जनस्तरबाट सिँगारिँदै प्रदेश राजधानी देउखुरी

0
Shares

दाङ । 

लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्र धमाधम सिँगारिन थालिएको छ । जनस्तरबाट विभिन्न समिति निर्माण गरी सिँगारपटार गर्न थालिएको हो ।

राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यका देउखुरीअन्तर्गत राप्ती गाउँपालिकाको बजार क्षेत्र तथा लमही–भालुवाङ सडक खण्डको ठाउँ–ठाउँमा स्वागत गेट निर्माण गरिएको छ भने प्रतीक्षालयहरुमा रंगरोगन गरिएको छ । त्यस्तै सडक सडकका दुवै किनारामा सरसफाइ गर्ने काम धमाधम भइरहेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

भालुवाङ बजार, मौरीघाट क्षेत्र, पिपरी बजार, सिसहनियाँ बजार, सिंगेखोलालगायतका क्षेत्रमा स्वागत गेट निर्माण गरिएका छन् । ती क्षेत्रमा प्रतीक्षालयहरू पनि रंगरोगन गरेर ‘लुम्बिनी प्रदेश राजधानीमा हार्दिक स्वागत छ’ भनेर लेखिएको छ । यस क्षेत्रका विभिन्न उद्योग वाणिज्य संघ, होटल व्यवसायी समितिलगायत निजी क्षेत्रका अगुवा संस्था तथा जनस्तरमा गठित विभिन्न क्लब र समूहले रंगरोगन तथा सरसफाइका अभियान चलाएका छन् ।

श्यामेश चौधरीको संयोजकत्वमा गठित सरसफाइ तथा सौन्दर्यीकरण समितिले पूर्व–पश्चिम राजमार्ग, राप्ती गाउँपालिकाका ९ वटै वडा तथा टोलले सरसफाइ गर्ने, प्रतीक्षालयहरू रंगरोगन गर्ने, स्वागत गेट बनाउने काम गरिरहेका छन् । राप्ती उद्योग वाणिज्य संघ, सिसहनियाँ उद्योग वाणिज्य संघ, राप्ती गाउँपालिका चेम्बर अफ कमर्स र भालुवाङ होटल व्यवसायी समितिहरूसँगको सहयोग तथा समन्वयमा राजधानी सिगार्ने काम भइरहेको सरसफाइ तथा सौन्दर्यीकरण समितिका संयोजक चौधरी बताउनुहुन्छ ।

नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण तथा बैठक स्थायी राजधानी देउखुरीमा राख्ने तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राप्ती गाउँपालिका–३ लालमटियामा प्रदेशसभा भवन निर्माणकार्य भइरहेका छन् । पूर्वाधार निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका इन्जिनियर विष्णु केसीले जानकारी दिनुभयो । प्रदेशसभा भवनभित्रको काम सबै पूरा भइसकेको र बाहिर इन्टरलक लगाउने काम बाँकी रहेको उहाँको कथन छ ।

त्यस्तै, गार्ड हाउसको ढलान भइसकेकाले त्यो पनि अन्तिम चरणमा पुगेको इन्जिनियर केसीले बताउनुभयो । त्यो काम पनि केही दिनमै सकिने उहाँको भनाइ छ । भवनमा विद्युत् जोड्ने काम सकिएको छ भने रंगरोगन, एसी राख्ने, टेबल, कुर्सी, कार्पेट बिछ्याउने काम पनि भइरहेको छ । त्यो सबै जिम्मा प्रदेशसभाले लिएको छ ।

प्रदेशसभा भवन १ अर्ब २० करोड रुपियाँ लगानीको हो । उक्त भवन वाईबी स्टोन बिल्डर्स प्रालिले निर्माणको जिम्मा पाएको छ । प्रदेशसभा भवनमा सभाहलसँगै भीआईपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि गरी १४ वटा कोठा बनेका छन् ।
मुख्यमन्त्री कार्यालय देउखुरी आएपछि आवश्यक संरचना निर्माणको काम अघि बढेको हो ।

मुख्यमन्त्री कुलप्रसाद केसी एक हप्तादेखि देउखुरीमै रहनुभएको छ भने शुक्रबारदेखि सरकारी निवासमा बस्न शुरु गर्नुभएको छ । मुख्यमन्त्री कार्यालय, मुख्यमन्त्री र मुख्य सचिवको निवास निर्माणको काम पनि सकिएको छ । अब अन्य मन्त्रालयका लागि संरचना तयार गर्ने काम अघि बढिरहेको स्वास्थ्य तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारूबो कथन । निर्वाचन आचारसंहिता सकिएलगत्तै मुख्यमन्त्री कार्यालयमा झण्डोत्तलन गरी नियमित काम शुरु गर्ने उहाँ बताउनुहुन्छ ।