लैंगिक हिंसाविरुद्धको अभियानमा ज्येष्ठ महिलाका मुद्दा

0
Shares

लैंगिक हिंसा जनस्वास्थ्य क्षेत्रको एउटा ठूलो समस्या हो । यसले सबै उमेरका महिलाहरुलाई शारीरिक र मानसिक रुपमा तत्कालीन तथा दीर्घकालीन प्रभाव पार्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ३ जनामध्ये १ महिला आफ्नो जीवनकालमा कुनै न कुनै किसिमको हिंसाको सिकार हुने गरेका छन् ।

हरेक वर्षजस्तै यो वर्ष पनि विश्वव्यापी रुपमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । यो वार्षिक अभियान नोभेम्बर २५, अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवसमा शुरु गरी डिसेम्बर १०, अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म मनाउने गरिन्छ । महिलामाथि हुने गरेका सबै किसिमका हिंसाको अन्त्य गर्ने उद्देश्यले यो अभियानको शुरुवात वुमन्स ग्लोबल लिडरसिप इन्स्टिच्युटले सन् १९९१ मा गरेको थियो ।

हाल सेन्टर फर वुमन्स ग्लोबल लिडरसिपको नेतृत्वमा यो अभियान विश्वव्यापी रुपमा मनाउने गरिन्छ । नागरिक समाजको पहलमा शुरु गरिएको यस १६ दिने अभियानलाई समर्थन गरेर संयुक्त राष्ट्र संघले सन् २०३० सम्ममा लैंगिक हिंसा अन्त्य गर्ने लक्ष्य लिँदै सन् २००८ देखि युनाइट अभियान सञ्चालनमा ल्याएको छ । संयुक्त राष्ट्र संघले महिला र युवतीहरुविरुद्ध हिंसा अन्त्य गरौँ नाराका साथ यस वर्ष अभियान चलाइरहेको छ ।

यसरी विश्वव्यापी रुपमा चलिरहेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा ज्येष्ठ महिलाहरुका मुद्दाहरु कमै मात्रामा उठ्ने गरेको पाइन्छ । विश्व जनसंख्या संरचनामा ज्येष्ठ महिलाहरुको संख्या तीव्र गतिमा वृद्धि भइरहेको छ । ज्येष्ठ महिलाहरुको जनसंख्यामा आएको वृद्धिदरसँगै उनीहरुमाथि हुने हिंसा तथा दुव्र्यवहारका घटनाहरु पनि बढ्दै गइरहेका छन् । तर ज्येष्ठ महिलाहरुमाथि हुने त्यस्ता घटनाहरुले सम्बन्धित निकाय तथा संघसंस्थाहरुलाई त्यति ध्यानाकर्षण गराउन सकेका छैनन् ।

प्रत्येक देश र समाजमा व्याप्त यस्ता हिंसाहरुप्रति जति चासो र चिन्ता हुनुपर्ने हो त्यो अनुरुपमा कतै पनि चिन्ता र चासो देखिँदैन । ६० वर्षभन्दा माथिका महिलाहरुका मुद्दाहरु प्रायः ज्येष्ठ नागरिकका मुद्दामा समावेश हुने गरेका छन् । जबकि उमेर ६० कटे तापनि उनीहरु महिला नै हुन् । अन्य उमेरका महिलाहरुले जस्तै उनीहरुले पनि उमेरगत विभेद, लैगिंक विभेद, घरेलु हिंसा आदिबाट पीडित भइरहेका हुन्छन् ।

हिजोआज हामी लैंगिक हिँसा अन्तर्गत घरेलु हिंसाका थुप्रै घटनाहरु सुन्दै तथा देख्दै आइरहेका छौं । यु.एन. वुमनको वर्गीकरण अनुसार घरेलु हिंसामा शारीरिक, मानसिक, आर्थिक, भावनात्मक र यौन गरी ५ वटा हिंसाहरु पर्दछन् । कतिपय ज्येष्ठ महिलाहरु पनि यी हिंसाहरुको सिकार भएका छन् भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तथ्याङ्क हामीले शायदै पाउन सक्छौं । ज्येष्ठ नागरिकहरुमा पनि ज्येष्ठ महिलाहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने एक गैरसरकारी संस्था एजिङ नेपालले सङ्कलन गरेको तथ्याङ्क अनुसार विगत १० वर्षमा करिब ७४७ ज्येष्ठ महिलामाथि बिभिन्न प्रकारका हिंसा भएको देखिन्छ । जसमध्ये शारीरिक हिसांबाट सिकार भएका ज्येष्ठ महिलाहरुको संख्या उच्च रहेको छ ।

