केन्द्रसँग जोडिँदै ‘महाभारत’

३३ सय घर झलमल्ल हुँदै



महाभारत, काभ्रे । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचन अघिसम्म नेपाल विद्युत्त प्राधिकरणको केन्द्रीय प्रसारण लाईनको सम्पर्कमा नरहेका महाभारत र खानिखोला गाउँपालिकाका सर्वसाधारण विजुली बत्तिको उज्यालोमा बस्न पाउने भएका छन् ।

‘२०७४ सालमा हामी निर्वाचित भए लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपाबाट निर्वाचित जिल्लाका सांसदहरु गंगाबहादुर दोङ्ग, गोकुलप्रसाद बास्कोटा, रत्न ढकाल, चन्द्र लामा, गोमा भुर्तेल लगायतलाई महाभारत पुर्‍याएर डाँडापारीका समस्या लिपिबद्ध गरेर बुझायौं’– गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘महाभारत र खानिखोलाबासीलाई बत्तिको अध्यारोबाट उज्यालो बनाउने अभियानमा नेपाल सरकारले १ अर्ब ५६ करोड रकम विनियोजन गरी कार्य प्रारम्भ गर्‍याे ।

रकम अपुग भएका कारण अधुरो रहेका आयोजना समापन गर्न पुनः ३० करोड रकम विनियोजन भएको छ ।’ महाभारत गाउँपालिकाको वडा नम्बर ३ फोक्सिङ्गटार, वडा नम्वर ४ र ५ बुढाखानीका सबै घरमा बत्ति बल्ने गरी कार्य सम्पन्न भएको छ ।

‘गाउँपालिकाले घरमा जडान गर्ने मिटर खरिदका लागि एक हजार अनुदान उपलब्ध गराएको छ’–गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘बाँकी रकम स्वंय घरधनीले ब्यहोर्ने गरी ३ वटा वडाका लागि १ हजार ३ सय घरधुरीका लागि मिटर पुगिसकेको छ । अहिले घरमा वायरिङ्गको कार्य भईरहेको छ ।’

केन्द्रीय प्रसारण लाईन महाभारतका सबै वडामा पुगिसकेको छ । अहिले शाखा लाईन विस्तारको कार्य अन्तिम चरणमा पुगेको वडा नम्वर १ का अध्यक्ष एवं गाउँपालिका प्रवक्ता कान्छामान जिम्बाले बताउनु भयो । यहि वर्ष भित्र सबै घरमा विजुली बत्ति बालिसक्ने गरी गाउँपालिकाले योजना अघि बढाएको उहाँले बताउनु भयो । वडा नम्बर ६ र ७ मा धेरै कार्य सम्पन्न भएको छ भने वडा नम्वर १, २ र ८ मा धमाधम कार्य भईरहेको छ ।

केन्द्रिय प्रसारण लाईन नभएका कारण महाभारतमा उद्योग कलकारखाना संचालन हुन सकेका छैनन । लघु जलविद्युत्त, सोलार तथा अन्य बैकल्पिक उपायबाट रातको समयमा उज्यालो देखिने गरेको छ । भुकम्प पछि सोलारको प्रयोग बढेको छ । त्यस अघि लघुजलविद्युत्त आयोजना संचालन भए पनि दिगो रुपमा संचालन हुन सकेका थिएनन् । मोवाईल टाओरका लागि पनि सोलारका कारण असहज भएको थियो ।

घाम नलागेको समयमा मोवाईल नेटवर्क हुँदैन थियो भने स्थानीयहरुलाई अन्य कार्यका लागि बत्ति नहुँदा असहज भएको स्थानीय रेशम बोम्जनले बताउनु भयो । ‘अब बत्ति आउला भन्ने आशा पलाएको छ’–उहाँले भन्नुभयो–‘बत्तिको समस्या समाधान हुँदा धेरै कुरा सहज हुन्छ ।’

महाभारत गाउँपालिकामा ३ हजार ३ सय घर धुरी छन् । सबै घरमा विजुली, खानेपानी पु¥याउने गरी कार्य भईरहेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत हरिसिं विष्टले बताउनु भयो । विकट भएका कारण धेरै कुराको अभाव भएकाले स्थानीय सरकार निर्वाचित भए पछि विकासका आधारभुत आवश्यकता पुरा हुन थालेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्