सिन्दुर–पोते परम्पराको प्रताडना

0
Shares

लोक गायिका बबिता बानियाँले शंकर क्षत्रीसँग सम्बन्ध विच्छेद गरेपछि गाएका हरेक गीतमा सिन्दुरको उठान गरेकी छिन् । मानौँ आफ्नो पति र सिउँदोको सिन्दुर एक–अर्काका पर्याय हुन् । सम्बन्ध विच्छेदपछि पतिसँगको विछोडभन्दा सिन्दुर–पोते खोसिएको विषयमा उनको ठूलो गुनासो छ ।

(सिन्दुर पोते खोसियो बिहेको, थिएनौ कि मनदेखि दिएको –बबिता बानियाँ ।) उनीसँगै दोहोरी गाउने सुमन परियारलगायतका गायकले समेत उनको खालि सिउँदो र सिन्दुरको विषय बेजोडले उठाएका छन् । (सबै पायौ सिन्दुरको भर पाइनौ, आफैँ रोज्यौ गतिलो घर पाइनौ –सुमन परियार ।) हाम्रो वैवाहिक संस्कारको अभिन्न अंग मानिने सिन्दुर–पोतेको परम्पराले सम्बन्ध विच्छेद गरेका महिलामाथि गहिरो आघात पारेको तथ्य बानियाँका कैयौँ गीतले उजागर गरेको पाइयो ।

आखिर संस्कारका नाउँमा महिलाले चाहिँ विवाहमा सिन्दुर–पोते पहिरनै पर्ने र पुरुषलाई भने स्वतन्त्र छाड्ने लिंगभेदी संस्कारविरुद्ध अब आम महिला किन नउत्रने ? चुरा, पोते, टीका, सिन्दुर हिन्दू वैवाहिक संस्कारको मुख्य पहिचान मानिए पनि यसैका नाउँमा महिलाहरुले लैंगिक विभेद र मानसिक पीडा कहिलेसम्म सहिरहने ? विशेषतः हिन्दू संकारमा सिन्दुर–पोते विवाहित महिलाले लगाउने मुख्य सौन्दर्य प्रसाधन मानिन्छ ।

विवाहमा श्रीमानले लगाइदिने सिन्दुर–पोतेसँगै टीका–चुरा र राता वस्त्रलाई समेत श्रीमान् र सौभाग्यसँग जोडेर हेर्ने र पतिको मुत्युपछि विधवाका भेषमा रही यी सबै पहिरन त्याग्ने परम्परा रहिआएको छ । टीका, चुरा र सिन्दुर अविवाहित महिलाले पनि लगाउँछन् तापनि विवाहमा लगाउने सिन्दुर–पोतेसँगै टीका–चुरालाई विवाहित महिलाका मुख्य चिनारी नै मानिन्छ । युगौँदेखि नै विशेषतः महिलाहरुले विभिन्न शृङ्गार सामग्रीको प्रयोग गर्दै आएको र समयक्रमसँगै शृङ्गार सामग्रीको प्रकार र प्रयोगमा परिवर्तन हुँदै आएको देखिन्छ । ठाउँ, परिवेश र जातजाति विशेषमा समेत महिलाहरुले पहिरने सौन्दर्य सामग्रीहरुमा निकै फरक पाइन्छ ।

माहिलाको सोह्र शृङ्गारमध्ये प्रमुख मानिने चुरा–पोतेको बढ्ढो प्रयोगले आर्थिक भार तथा सांस्कृतिक दबाब बढेको भन्दै यसको प्रयोगमा नियन्त्रण गर्नुपर्ने आवाज केही वर्षयता बढ्दै आएको छ । विशेषतः श्रावण महिनामा हरिया चुरा–पोते पहिरने प्रतिस्पर्धा चुलिएको देखिन्छ ।

