वेको साखलाई पढ्नुपर्ने हुन्छ । आजभन्दा करिब एक सय वर्ष अघि ल्याटिन अमेरिकी देश उरुग्वे फुटबलको पावर हाउसका रुपमा गनिन्थ्यो ।

सन् १९२४ र १९२८ को ओलम्पिक फुटबल प्रतियोगिता जितेको उरुग्वेले सन् १९३० को पहिलो संस्करणको विश्वकप आयोजना गर्ने अवसर पाएको थियो । उरुग्वेको राजधानी मोन्टेभिडियोमा भएको पहिलो विश्वकपको उपाधि आयोजक उरुग्वेले नै जितेको थियो । १३ राष्ट्रको सहभागिता रहेको सो प्रतियोगिताको फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई ४–२ गोलअन्तरले हराएको थियो ।

पहिलो विश्वकपको फाइनलमा दुइवटा बल खेलाइएको थियो। दुवै टोलीबीच कसको बल खेलाउने भन्ने विषयमा विवाद भएपछि पहिलो हाफमा अर्जेन्टिना र दोस्रो हाफमा उरुग्वेको बल प्रयोग गरिएको थियो । रोचक कुरो त के छ भने पहिलो हाफमा अर्जेन्टिनाले २–१ को अग्रता लिए पनि दोस्रो हाफमा उरुग्वेको बल खेलाएपछि उरुग्वेले उत्कृष्ट कमब्याक गर्दै ४–२ ले खेल जितेको थियो । फ्रान्सका लुसियन लरेन्ट विश्वकपमा पहिलो गोल गर्ने खेलाडी बने । उनले उद्घघाटन खेलमा मेक्सिकोविरुद्ध १९औं मिनेटमा गोल गरेका थिए ।

सन् १९३४ र १९३८ मा भएको दोस्रो र तेस्रो विश्वकप जित्दै युरोपियन राष्ट्र इटाली लगातार दुई पटक विश्वकप जित्ने पहिलो राष्ट्र बन्यो । १९३४ मा घरेलु मैदानमा भएको विश्वकप फाइनलमा इटलीले चेकोस्लोभाकियालाई २–१ ले पराजित गर्दै पहिलो विश्वकप जितेको थियो । अर्को युरोपियन राष्ट्र फ्रान्समा भएको १९३८ को विश्वकपमा भने इटालीले हंगेरीलाई ४–२ ले पराजित गर्दै उपाधि जित्यो । इटलीका भिटोरियो पोजो दुई विश्वकप जित्ने पहिलो प्रशिक्षक बने ।

त्यसपछि दोस्रो विश्वयुद्धका कारण सन् १९४२ र १९४६ को विश्वकप फुटबल हुन सकेन । फाइनल नखेलाई पहिलोपटक विश्व विजेताको छिनोफानो गरिएको १९५० को चौथो विश्वकप उरुग्वेले जित्यो । ब्राजिलको माराकाना रंगशालामा भएको अन्तिम खेलमा आयोजक ब्राजिललाई २–१ ले पराजित गर्दै उरुग्वे दोस्रोपटक विश्व च्याम्पियन बनेको हो । ब्राजिललाई च्याम्पियन बन्न बराबरी नतिजा पर्याप्त भए पनि ब्राजिल सफल हुन सकेन ।

१९५४ मा भएको पाँचौँ विश्वकपमा हंगेरीको उत्कृष्ट टिमलाई पराजित गर्दै तत्कालीन पश्चिम जर्मनी पहिलोपटक च्याम्पियन बन्यो । फेरेन्ज पुस्कासप्रेरित हंगेरीयासँग समूह चरणमा ८–३ को फराकिलो अन्तरले पराजित भए पनि फाइनलमा त्यसको बदला लिँदै जर्मनी ३–२ ले खेल जित्दै उपाधि जित्न सफल भयो ।

युवा खेलाडी पेलेको उदय भएको सन् १९५८ को छैटौँ विश्वकपमा अहिलेको सर्वाधिक सफल राष्ट्र मानिएको ब्राजिलले पहिलोपटक विश्वकपको उपाधि जित्यो । १७ वर्षे पेलेले प्रतियोगितामा १० नम्बरको जर्सी लगाएर खेल्दै मैदानमा तहल्का मच्चाएका थिए भने विश्वकपमा सबैभन्दा कम उमेरका खेलाडी समेत बनेका थिए ।

