नेपाल प्रहरीका पदक विजेता खेलाडीलाई सम्मान



काठमाडौं।

नेपाल प्रहरीले नवौं राष्ट्रिय खेलकुद २०७९ का पदक विजेता खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आज (आइतबार) आयोजित समारोहमा खेलकुद समितिका अध्यक्ष समेत रहनुभएका प्रहरी महानिरीक्षक सिंहले प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरु तथा अफिसियलहरुलाई सम्मान तथा नगद पुरस्कार वितरण गर्नुभएको हो ।

समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक सिंहले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट नतिजा हाँसिल गरेकै कारण नेपाल प्रहरी संगठनको गरिमा उँचो हुँदै आएको चर्चा गर्नुभयो ।

उहाँले नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा खेलाडीहरूले गरेको कडा परिश्रम, मेहनत, लगनशीलता र खेलकुदप्रतिको समर्पण भावको उच्च प्रशंसा गर्दै खेलाडीहरूले सफलता पछाडिको संघर्ष, त्याग, तपस्या र साधना कायम राख्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले आफूभित्रको सम्भावनालाई निखार्दै अझ सशक्त र उत्कृष्ट खेलाडीको रूपमा विकास गरी व्यक्तिगत उपलब्धीका साथै संगठनको श्रीवृद्धि, वृहत्तर हित र संस्थागत विकासमा योगदान दिन खेलाडीहरूलाई आग्रह गर्नुभयो ।

प्रहरी पेशा अन्तर्गतका जिम्मेवारीहरू बहुआयामिक रहने चर्चा गर्दै महानिरीक्षक सिंहले संगठन र राज्यले सुम्पिएको जस्तोसुकै जिम्मेवारी दृढता र कर्तव्यपरायणताका साथ निर्वाह गर्न तत्पर हुनु सवै प्रहरी कर्मचारीको प्राथमिक दायित्व रहेको बताउनुभयो ।

हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पदक विजेता खेलाडीहरू समेतको उच्च योगदान रहेको उहाँले बताउनुभयो ।

प्रभावकारी प्रशिक्षण र व्यवस्थापनद्वारा खेलाडीहरूको क्षमता अभिवृद्धि र मनोबल उच्च गर्न नेपाल प्रहरी खेलकुद समिति पनि उत्तिकै सक्रिय र क्रियाशील हुन आवश्यक रहेको बताउँदै उहाँले उत्कृष्ट खेलाडीलाई संगठनमा आवद्ध गराई महत्वपूर्ण मञ्च उपलब्ध गराउने नेपाल प्रहरीको नीति रहेको तथा उत्कृष्ट खेलाडीको आवद्धताले आगामी दिनमा नेपाल प्रहरीको प्रदर्शन अझ सुदृढ हुने अपेक्षा व्यक्त गर्नुभयो ।

समारोहमा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल प्रहरीले विभिन्न खेलकुद गतिविधिमा सहभागी हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गरी राष्ट्रको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो ।

२०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्‍न जिल्लामा संचालित उक्त प्रतियोगितामा नेपाल प्रहरीकोतर्फबाट सहभागी खेलाडीहरुले ६१ स्वर्ण, ६१ रजत र ७२ कास्य गरी कुल १ सय ९४ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको थियो।

विजेता खेलाडीहरुलाई सम्मान स्वरुप नेपाल प्रहरी खेलकुद समितिबाट सिंगल ईभेन्ट स्वर्ण पदक विजेतालाई १० हजार रुपैयाँ, रजत पदक विजेतालाई ७ हजार रुपैयाँ र कास्य पदक विजेतालाई ५ हजार रुपैयाँ एवम् सामूहिक ईभेन्टतर्फ स्वर्ण पदक विजेतालाई ७ हजार रुपैयाँ, रजत पदक विजेतालाई ५ हजार रुपैयाँ र कास्य पदक विजेतालाई ३ हजार रूपैयाँ प्रदान गरिएको छ ।

यसैगरी विभिन्न खेलहरूमा राष्ट्रिय कीर्तिमान राख्न सफल ८ जना खेलाडीहरुलाई जनही थप नगद ५ हजार रुपैयाँ प्रदान गरिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल प्रहरीकोतर्फबाट २९ खेलमा ४ सय ९५ जना खेलाडीहरू सहभागी भएका थिए । जसमध्ये १९८ जना महिला र २९७ जना पुरुष खेलाडी थिए भने ९२ जना अफिसियल गरी कूल ५ सय ८७ जना खेलाडी तथा अफिसियलहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रहरी सहायक निरीक्षक तारादेवी पुन, प्रहरी सहायक हवल्दारद्वय बिकास थापा र मुई लामा तथा प्रहरी जवानहरू जुनुमाया छन्त्याल, बिद्या राई, विशाल सिंह बिष्ट, सन्देश गुरूङ र चन्द्रकला लाम्गादेले नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका थिए ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु, नेपाल प्रहरीमा आवद्ध खेलाडीहरु लगायत अन्य प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्