भाद्र महिनामा पर्ने तीज र त्यसपछि दशैँ–तिहारताका महँगा चुरा–पोतेसँगै राता, पहेँला वस्त्र र गहनाको प्रयोग अत्यधिक बढ्ने भन्दै यसलाई रोक्नुपर्नेबारे विरोधका चर्का स्वर पनि सुनिन्छन् तर दशैं–तिहारपछि सेलाउँदै जान्छन् । मंसिरदेखि विवाहको समय शुरु हुने हुँदा फेरि सौभाग्य साधनका नाउँमा चुरा–पोतेका लागि लाखौँ खर्च हुने गर्छ । विदेशबाट आयातीत यी सामग्रीमा मात्र महिलाले वार्षिक लाखौँ रकम खर्चिएका हुन्छन् ।

आजका शिक्षित, सचेत आम महिलाले विवाहमा चुरा–पोते पहिरनको परम्परामा परिवर्तन खोज्नु आर्थिक, सांस्कृतिक दुवै दृष्टिले आवश्यक भइसकेको छ । अति महँगो र देखासिकी बढ्दै गएको चुरा–पोते पहिरनलाई क्रमशः विस्थापन गर्ने हो भने अनावश्यक खर्चमा कतौटी हुने र अर्कातिर विवाहित महिलालाई सधवा र विधवा भनेर विभेद गर्ने परम्पराको समेत अन्त्य हुन्छ । विवाहमा महँगा चुरा–पोतेको साटो नेपालमै बनाइने सस्ता, सजिला, छरिता माला र बालाको प्रयोग उपयुक्त हुन्छ ।

विवाहमा महिलाले च्ुारा–पोते लगाउनै पर्ने संस्कार युगौँदेखि रही आए पनि यो नेपालमै उत्पादन गर्ने जमर्को सरकारले किन कहिल्यै गरेन भन्ने अर्को अहम् प्रश्न हो । विदेशबाट महँगोमा किनेर भए पनि लगाउनै पर्ने परम्परालाई हामीले कहिलेसम्म घिसारिरहने ? बंगलादेश, पाकिस्तान, भारत आदि मुलुकको व्यापार बढाइदिन हामी चुरा–पोतेप्रति किन यति विघ्न आकर्षित भइरहेका छौँ ? चुरा–पोतेका लागि मात्र वार्षिक अर्बौं रुपियाँ विदेशिने गरेकोमा अब यसको नियन्त्रणमा सरकार पनि गम्भीर हुनुपर्छ ।

श्रावण महिनामा हरिया चुरा, पोते, टीका र सारीमा आम महिलाले खर्च गर्ने अतिरिक्त रकम बर्सेनि बढ्दै गएकोमा पछिल्ला समय विरोध भइरहे पनि यसले निरन्तरता पाउन सकेको छैन । साउनको एक सोमबारको लागि महिलाले फेसन गर्न हरिया पहिरन र चुरा–पोते लगायतका सौन्दर्य प्रसाधनका लागि ३०–४० हजारसम्म खर्च गर्ने आँकलन छ भने त्यसैको नक्कल र प्रतिस्पर्धा गर्ने आम महिलाको आर्थिक अवस्थामाथि कति ठूलो व्ययभार थपिएको होला ? नेपाली महिलाहरु पौष्टिक खाना खान, घुमफिर गर्न र मनोरञ्जन गर्नभन्दा शृङ्गारका साधन, गहना तथा लत्ताकपडाहरुमा थुपै्र रकम खर्च गरिरहेका हुन्छन् ।

हाल बजारमा एक दर्जन चुरा ५० रुपियाँदेखि १०–१५ हजारसम्मका पाइन्छन् भने थरी–थरीका पोते योभन्दा अझ महँगा मूल्यका छन् । हाल विवाह नै नभएका कलिला बालिकालाई समेत अनावश्यक महँगा चुरा–पोते पहिराएर सांस्कृतिक कार्यक्रम र म्युजिक भिडियोहरुमा नचाउने कार्य दिन–प्रतिदिन बढ्दो छ ।