यसै विश्वकपमा फ्रान्सका जस्ट फन्टेनले एकै विश्वकपमा सर्वाधिक १३ गोल गर्ने कीर्तिमान बनाए । जुन किर्तिमानलाई ब्राजिलका रोनाल्डोले सन् २००६ मा १५ गोल गरेर तोडेका थिए भने रोनाल्डोको उक्त किर्तिमानलाई पनि जर्मनीका मिरास्लोभ क्लोजले सन् २०१४ मा १६ गोल गरेर तोडेका थिए । स्वीडेनमा भएको यस विश्वकपमा ब्राजिलले आयोजक राष्ट्रलाई ५–२ ले पराजित गरेको थियो ।

त्यसको चार वर्षपछि दक्षिण अमेरिकी महादेश चिलिमा भएको सातौँ विश्वकप पनि ब्राजिलले नै जित्यो र उरुग्वे र इटालीसँग दुई पटक विश्वकप जित्ने कीर्तिमान बराबरी गर्‍याे भने लगातातर दुई पटक विश्वकप जित्ने दोस्रो राष्ट्र बन्यो । दोस्रो पटक फाइनल खेले पनि चेकोस्लोभाकिया ब्राजिलसँग ३–१ ले निराश भयो ।

घरेलु भूमिमा भएको सन् १९६६ को आठौँ विश्वकप जित्दै इंग्ल्यान्ड नयाँ विश्व च्याम्पियन बन्यो । जिओफ हस्टको ह्याट्रिक मद्दतमा इंग्ल्यान्डले फाइनलमा पश्चिम जर्मनीलाइ ४–२ ले पराजित  गर्‍याे । हस्ट फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । जुन कीर्तिमान अहिलेसम्म कायमै छ । यसै विश्वकपमा विश्वकपको ट्रफी चोरी भएको थियो । जसलाई सात दिनपछि एउटा कुकुरले पत्ता लगाएको थियो ।

विश्वकपको इतिहासमै उत्कृष्ट टिमको रूपमा परिचित ब्राजिलले १९७० को नवौँ विश्वकप जित्दै तीन पटक विश्वकप जित्ने पहिलो राष्ट्र बन्यो र जुल्स रिमेट ट्रफी सधैका लागि आफ्नो बनायो । सन् १९७४ को दसौँ विश्वकपमा फ्रेन्ज वेकेनवायरको नेतृत्वमा रहेको पश्चिम जर्मनी दोस्रो पटक विश्व च्याम्पियन बन्यो । सन् १९७८ मा घरेलु भूमिमा भएको ११औँ विश्वकप जित्दै अर्जेन्टिना पहिलोपटक विश्व च्याम्पियन बन्यो । अर्जेन्टिनाका कप्तान मारियो केम्पस एकै विश्वकपमा गोल्डेन बुट र गोल्डेन बल पाउने पहिलो खेलाडी समेत बने ।

सन् १९८२ मा स्पेनमा भएको १२औँ विश्वकपको उपाघि जित्दै इटालीले सर्वाधिक तीन पटक विश्वकप जित्ने ब्राजिलको कीर्तिमानसंग बराबरी गरेको थियो । म्याराडोनाको उदय भएको १९८६ को १३औँ विश्वकपमा अर्जेन्टिनाले पश्चिम जर्मनीलाइ हराउँदै दोस्रो पटक विश्वकप जित्यो ।

उक्त विश्वकपको क्वाटरफाइनलमा म्याराडोनाले इंग्ल्यान्डविरुद्ध गरेको गोल निकै चर्चित रह्यो । पहिलो गोल उनले हातले गरेका थिए जसलाई रेफ्रीले गोलको मान्यता दिएका थियो र त्यो पछि ’ह्याण्ड अफ गड’को रूपमा परिचित बन्यो । सोही खेलमा म्याराडोनाले इंग्ल्याण्डका पाँच रक्षक र गोलरक्षकलाई छक्काउँदै अर्को उत्कृष्ट गोल गरेका थिए । जसलाई शताब्दीकै उत्कृष्ट गोलको रुपमा लिइन्छ ।

त्यसको चार वर्षपछि पनि म्याराडोनाले अर्जैन्टिनालाई फाइनलमा पु¥याएका थिए । फाइनलमा पश्चिम जर्मनीसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाको उपािध रक्षा गर्ने सपना तुहिएको थियो । सन् १९९० को १४औ विश्वकप जितेसँगै पश्चिम जर्मनी पनि तीन पटक विश्वकप जित्ने तेस्रो राष्ट्र बनेको थियो ।

इटालियन स्टार रोबर्टो बाजियोले १९९४ को १५औँ विश्वकपको फाइनलमा ब्राजिलविरुद्ध पेनाल्टीमा असफल हुंदा इटाली चार पटक विश्वकप जित्नबाट चुकेको थियो । अर्कोतिर ब्राजिल चार पटक विश्व च्याम्पियन बन्ने पहिलो राष्ट्र बन्यो ।सन् १९९८ मा घरेलु भूमिमा भएको १६औँ विश्वकपमा डिफेन्डिङ च्याम्पियन ब्राजिललाई पराजित गर्दै फ्रान्स पहिलो पटक विश्व च्याम्पियन बन्यो । योसंगै फ्रान्स विश्व विजेता बन्ने सातौँ राष्ट्र बनेको थियो ।