मानसिक हिंसालाई खासै प्राथमिकता नदिने तथा उजुरी नगर्ने हुँदा थोरै मात्र ज्येष्ठ महिलाहरु यस हिंसाबाट पीडित भएको तथ्याङ्कले देखाउँछ । यसै गरी ३६ जना ज्येष्ठ महिलाहरु यौन हिंसामा परेका छन् । उक्त संस्थाले विभिन्न राष्ट्रिय दैनिक तथा अनलाइन पत्रिका र पुलिस रिर्पोटमा आएका घटनाहरुबाट तथ्याङ्क संकलन गर्दै आएको छ । २०७९ जेठ १२ गते गोरखापत्रमा प्रकाशन भएको समाचार अनुरुप उदयपुर कटारी नगरपालिका ७ मा २६ वर्षीय नातिले ६० वर्षको आफ्नै हजुरआमालाई घाँटी रेटेर हत्या गरेको घटना सार्वजनिक भएको थियो । प्रहरी अनुसन्धानले देखाए अनुसार सम्पत्तिको विवादका कारण उक्त घटना घटेको थियो ।

त्यस्तै गरेर महोत्तरी जिल्लाको गौशाला नगरपालिका ६, फुलकाहा बस्ने ७५ वर्षीय सागरदेवी यादवलाई आफ्नै छोरी र ज्वाइँले २६ लाख ५ सयको कपाली तमसुक बनाएर अदालतमा मुद्दा दर्ता गराएको घटना जेठ १२ गते गोरखापत्रमा प्रकाशन भएको थियो । गतवर्ष २०७८ सालको माघ र फागुनको पुलिस रिपोर्ट अनुसार ६० र ७० वर्षीय वृद्ध महिलाहरु देवर र छिमेकीबाट क्रमशः बलाकृत भएका थिए । जसमध्ये ६० वर्षीय महिलाको मृत्यु भएको थियो भने ७० वर्षीय वृद्ध महिला बाँच्न सफल भएकी थिइन् । यी घटना र घटनामा संलग्न पात्रहरु प्रतिनिधि घटना र पात्रहरु मात्र हुन् ।

यस्ता कतिपय घटना त रिपोर्टिङ नै हुँदैनन् । यसका कारणहरुमा सामाजिक प्रतिष्ठा, उजुरी गर्ने निकायको अभाव, आफ्नो हक–अधिकारप्रतिको अनभिज्ञता आदि पर्दछन् । प्रायः ज्येष्ठ महिलाहरु आफ्नै नजिकका परिवारको सदस्य र छरछिमेकीबाट नै हिंसाका सिकार हुने गरेका छन् ।

नेपाली समाजमा जरा गाडेर बसेको अन्धविश्वास र भेदभावपूर्ण सामाजिक तथा सांस्कृतिक मान्यताहरुले ज्येष्ठ महिलामाथि हुने हिंसा बढाएको छ । आजभन्दा ६०÷७० वर्षपहिले विद्यमान रहेको बालविवाह, छोरीलाई पढाउनुहुन्न भन्ने मान्यता र सीमित शिक्षण संस्थाका कारण अहिले वृद्ध अवस्थामा पुगेका करिब ९० प्रतिशत ज्येष्ठ महिलाहरु अशिक्षित छन् ।

