सांसदलाई सकस हुने हलमै दोस्रो कार्यकाल

0
Shares

हेटौंडा । 

मंसिर ४ गतेको आमनिर्वाचनबाट वागमती प्रदेशसभामा प्रत्यक्षतर्फबाट १९ जना दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनीहरुका लागि प्रदेशसभा पुरानै हुने भए पनि नवनिर्वाचितका लागि भने यो पहिलो अनुभव हुनेछ ।

पुराना सांसदले पुरानै हलमा फेरि सकसपूर्ण संसद्को अनुभव गर्न पाउनुहुनेछन् भने नयाँका लागि भने यो पहिलो अनुभव हुनेछ । तीन सरकार फेरिए पनि कुनै सरकारको नजरमा नयाँ हल परेन । यसको पीडा फेरि सांसदहरुले सहनैपर्ने बाध्यता देखिएको छ ।

बारम्बार केवल राजनीतिक जोडघटाउमा रुमल्लिरहेका सरकारहरुले नयाँ संसद् भवनतर्फ चासो देखाउने फुर्सद नै पाएनन् । त्यसैले, वागमती प्रदेशसभा सचिवालयको पुरानो भवन भए पनि त्यसलाई केही नयाँ रूप दिने कार्य जारी राखिएको छ । प्रदेशसभाको मूल गेटदेखि सभामुख र उपसभामुखको कार्यकक्ष पनि सिँगारिँदै छन् ।

संसद्का विभिन्न समितिका लागि नयाँ भवन तयार पार्ने काम भइरहेको छ । संसदीय दलका कार्यालयहरु पनि मर्मतसम्भार गरेर नयाँ रूप दिने काम भइरहेको छ । अबको केही समयपछि वागमतीका प्रत्यक्ष र समानुपातिक गरी १ सय १० प्रदेशसभा सदस्यहरु उक्त भवनमा रहेर नीतिनिर्माणमा जुट्नेछन् ।प्रदेशसभाको दोस्रो कार्यकाल शुरू हुनलाग्दा समेत प्रदेशसभाको आफ्नै भवन निर्माण सम्पन्न भएको छैन । नयाँ सदन पनि शिक्षा निर्देशनालयको पुरानै भवनबाट शुरू हुने भएको छ ।

तत्कालीन निर्देशनालयको भवनमा प्रदेशसभाको हल निर्माण भइरहे पनि नयाँ कार्यकालको शुरुआत नयाँ भवनबाट नहुने भएको छ । प्रदेशसभाबाट पाँच वर्ष अवधिमा ३ वटा सरकार बने पनि कुनै सरकारले प्रदेशसभा भवन बनाउन चासो दिएन । उक्त कारण दोस्रो कार्यकाल पनि पुरानै साँघुरो भवनमा शुरू हुने भएको हो ।

तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयले करिब ६० जना क्षमताको तालिम हल निर्माण गरेको थियो । उक्त हलमा १ सय ९ जना प्रदेशसभा सदस्य, कर्मचारी र दर्शक बल्लतल्ल अटाएका थिए । स्थान अभावका कारण प्रदेशसभाका विभिन्न समितिको बैठक प्रदेशसभा बाहिर बस्ने गरेको थियो । मंसिर ४ मा सम्पन्न निर्वाचनपछि वागमती प्रदेशसभामा राप्रपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ । जसले गर्दा अब राप्रपालाई पनि प्रदेशसभा सचिवालयले संसदीय दलको कार्यालय उपलब्ध गराउनुपर्नेछ । निर्वाचनको अन्तिम मतपरिणामसँगै संसद् सचिवालयलाई नयाँ दलका लागि संसदीय दलको कार्यालय निर्माणमा चुनौती थपिएको छ ।

तर, प्रदेशसभाको नयाँ भवन बन्न अर्को वर्ष लाग्ने देखिन्छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत् शहरी विकास तथा भवन निर्माण कार्यालयमार्फत अर्घाखाँची सगुन पारामाउन्ट जेभीले निर्माणको काम गरिरहेको छ । गत वैशाखसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको सचिवालयको ट्रस्ट सभाहल निर्माणकार्य हालसम्म करिब ८० प्रतिशत सम्पन्न भएको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण कार्यालयले नेपालमा एलसी बन्द हुनु, कोरोना महामारी फैलिनुजस्ता कारण देखाउँदै निर्माण कम्पनीले काम ढिलाइ गरेको दाबी गरेको छ । तर, अबका दुई महिनामा प्रदेशसभा भवनको सम्पूर्ण काम सकेर हस्तान्तरण गरिने निर्माण कम्पनीले बताएको कार्यालयको भनाइ छ ।डोरमणि पौडेलको अध्यक्षतामा २०७४ माघ १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो ।