फाइनलमा जिनेदिन जिदानको उत्कृष्ट दुई हेड गोलको मद्दतले फ्रान्सले ब्राजिललाई ३–० ले पराजित गरेको थियो । यसै विश्वकपबाट सहभागी राष्ट्रको संख्या २४ बाट बढाएर ३२ बनाइएको हो ।लगातार तीन पटक फाइनलमा पुगेको ब्राजिलले सन् २००२ मा पहिलो पटक एसियामा भएको १७औँ विश्वकप जित्दै पाँच पटक विश्व च्याम्पियन बन्ने कीर्तिमान बनायो । जुन हालसम्म कायमै छ । जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको फाइनलमा ब्राजिलले जर्मनीलाई २–० ले पराजित गरेको थियो ।

उत्कृष्ट प्रदर्शन गरेको आयोजक दक्षिण कोरिया तेस्रो हुँदा एसियाली राष्ट्रले पहिलो पटक इतिहासमा स्वर्णिम अक्षरले नाम कोर्न सफल भयो ।सन् २००६ मा जर्मनीमा भएको १८औँ विश्वकपको फाइनलमा दुई युरोपियन राष्ट्र फ्रान्स र इटाली भिडेका थिए । फ्रान्स दोस्रो पटक विश्वकप जित्नबाट चुक्दा इटालीले चौथो पटक विश्वकप जित्ने सूचीमा सामेल भयो । चौथो पटक विश्व च्याम्पियन बन्ने क्रममा इटालीले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–३ ले हराएको थियो ।

नियमित समयको खेल १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा जिदानले इटालीका मार्को माटेराजिलाई टाउकोले छातीमा प्रहार गरेपछि रातो कार्डको सामना गर्दै मैदान बाहिरिएका थिए । यसै विश्वकपबाट बेष्ट योङ प्लेयरको अवार्ड पनि प्रदान गर्न थालियो हो । आयोजक जर्मनीका लुकास पोडोल्स्की यो अवार्ड पाउने पहिलो भाग्यशाली खेलाडी बने ।

चार वर्षपछि सन् २०१० मा पहिलोपटक अफ्रिकी राष्ट्रमा भएको विश्वकपले नयाँ विश्व च्याम्पियन पायो । दक्षिण अफ्रिकामा भएको १९औँ विश्वकपको उपाधि युरोपियन राष्ट्र स्पेनले जित्यो । जोहानेसवर्गको सकर सिटी स्टेडियममा भएको फाइनलको अतिरिक्त समयमा स्पेनले नेदरल्यान्ड्सलाई १–० ले पराजित गर्दा आन्द्रे इनेष्टा निर्णायक गोलकर्ता बने । स्पेन नयाँ च्याम्पियन बन्दा नेदरल्यान्ड्स भने तेस्रो पटक फाइनलमा पराजित हुने अभागी साबित बन्यो । नेदरल्यान्ड्स सन् १९७४ र १९७८ को विश्वकप फाइनलमा पनि पराजित भएको थियो ।

फुटबलको पर्यायवाची ब्राजिलमा भएको २०औँ संस्करणको विश्वकप युरोपियन राष्ट्र जर्मनीले जित्यो । सेमिफाइनलमा आयोजक ब्राजिललाई हराएको जर्मनीले फाइनलमा ब्राजिलको छिमेकी तथा लियोनल मेसीको अर्जेन्टिनालाई अतिरिक्त मसयमा १–० ले हरायो । जर्मनीलाई चौथो पटक विश्व च्याम्पियन बनाउन मारियो गोट्जेले निर्णायक गोल गरेका थिए । योसँगै जर्मनी पनि इटालीसँगै चार पटक विश्वकप जित्ने सूचीमा सामेल भए ।

सन् २०१८ मा रसियामा भएको २१औ संस्करणको विश्वकपमा अर्जेन्टिना र उरुग्वेसंगै फ्रान्स पनि दुई पटक च्याम्पियन बन्ने सूचीमा अटाउने तेस्रो राष्ट्र बन्यो । पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराएर फ्रान्सले दोस्रो पटक उपाधि उचाल्यो । लुजनिकी स्टेडियममा भएको फाइनलमा क्रोएसियाका मारियो मान्डुजुकिचले फ्रान्सलाई एक आत्मघाती गोल उपहार दिएका थिए भने क्रोएसियाबाट पनि एक गोल आफ्नो नाममा लेखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्