अर्बौंको रकम खर्चेर विदेशबाट आयातीत चुरा–पोते पहिरेर हामीले कस्तो संस्कारको पक्षपोषण गरिरहेका छौँ ? बजारको दास र विदेशीको उपभोक्ता भएर हामी कहिलेसम्म सिन्दुर–पोते पहिरनै पर्ने संस्कृतिलाई पछ्याइरहने ? वर्षभरि चुरा–पोतेमा खर्च गर्ने अनावश्यक रकम महिलाहरुले पौष्टिक खानामा खर्चने हो भने विभिन्न खाले रोग लाग्नबाट बच्नेमात्र नभई उपचार खर्चसमेत घट्न जान्छ ।

चुरा–पोतेलाई महिलाको सौभाग्य र पतिभक्तिको सूचक मानेर हेर्ने हाम्रो परम्पराले गायिका बबिता बानियाँजस्ता बैँसमै सम्बन्ध विच्छेद भएका लाखौँ महिलालाई मर्माहत बनाएको छ । सम्बन्ध विच्छेद गरेपछि पनि आफू विवाहित नै भएकाले सिन्दुर–पोते लगाउने कि नलगाउने भन्ने दोधारले त्यस्ता महिलाहरुलाई बढी पिरोल्ने गरेको देखियो ।

पतिसँगको सम्बन्ध टुटेपछि उसैले विवाहमा दिएको सिन्दुर–पोते पहिरन नहुने मानसिकताले तिनलाई अझ बढी पीडा भएको देखियो । विवाह गर्दा होस् वा नगर्दा होस् वा सम्बन्ध विच्छेद गर्दा होस्, पुरुष भने सधैँ उही पहिरनमा रहन्छ भने महिलाले आफू विवाहित भएको, सम्बन्ध विच्छेद भएको वा विधवा भएको संकेत आफ्नो पहिरन र भेषभूषाबाटै खुलाउनुपर्ने किन ? अब महिलाले संस्कारका नाउँमा पितृसत्ताको दास भएर बाँच्ने होइन ।

महिलालाई मर्माहक र अस्तित्वविहीन तुल्याउने वैवाहिक संस्कारमै परिवर्तन खोज्नुपर्छ । विवाहअघि पनि नलगाइने र श्रीमानको मृत्युपछि पनि लगाउन नहुने भन्ने मान्यता रहेको सिन्दुर–पोतेलाई विवाहमा चाहिँ महिलाले पहिरनै पर्ने अनिवार्य किन गरियो ? शिक्षित सचेत महिलासमेत सिन्दुर, चुरा, पोते परम्पराकै पक्षपोषणमा किन लागिरहेका छन् ? सिन्दुर–पोते खोसेर महिलालाई विधवाको ट्याग झुन्ड्याई तिनको मानवीय स्वतन्त्रता र अस्तित्व लुट्ने परम्परा अन्त्यका लागि समेत अब महिलाहरुले सिन्दुर–पोते विवाहमा पहिरने परम्परा त्याग्नै पर्छ ।

मध्ययुगीन समाजको बर्बरताबाट आम महिलालाई बचाउन त्यस समयमा विवाहित भएको संकेतस्वरुप केही बेग्लै पहिरनको आवश्यकता ठानियो होला । त्यो समयका महिलामाथि थोपरिएको परम्परालाई आजका महिलाहरुले पछ्याइरहनुपर्छ भन्ने छैन । हरेक संस्कार र परम्परा अपरिवर्तनीय हुँदैन । चुरारुपी हत्कडी र पोतेरुपी दाम्लोले आम महिलालाई पुरुषकै पछि–पछि डो¥याइरहने परम्परामा परिवर्तन ल्याउनै पर्छ ।

महिलालाई विधवा र सधवा भनी छुट्याउने सिन्दुर–पोते पहिरनको परम्परा नै अब समाजबाट किन विस्थापित नगर्ने ? अब हामीले निरंकुश लिंगभेदी पितृसत्तात्मक समाजका सामु विधवा प्रथाका विरुद्ध अनुनय विनय गर्नुभन्दा सधवा विधवा भनी विभेद गर्ने सिन्दुर–पोतेकै प्रयोगलाई विवाहबाटै निषेध गर्नुपर्छ । चुरा–पोते प्रयोगमा रोक लगाउनुपर्ने विषयमा आवाज उठाउँदा हिन्दू संस्कारविरुद्ध उत्रिएको भनेर आलोचना पनि हुन सक्ला ।