प्रदेशसभाको पहिलो कार्यकालको पाँच वर्ष अवधिमा यही प्रदेशसभाबाट तीनवटा सरकार परिवर्तन भइसकेका छन् । तर, प्रदेशसभाका दल र कर्मचारीको प्राथमिकतामा व्यवस्थित भवन बनाउने कार्य परेन । सरकार र मातहतका निकायको चासो कम पर्दा प्रदेशसभा भवन निर्माण कार्य सुस्त भएको हो । पुरानो संसद् भवनमा प्रदेशसभा बैठकमा सहभागी प्रदेशसभा सदस्यलाई बेञ्चमा बस्नेदेखि बैठककक्ष छिर्न र निस्कन समस्या हुने गरेको छ ।

हलमा पछाडि बस्ने प्रदेशसभा सदस्यलाई बैठक नसकी बाहिर निस्कन निकै सकस हुने गर्दछ । साँघुरो बाटो हुँदै सभामुखको आसन अघिबाट हलको भित्रबाहिर गर्ने सानो बाटो छ । बैठक हलको बीचमा रहेको सिमेन्ट पिलरले दायाँ–बायाँ राम्ररी हेर्न समस्या हुने गरेको प्रदेशसभा सदस्यहरुको गुनासो छ ।

निर्धारित समयमा सभाहल निर्माण नभएपछि कार्यालयले २०८० जेठ ३० गतेसम्मका लागि म्याद थप गरेको थियो । २०७७ कात्तिक १९ गते ४ करोड ९४ लाख ९ हजार ९ सय ९ रुपियाँमा प्रदेशसभा भवन निर्माण सम्झौता भएको थियो । उक्त भवनको वागमती प्रदेशसभाका तत्कालीन सभामुख सानुकुमार श्रेष्ठले २०७७ मंसिर १० गते शिलान्यास गर्नुभएको हो ।

१९ सांसद पुरानै

प्रत्यक्षतर्फ प्रदेशका १९ जना सांसद प्रदेशसभाको दोस्रो कार्यकालका लागि निरन्तरता पाउने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार काठमाडौंका ७, मकवानपुरका ३, भक्तपुर र काभ्रेका २–२, चितवन, रसुवा, नुवाकोट, धादिङ र सिन्धुपाल्चोकका १–१ क्षेत्रबाट निर्वाचित भएका दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

चितवन–१ ‘ख’ बाट नेकपा (एकीकृत समाजवादी)का कृष्णप्रसाद शर्मा खनाल, काठमाडौं–१ ‘क’ बाट कांग्रेसका दीपेन्द्र श्रेष्ठ, भक्तपुर–१ ‘ख’ बाट नेमकिपाका सुरेन्द्रराज गोसार्इं, भक्तपुर–२ ‘ख’ बाट एकीकृत समाजवादीका राजेन्द्रमान श्रेष्ठ, रसुवा–१ ‘क’ बाट कांग्रेसका प्रभात तामाङ, नुवाकोट–१ ‘क’ बाट माओवादी केन्द्रकी राधिका तामाङ दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको छ ।

मकवानपुर–१ ‘क’ बाट माओवादी केन्द्रका प्रेमबहादुर पुलामी, मकवानपुर–२ ‘क’ बाट माओवादी केन्द्रकी कुमारी मोक्तान, मकवानपुर–२ ‘ख’ बाट कांग्रेसका इन्द्रबहादुर बानियाँ, धादिङ–१ ‘ख’ बाट माओवादी केन्द्रका शालिकराम जम्कट्टेल, सिन्धुपाल्चोक–२ ‘क’ माओवादी केन्द्रका युवराज दुलाल, काभ्रे–१ ‘क’ बाट माओवादी केन्द्रका रत्नप्रसाद ढकाल पनि दोस्रो कार्यकालका लागि प्रत्यक्षतर्फबाट निर्वाचित हुनुभएको हो ।

काठमाडौं–३ ‘क’ बाट कांग्रेसका छिरिङ दोर्जेलामा, काठमाडौं–७ ‘क’ बाट एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर, काठमाडौं–७ ‘ख’ बाट एमालेका प्रकाश श्रेष्ठ, काठमाडौं–९ ‘ख’ बाट एमालेका केशवप्रसाद पोखरेल, काठमाडौं–१० ‘क’ बाट कांग्रेसका पुकार महर्जन, काठमाडौं–१० ‘ख’ बाट एकीकृत समाजवादीकी रमा आलेमगर र काभ्रे–२ ‘क’ बाट एकीकृत समाजवादीका लक्ष्मण लम्साल वागमती प्रदेशसभा सदस्यमा पुनः निर्वाचित भएका छन् ।