सुदूरपश्चिमबाट ५ समानुपातिक सांसद !

0
Shares

धनगढी ।

राजनीतिक दलहरूले प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदहरु बन्नेहरुको नाम  निर्वाचन आयोगमा बुझाएका छन्। शनिबार आफूले पाएको सिटमा सांसद बन्नेहरुको नाम दलहरुले बुझाएका हुन्।

निर्वाचन आयोगले राजनीतिक दलहरूले बुझाएका नामको आधारमा सोमबार समानुपातिकबाट निर्वाचित सांसद घोषणा गर्ने जनाएको छ। प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेले ३४, नेपाली काँग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, रास्वपाले १३, राप्रपाले ७ सिट पाएका थिए।

जसमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा ५ जनाले मात्रै समानुपातिकबाट सांसद बन्ने मौका पाएका छन्। नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सांसदहरूको सिफारिस सूचीमा सुदूरपश्चिम प्रदेशबाट ५ जनाको नाम अटाएको हो।

निर्वाचन आयोगलाई बुझाएको सूचीमा सुदूरपश्चिमबाट नेपाली काँग्रेसले ३ जना, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले १/१ जनालाई प्रतिनिधिसभा सांसदको लागि सिफारिसमा गरेको छ। ती पाँच जनामध्ये काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू राणा देउवा र ईश्वरी न्यौपाने र महासनाइ नेपालीले सांसद बन्ने अवसर पाएका छन्।

देउवा डडेलधुरा, न्यौपाने कैलाली र नेपाली बाजुराबाट सिफारिस भएका थिए। यस्तै माओवादी केन्द्रले कैलालीकै रुपा चौधरीलाई समानुपातिकमा समेट्दा एमालेले दयाल बहादुर शाहीलाई समेटेको छ। माओवादीकी चौधरी कैलाली र एमालेका शाही बाजुराका हुन्। राष्ट्रिय दल बनेका सात पार्टीमध्ये सुदूरपश्चिमबाट समानुपातिक माध्यमबाट तीन पार्टीका पाँच जना मात्रै सांसद हुने भएका छन्।