दैलेखको राकमकर्णाली नयाँ शहर आयोजनाको काम १० वर्षदेखि अलपत्र

0
Shares

दैलेख ।

उत्कृष्ट शहरको रूपमा विकास गर्ने सरकारको योजनामा परेको दैलेखको आठबिस नगरपालिकास्थित राकमकर्णाली शहरलाई उत्कृष्ट शहरको रूपमा विकास गर्ने काम शुरू भएको १० वर्ष भइसक्दा पनि कुनै प्रगति भएको छैन ।

राकमकर्णाली नयाँ शहर आयोजनाको कार्यालय स्थापना र अन्य छिटफुट कामबाहेक यतिबेलासम्म अन्य कामहरू भएका छैनन् । १० वर्षअघि मध्यपहाडी लोकमार्गसँगै रहेका १० शहरहरूलाई उत्कृष्ट शहरको रूपमा विकास गर्ने सरकारी योजनाअन्तर्गत यो शहर पनि छनोटमा परेको हो ।

राकमकर्णालीमा नयाँ शहर निर्माणको खबरबाट हर्षित भएका स्थानीयहरूले नयाँ शहर आयोजनाको लागि व्यक्तिगत रूपमा जग्गा दिएका थिए । तर, हालसम्म उक्त जग्गाको मूल्याङ्कन भएको छैन । शुरूका दिनहरूमा शहर आयोजनाका ठेक्कापट्टाका केही कामहरू भएको भए पनि हाल सबै कामहरू ठप्प छन् ।

राकमकर्णाली नयाँ शहर आयोजनाको कार्यालयमा कार्यालय प्रमुख नियुक्त गरिए पनि कार्यालय प्रमुखले राकमकर्णालीको कार्यालयमा पाइलै नटेकेको स्थानीयहरू गुनासो गर्छन् । केन्द्रबाट नियुक्त गरिएका प्रमुखहरूले उतै बसेर तलब खाने र उतैबाट सरुवा लिने प्रचलन विद्यमान छ ।

राकमकर्णालीलाई उत्कृष्ट शहरको साटो धुलो उड्ने बजारक्षेत्र र प्लटिंग गरेर चिराचिरा परेको आफ्नो जमिनबाहेक केही उपलब्धि नपाएपछि दिक्दार भएका स्थानीयहरूले सकेसम्म छिटोछरितो काम हुनुपर्ने नभए आयोजना नै बन्द गरिनुपर्ने माग गरिरहेका छन् ।यतिबेला सुर्खेतको पश्चिम चौकुने गाउँपालिका बस्दै आएका दैलेखको आठबिस नगरपालिका ४ निवासी भीम बहादुर सिजापतिले पनि राकमकर्णाली नयाँ शहरको नाममा आफ्नो जग्गा दिनुभएको थियो ।

नयाँ शहर निर्माण गाउँमा नै फर्केर केही व्यावसाय गर्ने सोच राखेका सिजापतिले राकमकर्णालीस्थित नयाँ शहर आयोजनाको कार्यालयमा आफ्नो जग्गाबारे बुझ्न खोज्दा कार्यालय प्रमुखलगायत कर्मचारी नभेटेपछि खिन्न हुँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यो किन ढिलो भयो होला खै ? हाम्रा जनप्रतिनिधिहरूले चासो नदिएर हो या कर्मचारीको बदमासीले हो कि, ढिलो भइरहेको छ । हाम्रा जग्गाको पनि कुनै हिसाब छैन, यतिबेला कित्ता काँट पनि रोकिएको छ रे, अनि अफिसमा हाकिम पनि हुनुहुन्न, खै आजभोलि त दिक्क लागिसक्यो ।’

राकमकर्णालीमा कार्यालय मात्र राखिएको, किसानहरूको जग्गाको मुआब्जा समेत नदिएको बताउँदै भन्नुभयो– ‘जग्गा प्लटिंग पनि रोकिएको छ । मानिसहरूले बिना मापदण्ड धमाधम घरहरू बनाइरहेका छन् । पछि ती घरहरूको नक्सा समेत पास गर्न गाह्रो पर्नेछ ।’

नयाँ शहर आयोजनाको कार्यालयमा दुई तीन जना प्राविधिकहरू मात्र छन् । कार्यालयले के काम गरिरहेको छ त ? भन्ने जिज्ञासामा कार्यालयका वरिष्ठ प्राविधिक हेमराज रोकायले भन्नुभयो– ‘कार्यालय र हाम्रो लक्ष्य भनेको व्यवस्थित शहर निर्माणको नै हो । तर, ठेकेदारहरूका कारण ढिलो भइरहेको छ ।

उहाँहरूले ठेक्का लिने र म्याद थप्ने काम मात्र गर्नुहुन्छ अनि निमार्णको काम अलपत्र छ । हामीले हेर्ने सडक विस्तार, खानेपानी र भवन निर्माणका कामहरू भइरहेका छन् । हाकिमसाहेब किन आउनुहुन्न हामीलाई जानकारी हुन्न, माथिबाटै सरुवा बढुवा हुन्छ ।’

स्थानीय सरकारले पनि नयाँ शहर निर्माणमा कुनै पहल गर्न सकिरहेको छैन । नयाँ शहरको कार्यालयमा कार्यालय प्रमुख नै नबस्नु नै मुख्य समस्या भएको भन्दै आठबिस नगरपालिका प्रमुख तर्क बडुवालले भन्नुभयो– ‘मलगायतको टोली केन्द्रमा नै पुगेर पहल गरेर आएको हो ।

यहाँका जनताले लालपुर्जा नै पाउन सकेका छैनन् र जग्गाको रकमसमेत पाउन सकेका छैनन् यो ठूलो समस्या हो । अब भने हामी जिल्ला प्रशासन कार्याल्यमा गएर बैठक बस्छौँ र किन ढिलो भएको हो भन्नेबारे खबरदारी गर्छौं ।’ मध्यपहाडी लोकमार्गका १० उत्कष्ट शहरहरूमध्येको यो राकमकर्णालीमा १० वर्षसम्म पनि काम अगाडि नबढ्नुले स्थानीयहरूमा नैराश्यता छाएको छ ।