दोषीलाई कारबाहीको माग गर्दै दुल्लु अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित 



दैलेख।

यति वेला दैलेखको दुल्लु अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित छन् । २४ घण्टा जनताको सेवामा समर्पित स्वास्थ्यकर्मीहरु नै यसरी हातमा कालो पट्टी बाँधेर आफ्नो सुरक्षाको माग गर्दै आन्दोलित भएपछि दुल्लु अस्पतालको सेवा समेत प्रभावित बन्न पुगेको छ ।

दुल्लु अस्पतालमा यस अघि पनि विभिन्न वाहानामा विभिन्न माग गर्दै स्वास्थ्य कर्मिहरुले आन्दोलन गरे भने यस पटक उनीहरूले गत २५ गते दिउँसो एक स्थानीयले अस्पताल स्टोरमा प्रवेश गरी ड्युटीमा प्रवेश गरिरहेका अस्पताल प्रमुख एवं डाक्टर राजन नकर्मीलाई गालिगलौच गर्दै अभद्र व्यवहार गरेको भन्दै उनकाविरुद्ध आन्दोलित भएका हुन ।

दैलेखको दुल्लु नगरपालिका ४ निवासी टिकाराम कार्कीले व्यक्तिगत कामको सिलसिलामा अस्पतालको स्टोरमा प्रवेश गरेर औषधिको विवरण मिलाई रहेका अस्पतालका प्रमुख डा.राजन नकर्मीमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ ।

यति वेला सामाजिक सञ्जालमा डाक्टर नकर्मी र टिकाराम कार्कीको भिडियो भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा आएको भिडियो अनुसार स्थानीय टिकाराम कार्कीले  डाक्टरलाई जसरी पनि आफ्नो काम गरिदिन भनेका छन् भने नभए अस्पताल छोड्न चुनौती दिँदै घोक्रे ठ्याक लगाएर निकाल्ने धम्की सहित दिएको प्रति यति वेला सार्वजनिक रुपमा समेत कारबाहीको माग उठिरहेको छ । अस्पताल प्रशासनमा पसेर  डाक्टरले आफ्नो व्यक्तिगत कागजपत्र नमिलाएको भन्दै अभद्र व्यवहार गरेका हुन ।.

२५ गते साँझ नै दुल्लु नगरपालिका नगरप्रमुख भरत रिजाल ,डाक्टर नकर्मी सहितको स्वास्थ्यकर्मीहरुको समूह र आरोपित टिकाराम कार्कीले इलाका प्रहरी कार्यालय दुल्लुमा पुगेर अञ्जानमा उक्त घटना भएको भन्दै सहमतिमा मिलाप समेत गरेको भएपनि घटनाले यति वेला अर्कै रुप लिएको छ । २६ गते बिहान अभद्र व्यवहारमा दोषी ठहरिएका टिकाराम कार्कीले अस्पतालमा उपस्थित हुनुपर्ने र सबैसामु माफी माग्नुपर्ने सल्लाह भएपनि तोकिएको समयमा टिकाराम कार्की दुल्लु अस्पताल नपुगेर दैलेख सदरमुकाम पुगेर मेरो कुनै गल्ती छैन जे गरे पनि हुन्छ भनेर जवाफ दिएपछि स्वास्थ्यकर्मीको टोलीले नगरपालिका पुगेर आफूहरूको सुरक्षा हुनुपर्ने नभए अस्पतालका कुनै पनि काम गर्न नसकिने माग राखेका छन् भने पुनः इलाका प्रहरी कार्यालयमा मुद्दा दायर गरेका छन् ।

त्यसपछि इलाका प्रहरी कार्यालय दुल्लु र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली द्वारा निज टिकाराम कार्कीलाई दुल्लुबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दैलेखको थुनुवा कक्षमा राखिएको छ । स्वास्थ्यकर्मीहरुको टोली द्वारा निजलाई सार्वजनिक मुद्दा समेत दायर गरिएको छ भने निजलाई आवश्यक कारबाही गरी पुनः यस्ता क्रियाकलापहरु नदोरिन दिनको लागी अस्पताल क्षेत्रमा सुरक्षाकर्मीको माग समेत गरिएको छ।

दुल्लु नगरपालिकाले पनि उक्त विषयलाई चासोका साथ लिएको छ । डाक्टर नकर्मी सहितको स्वास्थ्यकर्मीहरुको एक टोलीले नगरपालिका पुगेर आफूहरूको सुरक्षा विना काम गर्न नसक्ने बताए पछि नगर प्रमुख भरत रिजालले उनीहरूलाई अस्पतालको जिम्मेवारी वहन गर्न र सबै सेवा नियमित प्रदान गर्न भन्दै आफूले त्यसको पूर्ण जिम्मेवारी वहन गर्ने बताउनुभयो भने आगामी दिनमा अस्पतालमा प्रहरी समेत राखिने बताइएको छ ।

यति वेला यो घटनाले दुल्लु क्षेत्रमा सार्वजनिक बहसको विषय समेत बनाएको मात्र छैन स्वास्थ्य जस्तो पवित्र स्थानमा पुगेर व्यक्तिगत कामको लागि कसैको इज्जतसँग खेलवाठड गर्नु नहुने समेत पाठ सिकाएको  छ । अर्कोतिर स्वास्थ्यकर्मीहरुले के आगामी दिनमा यसरी नै सुरक्षाको विचमा मात्रै स्वास्थ्य सेवा प्रदान गर्लान् त ? भन्ने प्रश्न पनि तेजिलो बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्