धनगढी । सुदूरपश्चिमको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयमा तालाबन्दी गरिएको छ । आइतबार धानको मूल्य निर्धारण गरेर पनि धान खरिद नगरेको भन्दै प्रदेश कार्यालयमा तालाबन्दी गरिएको हो ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासङ्घ र नेकपा (एमाले)निकट अखिल नेपाल किसान महासंघले संयुक्त रूपमा कार्यालयमा तालाबन्दी गरेका हुन् । सरकारले कात्तिक १६ गते धानको मूल्य निर्धारण गरेको थियो । तर, त्यो मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानसँग धान खरिद नगर्दा किसानले सस्तोमा धान बेच्न बाध्य भइरहेका छन् ।
सरकारले तोकेकै मूल्यमा तत्काल किसानको धान खरिद गर्न माग गर्दै कार्यालयका तालाबन्दी गरिएको अखिल नेपाल किसान महासंघ स्थायी कमिटी सदस्य डेजी पाण्डेले बताए । उनले भने, ‘किसानको धान किन्ने भनेर स्थापना गरिएको कार्यालयले समयमा धान किनिरहेको छैन् । त्यसले गर्दा किसानहरु मर्कामा परे । उनीहरु सस्तोमा धान बेच्न बाध्य छन् । अब तत्काल खरिद गर्नुपर्छ भनेर तालाबन्दी गरेका हौँ ।’ यस्तै उनले सरकारले किसानको धान खरिद नगरे थप सशक्त आन्दोलन गर्न चेतावनी समेत दिए ।
सरकारले यसअघि नै मोटो धानको मूल्यप्रति क्विन्टल २ हजार ९७६ र मसिनो धानको मूल्य क्विन्टल ३ हजार १२८ निर्धारण गरेको थियो। तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको किसानको धान खरिद गरिरहेको छैन । जसका कारण किसानहरु २ हजार ४ सय मूल्यमा धान बेच्न बाध्य छन् ।











प्रतिक्रिया