गृहमन्त्री खाणद्वारा जाजरकोट दुर्घटनाबारे जानकारी



काठमाडौं।

गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको छेडागाड नगरपालिका ५ खातिजेवामा सोमबार दिउँसो भएको दुर्घटनाबारे जानकारी लिनुभएको छ । गृह प्रशासन, जाजरकोटका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष निरौलासंग घटनाबारे जानकारी लिदै मृतकहरूको शव आफन्तहरूसम्म पुर्‍याउन सहजीकरण गरिदिन निर्देशन दिनुभयो ।

गृहमन्त्री खाणले गृह प्रशासनलाई पहाडी सडकमा पटक पटक हुने यस्ता दुर्घटना कसरी न्युनिकरण गर्ने भन्नेमा ध्यान दिन पनि निर्देशन दिनुभएको छ । जिल्लाको सुरक्षा निकायलाई दुर्घटना न्यूनीकरण गर्नेबारेमा ध्यान दिन गृहमन्त्रीले भन्नुभएको छ ।

दुर्घटनामा जिपमा रहेका गाडी चालकसहितका १२ जनाको निधन भएको डिएसपी निरौलाले जानकारी दिनुभयो । ९ जनाको घटनास्थलमै र तीन जनाको उपचारका लागि लैजादै गर्दा र अस्पतालमा निधन भएको निरौलाले बताउनुभयो ।

सोमबार दिउँसो करिब ४ बजे कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप मध्यपहाडी सडकखण्ड अन्तरर्गत छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा आफैँ अनियन्त्रित भई २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्