कञ्चनपुरमा लागूऔषध ओसारपसारमा संलग्न उपमेयरका छोरा र भारतीय नागरिकसहित ६ जना पक्राउ

छुटाउन प्रहरीलाई दबाब

0
Shares

धनगढी । कैलाली र कञ्चनपुरका छुट्टाछुट्टै स्थानबाट एकैदिन अवैध लागूऔषध ओसारपसारमा संलग्न उपमेयरका छोरा र भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुरमा एक युवक अवैध लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्लाको पुनर्वास नगरपालिका–६ बाट सशस्त्र प्रहरीले अवैध लागूऔषध (खैरो हेरोइन)सहित उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका ती युवक शुक्लाफाँटा नगरपालिकाकी उपमेयर कल्पना जोशी (पन्त)का ३० वर्षीय छोरा पंकज पन्त रहेको प्रहरीले बताएको छ ।

हिजो (शनिबार) दिउँसो सशस्त्र प्रहरीको पुनर्वासस्थित बोर्डर आउटपोष्ट (बीओपी)बाट खटिएको टोलीले उनलाई खैरो हेरोइनसहित पक्राउ गरेको छ ।

भन्सारस्थित चेक प्वाइन्टबाट शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर घर भएका पन्तलाई प्रहरीले पक्राउ गरिएको हो । उनको साथबाट २०.४ ग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई छुटाउन प्रहरीलाई विभिन्न ठाउँबाट दबाब आइरहेको प्रहरी स्रोतले दाबी गरेको छ । उनलाई छाड्न दबाब दिँदै कांग्रेसका शीर्ष नेताहरुको फोन आइरहेको बताइएको छ ।

उनको साथबाट से ३ प ८६९१ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ । पन्तले पुनर्वाससँग सीमा जोडिएको भारतको बसहीस्थित मिलन बजारबाट लागूऔषध खरिद गरी ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पन्तलाई प्रहरीले थप अनुसन्धानका लागि हिजो नै ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाएको छ ।

यस्तै शनिबार राति नै भीमदत्त नगरपालिका–३ जनज्योति चोकबाट पनि लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका–३ बस्ने २७ वर्षीय दिनेश कुँवर र सोही नगरपालिका–४ बस्ने ३८ वर्षीय अनिलसिंह रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो कञ्चनपुरबाट खटिएको प्रहरीले दिनेशलाई १ ग्राम ९५ मिलिग्राम र अनिललाई ३ ग्राम ९ मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको हो ।

यता, कैलालीको कैलारी गाउँपालिका–५ बैजपुरबाट पनि लागुऔषधसहित ३ जना समातिएका छन् । प्रहरीका अनुसार ३४ ग्राम ५ सय १० मिलिग्राम लागूऔषधसहित भारत बस्ने ५५ वर्षीय शेरसिंह लगायत २ जना समातिएका हुन् ।

शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले युपी ३१ बिएक्स ८०९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।