भाडा वृद्धिविरुद्ध औद्योगिक क्षेत्र व्यवस्थापनमा ताला बन्दी

0
Shares

बुटवल।

बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, बुटवलले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटी रूपमा औद्योगिक क्षेत्रको भाडा वृद्धि गरेको भन्दै भाडा वृद्धि खारेजीको माग गर्दै बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका छन् ।

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तरगत आइतबार कालो ब्यानरसहित बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रुपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको नेतृत्वमा गएका उद्योगीहरूले व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रशासन प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

कोभिड महामारीका कारण थला परेका उद्योगहरूको प्रवर्द्धनका लागि योजना ल्याउनुको सट्टा सरकारले अव्यवहारिक रूपमा भाडा वृद्धि गर्नु उद्योग विरोधी कार्य भएको भन्दै उनीहरूले यसअघि नै आन्दोलनको घोषणा गरेका थिए । तालाबन्दी पछि आयोजित सभामा बोल्दै बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणि भट्टराईले आइतबार २४ घण्टाको लागि सांकेतिक रूपमा तालाबन्दी गरिए पनि व्यवस्थापन कार्यालयले निर्णय फिर्ता नलिए थप आन्दोलनमा जाने बताएका छन् ।

नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योगीहरुको भावनाले सुझाव विपरीत एकै पटक ७ सय देखि ८ सय प्रतिशतसम्म भाडा वृद्धि गरेर उद्योग बन्द गराउने षडयन्त्रमा लागेको आरोप लगाउनु भयो ।

तर औद्योगिक व्यवस्थापन लिमिटेडले करिब १० वर्षदेखि औद्योगिक क्षेत्रको भाडा वृद्धि नभएको पुरानो वृद्धि गरिएको भाडा उठाउने भनिएको जनाएको छ ।
बुटवल औद्योगिक क्षेत्रमा हाल प्रतिरोपनी वार्षिक ८ हजार ३ सय २८ रुपैयाँ भाडा लिँदै आएकोमा २०७५ सालमा १६ हजार २ सय रुपैयाँ भाडा निर्धारण गरिएको थियो । यो भाडा वृद्धि ११६ प्रतिशत हो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार चालु आर्थिक वर्षको १३ करोडसहित देशभरका १० वटा औद्योगिक क्षेत्रमा रहेका उद्योगबाट ५३ करोड रुपैयाँ भाडाबापतको बक्यौता उठाउन बाँकी रहेको जनाएको छ ।  २०७५ साल साउनदेखि लागु हुने गरी लिमिटेडको सञ्चालक समितिले औद्योगिक क्षेत्रको ६३ देखि साढे पाँच सय प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो । औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ को नियम २३ को उपनियम १ मा उत्पादनमूलक उद्योगको हकमा ५ र ५ वर्षमा भाडा दर पुनरावलोकन गर्ने व्यवस्था उल्लेख छ ।