महाभारत गाउँपालिकामा रेविज : ‘सिनो’ पछि काँचो दूध र कुकुरको आतंक

रोकथामको अभियान तीव्र

0
Shares

महाभारत, काभ्रे । महाभारत गाउँपालिका वडा नम्वर १ गोकुलेमा पछिल्लो एक महिनामा ६ वटा पशु मरेका छन् । मरेका मध्ये दुई गाई र एउटा खसीमा गरिएको परिक्षणमा रेविज देखिएको छ ।

मरेको पशुको मासु र काँचो दूध सेवन गरेका सर्वसाधारण छाडा कुकुरको टोकाईबाट थप त्रसित भएका छन् । कुकुरले पशुसँगै मानिसलाई टोक्न थालेको छ । रेविज फैलन नदिन स्वास्थ्य कार्यालय, जिल्ला पशु भेटेनिरी अस्पताल, गाउँपालिका र वडा कार्यालयले पशु र मानिस दुवैमा रेविजविरुद्धको सुई तथा अन्य जनचेतनामुलक अभियान शुरु गरेका छन् ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले सर्वसाधारणको जिउधनको सुरक्षाका लागि गाउँपालिकाले सबै उपाय अपनाउने गरी कार्य प्रारम्भ गरिसकेको बताउनु भयो । ‘हामीले पशु र मानिस दुवैको रक्षाका लागि अभियान शुरु गरिसकेका छौं’–अध्यक्ष जिम्बाले भन्नुभयो–‘महामारी नियन्त्रणमा सबैको साथ र सहयोग आवश्यक छ ।’

‘पशु मर्न लाग्यो भने पछि मारिहाल्ने र काट्न नभ्याउँदै म¥यो भने पनि काटेर खाने चलन हटाउनु प¥यो’–गोकुले १ का स्थानीय ओमकुमार श्रेष्ठले भन्नुभयो–‘महाभारतका अधिकांश वडामा यो चलन छ । जसका कारण रेविजको महामारी फैलन पुग्यो ।’ अमोमकुमारले भन्नुभयो–‘जबसम्म सिनो खान बन्द गरिँदैन तबसम्म पशुमा हुने हरेकखालका रोगहरु मानिसमा देखा परिरहन्छन् ।’

‘मासु पकाएर खाँदा रेविज त सर्दैन तर काट्ने क्रममा चोटपटक लाग्यो र आँखामा छिट्टा प¥यो भने रेविज भएको पशु रहेछ भने ब्यक्तिमा सर्ने सम्भावना हुन्छ’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले भन्नुभयो–‘मासु प्रयोग गर्दा हुने जोखिम न्यूनिकरण गर्न स्वस्थ पशुको मात्रै मासु सेवन गर्न आवश्यक छ ।’ रोगी पशुको मासु सेवन गर्दा सर्वसाधारण हरेक रोगको जोखिममा पर्ने डा. सेढाईले बताउनु भयो ।

गोकुले १ मा असोज अन्तिम साता एउटा गाई म¥यो, जसको मासु काटेर सर्वसाधारणले खाए । यस अघि भुम्लु गाउँपालिकामा मरेको भैसीको मासु खाएका कारण सर्वसाधारण त्रसित भएका थिए । अरु मरेका पशुहरुको परिक्षण गर्दा रेविज पुष्टी भएको थियो ।

‘महाभारत गाउँपालिकामा पछिल्लो एक महिनामा ६ वटा पशु मरेको सूचना गाउँपालिकाले प्राप्त गरेको छ’–प्रमुख प्रशासकिय अधिकृत हरिसिं विष्टले भन्नुभयो–‘तीनवटा गाई, एउटा बाछो, एउटा बंगुर र एउटा खसी मरेको छ । जस मध्ये एउटा गाई सर्वसाधारणले काटेर खाईसकेका छन् भने दुईवटा गाई र खसीमा मा रेविज पुष्टी भएको छ ।

अन्यमा परिक्षण नै नगरी सर्वसाधारणले गाढिदिएका छन् ।’ पशुमा फैलिएको रेविज मान्छेमा सर्न नदिन स्वास्थ्य कार्यालय, जिल्ला पशु भेटेनिरी अस्पताल, गाउँपालिका र वडा कार्यालय तथा स्थानीय सरोकारवाला निकायहरुले जनचेतना तथा रोकथामको पहल शुरु गरेका छन् ।

रोकथामको अभियान तीव्र

मरेको गाईको मासु काटेर खाएको तथा मरेको गाईमा रेविज पुष्टि भएसँगै त्यहीँ गाईको काँचो दूधबाट सत्यनारायणको पूजामा पञ्चामृत बनाएर खाएका सर्वसाधारण गोकुले १ मा त्रसित छन् । वडा नम्बर १, ६,७ र ८ मा पशुहरु धमाधम मर्न थालेका छन् । एक महिना अघि वडा नम्वर ६ र ७ मा मरेका थिए भने अहिले वडा नम्वर १ र ८ मा मरेका छन् ।