अशिक्षाका कारण ज्येष्ठ महिलाहरु गृहिणी र परिवारिक स्याहारकर्ताको रुपमा मात्र सीमित छन् । परिवारमा एकता कायम गर्न, परम्परागत ज्ञान–सीपलाई जर्गेना गर्दै अर्को पुस्तालाई हस्तान्तरण गर्न र परिवार र समाजमा नदेखिने जिम्मेवारीहरु निभाउन उनीहरुको योगदान अतुलनीय छ । तर पनि ज्येष्ठ महिलाहरुलाई आर्थिक र सामाजिक कार्यहरुमा सक्रिय रुपमा सहभागी हुन प्रोत्साहन गरिँदैन । ज्येष्ठ महिलाहरुमा पनि एकल, विधवा, गरिब, दलित र अपाङ्गता भएका महिलाहरुको अवस्था अझ गम्भीर छ ।

सबै नागरिकको मानव अधिकारको रक्षा गर्नु सरकारको दायित्व हो । तर विद्यमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले वृद्ध महिलाहरुलाई हिंसाबाट सुरक्षित राख्न कुनै प्रकारको विशिष्ट र प्रभावकारी कदम चल्न सकेको छैन । विश्व स्वास्थ्य संगठनले १३३ देशमा गरेको सर्वेक्षण अनुसार जम्मा ५९ प्रतिशत देशमा मात्र ज्येष्ठ नागरिकमाथि हुने हिंसा रोक्न कानुनको व्यवस्था गरेको छ ।

जसमध्ये ३० प्रतिशत देशमा मात्र कडाइका साथ लागू गरेको छ । तर यी कानुनमा ज्येष्ठ महिलाहरुलाई प्राथमिकता दिएको छैन । यु.एन. वुमनका अनुसार कोडिभ महामारीको समयमा ३४ प्रतिशत ज्येष्ठ महिलाहरुले आफू हिंसामा परेको रिपोर्ट गरेका थिए । तर यस्तो हिंसाको विरुद्धमा कुनै प्रभावकारी नीति, कार्यक्रम तथा योजनाहरु निर्माण हुन सकेका छैनन् ।

ज्येष्ठ महिलाहरुको हक–अधिकार संरक्षण तथा प्रवद्र्धन गरी उनीहरुमाथि हुने हिंसाको रोकथाम गर्न कुनै व्यक्ति, वर्ग वा निकायको एकल प्रयासले सम्भव छैन । यसको लागि हामी सबै एकजुट भई कार्यक्रमहरु गर्न आवश्यक छ । सरकारी तथा गैरसरकारी तहबाट निर्माण गरिने कार्यक्रमहरुमा अन्य उमेरमा महिलाहरुका मुद्दाजस्तै ज्येष्ठ महिलाहरुका मुद्दाहरुलाई पनि समावेश गरिनुपर्दछ ।

सामुदायिक तहहरुमा गरिने कार्यक्रमहरुमा पनि ज्येष्ठ महिलाहरुको सहभागिता सुनिश्चित गर्नुपर्दछ । कहीँ कतै ज्येष्ठ महिलामाथि हिंसा भएको भेटिएमा उसलाई उजुरी गर्न साथै अन्य कानुनी सहायता प्रदान गर्न सकेमा यस्ता हिंसाका घटनाहरु बाहिर ल्यााउन सकिन्छ । पीडितलाई उचित न्याय र हिंसा गर्नेलाई कडा दण्ड सजाय दिएको खण्डमा पनि यस्ता हिंसाका घटनाहरु स्वतः व्यवस्थापन हुन थाल्छन् ।

अर्को महत्त्वपूर्ण कुरा आपूmमाथि हिंसा भएको घटना लुकाएर राख्नुहुँदैन । यसो गर्नाले हिंसा गर्नेलाई झन् संरक्षण मिल्छ । लैंगिक हिंसाविरुद्धको अभियानले महिलाहरुको अधिकार सुनिश्चित गर्दै उनीहरुलाई सशक्तीकरण गर्न प्रभावकारी भूमिका खेल्दै आइरहेको छ । तसर्थ लैंगिक हिंसाविरुद्ध उठेका आवाजहरुमा ज्येष्ठ महिलाहरुका मुद्दाहरु समावेश गर्न सकेमा ज्येष्ठलगायत सम्पूर्ण उमेरका महिलाहरुको लागि सुरक्षित र मयार्दित समाज तयार पार्न सफल हुनेछौं ।