तर हाम्रा पुर्खाले प्रयोग गरेका अनेकौँ शृङ्गार सामग्री हामीले त्याग्दै वा परिवर्तन गर्दै आएका छौँ । हिजो महिलाले फरिया लगाएर कुर्कुच्चासम्म छोप्नुपर्छ भन्ने मान्यता परिवर्तन भएर आज तिनले कुर्था र हाफ पाइन्ट लगाउन थालिसकेका छन् । आर्थिक भार र सांस्कृतिक पीडा हटाउन महिलाले विवाहमै सिन्दुर, पोते, चुरा पहिरने परम्परालाई किन विस्थापन नगर्ने ?

धर्म, संस्कृति र परम्परा समयको माग अनुसार चलाउनुपर्छ । अब जुनसुकै संस्कारका नाउँमा महिलामाथि विभेद, अपमान र उत्पीडन थोपर्ने कुपरम्पराको अन्त्यतर्फ सबैका ध्यान खिचिनुपर्छ । महिलालाई मरेतुल्य भएर बाँच्न विवश बनाउने विधवा संस्कार र यसैसँग जोडिएको सिन्दुर–पोते पहिरने परम्पराको अन्त्य जरुरी भइसकेको छ । स्वर्गीय साहित्यकार जगदीश घिमिरेकी पत्नी दुर्गा घिमिरेले लेखेको उनको सम्झनामा नामक कृतिमा आफूलाई पतिवियोगको असह्य पीडासँगै सिन्दुर–पोते र टीका–चुरा अनि राता वस्त्र उतार्दाका कठिन घडीको बडो मार्मिक ढंगले वणर्न गरेकी छिन् ।

पतिको मृत्युपछि उनलाई लिएर घाटमा पुग्दा नाकको फुली फुकालेर, चुरा फुटाएर र पोते चुँडाएर विधवा घोषित गर्दाको पलको पीडा वर्णन गर्नै नसक्ने बताएकी छिन् उनले । महिलामाथि थोपरिएका यस्ता अनेक परम्परागत बोझिला, खर्चिला र झन्झटिला संस्कारमा हामी कहिलेसम्म तड्पिरहने ? नेपालमा संस्कार सुधार समाज स्थापना भइसकेको छ । यसले विशेषतः तेह्रदिने काजक्रियालाई छोट्याएर पाँच वा सात दिनमा काम सक्ने विषयमा छलफल शुरु भइरहेको छ । यसकै परिणाम हाल कतिपयले पाँच दिनमै पनि काजक्रिया सक्न थालेका छन् ।

समाज सुधारकहरुले १३ दिने मृत्यु संस्कारमा जसरी परिवर्तनका उपाय खोजिरहेका छन् । चुरा, पोते र सिउँदोमा सिन्दुर लगाउनै पर्ने वैवाहिक परम्परामा पनि अब परिवर्तन खोज्नुपर्छ । श्रीमान् छँदै किनेका लाखौँका चुरा, पोते, सिन्दुर, टीका श्रीमानको मृत्युपछि त्याग्नुपर्ने संस्कारले महिलालाई कठोर मानसिक पीडा थोपर्ने भएकाले अब यसको प्रयोगमै निषेध गर्नु आर्थिक, सांस्कृतिक दुवै दृष्टिले उपयुक्त देखिन्छ ।

विवाहमा दुलहाले दुलहीलाई सिन्दुर–पोते लगाइदिएर आफ्नो वैधानिक दास बनाउने परम्पराको पक्षपोषक महिलाहरु कहिलेसम्म बनिरहने ? चुरा, पोते, टीका, सिन्दुरसँग गाँसिएको लिंगभेदी प्रथा र परम्पराका नाउँमा महिलाहरु कहिलेसम्म प्रताडित भइरहने ?