मरेर पुरिएको गाईमा गरिएको परिक्षणमा रेविज देखिएपछि त्यहीँ गाईको दूध खाएका सर्वसाधारण त्रसित भएका हुन् । स्थानीय पञ्चलाल श्रेष्ठको घरमा पुजामा सहभागिहरुले स्वास्थ्य कार्यालयका प्रमुख डा. पुरुषोतम सेढाईलाई जिज्ञासा राखेका थिए । स्थानीय मोहदास श्रेष्ठले घरमा पालिएका र सडकमा हिड्ने दुवै कुकुरहरुलाई खोप लगाउन अनुरोध गर्नु गर्नु भयो ।

श्याममाया श्रेष्ठको खसी एउटा मरेको र अर्काे विरामी भएको बताउँदै तत्काल उपचारका लागि पहल गरिदिन अनुरोध गर्नु भयो । बममाया अस्थानीको सुगुर मरेकाले थप क्षति हुन नदिन खोप लगाईएको छ । स्थानीयहरुले छाडा कुकुरको ब्यवस्थापन गर्न स्थानीय सरकारसँग माग गरेका छन् । वडा अध्यक्ष कान्छामान जिम्बाले स्थानीयहरुको मागअनुसार नै वडा कार्यालयले योजना बनाएर कुकुर तथा पशुहरुमा र त्यस्ता पशुहरुको सम्पर्कमा भएका ब्यक्तिहरुलाई खोप लगाउन शुरु गरिएको बताउनु भयो ।

महाभारत गाउँपालिकाले स्थानीयहरुको जीवन रक्षाका लागि वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्था, पशु भेटेरिनरी लगायतका संघ संस्थाहरुको पहलमा जनचेतना फैलाउने अभियान शुरु गरेको छ । सहि सूचना संकलन, खोप तथा छाडा र जंगली पशुहरुबाट बच्न अपानाउनु पर्ने उपायका बारेमा घर घर सन्देश दिन शुरु गरिएको गाउँपालिका प्रवक्ता कान्छामान जिम्बाले बताउनु भयो ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाई, प्रमुख प्रशासकिय अधिकृत हरिसिं विष्ट, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा पशुसेवा प्राविधिकहरुको टोलीले शनिबार एकै दिन विद्यालयका बालबालिका, समुदाय, जनप्रतिनिधि तथा कर्मचारी, स्वास्थ्यकर्मी, समुदायमा रहेका चर्च तथा अन्य संस्थामा पुगेर रेविजका बारेमा जानकारी गराएका छन् । गाउँपालिकाका जोखिम क्षेत्रमा धमाधम खोप तथा कन्ट्रयाक्ट ट्रेसको कार्य भईरहेको प्रमुख प्रशासकिय अधिकृत हरिसिंह विष्टले जानकारी दिनुभयो ।

कसरी भित्रियो रेविज ?

महाभारत गाउँपालिमा रहेका सबै गोठ खुल्ला छन् । रातको समय वा दिउसको समयमा समेत बहुला कुकुर र जंगली जनावारहरुद्वारा गोठमा रहेका पशुहरुलाई आक्रमण गर्ने तर कसैले नदेख्ने भएकाले रेविज भएका त्यस्ता जनावारहरुबाट पशुमा घाउ बनाउँदा रेविज सर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

स्थानीयहरुले बस्तुलाई पानी खुवाउन भाँडाहरु बाहिर राख्ने, ति भाँडाहरु बहुला कुकुरले चाट्ने तथा ति भाँडाहरु मानिसले नपखाली चलाउँदा रेविज पशुबाट मान्छेमा सर्न सक्ने खतरा देखिएको छ ।

कुकुरको संख्या दिनानुदिन बढिरहने भएकाले कुकुरलाई रेविज विरुद्धको खोप लगाएर कुकुर नियन्त्रण गर्नु पर्नेमा कठिनाई देखिएको स्थानीय ओमकुमार श्रेष्ठले बताउनु भयो । विरामी पशु काटेर मासु खाने, मरे पछि पनि काटेर मासु खाने, त्यसमा रेविज थियो थिएन जानकारी नहुँदा स्थानीय त्रसित भएका हुन् ।

मरेर गाडिएका बस्तुहरु जंगली जनावार र कुकुरले खोस्रेर खाँदा त्यसबाट पनि रेविजको भाईरस समुदायमा फैलन सक्ने देखिएको छ । जंगली जनावार र कुकुर नियन्त्रण हुन नसक्दासम्म रेविजको महामारी नियन्त्रण कठिनाई हुने स्थानीयहरुले बताएका छन् ।