दलहरूले बुझाए समानुपातिक सांसदको सूची

0
Shares

काठमाडौं  ।

राजनीतिक दलहरूले मतका आधारमा पाउने समानुपातिक सांसद्को सूची निर्वाचन अयोगलाई बुझाएका छन् । शनिबार दिनभरिको आन्तरिक कसरतपछि दलहरूले आयोगले दिएको समय सीमाभित्र संसद्मा पठाउने नेताहरूको नाम टुंग्याएका हुन् ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले समानुपातिकमा पाएको ३२ जना समानुपातिक सांसदको नाम टुंगो लगाएर आयोगमा पठाएको जानकारी दिँदै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पदाधिकारीसँग छलफल गरी सभापति शेरबहादुर देउवाले बन्दसूचीबाट समावेशिताको आधारमा सांसदको नाम टुंगो लगाउनुभएको हो ।’

३३ प्रतिशत महिला हुनुपर्ने प्रावधानका कारण कांग्रेसको कोटामा परेका ३२ समानुपातिक सांसद्मध्ये २९ जना महिला चयन भएका छन् भने पुरुष तीन जना मात्रै परेका छन् । तीन जना पुरुषमा विमलेन्द्र निधि, जीवन परियार र डा. प्रकाशशरण महत रहनुभएको छ । आदिवासी जनजाति पुरुषको पहिलो नम्बरमा रहेका गोपालमान श्रेष्ठ भने सांसद् चयन हुन सक्नुभएन ।

सभापति देउवानिकट रहेका श्रेष्ठलाई छनोट गर्दा आन्तरिक शक्ति सन्तुलनमा देउवाको निर्णय एकपक्षीय देखिने र सहमहामन्त्री जीवन परियार नै छुट्ने भएकाले श्रेष्ठलाई राष्ट्रिय सभामा लैजाने आश्वासन दिएर समानुपातिकको सूची टुंग्याएको एक केन्द्रीय सदस्यले बताए ।

उनले भने– ‘प्रत्यक्षमा धेरै महिला उम्मेदवारले हारेर एकजना मात्रै आएका कारण समानुपातिकमा प्रत्येक क्लस्टरमा एक–एक जना पुरुषलाई समेत समेट्न सकिएन । जनजाति र मुस्लिमको क्लस्टरमा पहिलो नम्बरमा रहेका गोपालमान श्रेष्ठ र फरमुल्लाह मन्सुर योपटक सांसद हुन पाउनु भएन । देउवाले श्रेष्ठलाई छान्दा मधेशी समुदायबाट प्रतिनिधित्व गर्ने विमलेन्द्र निधीलाई छाड्नुपर्ने बाध्यता थियो ।

समानुपातिक सांसदका लागि छनोट भएका २९ जना महिलामा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु पनि पर्नुभएको छ । बन्दसूचीमा समावेश गर्दा अग्रस्थानमा राखिएका राणा र खाँणलाई सांसद बनाउने विषयमा पार्टीको तल्लो तहमा चर्को असन्तुष्टि भए पनि शीर्ष नेतृत्वले उहाँहरूलाई सांसद बनाएको टिप्पणी गर्दै ती नेताले भने– ‘श्रीमती मञ्जु खाँणलाई समानुपातिक सूचीमा राख्ने, आफूले टिकट लिएर जाने अनि कार्यकर्तालाई त्याग गर्न सक्नुपर्छ भन्ने भाषण गरेका कारण वहालवाला गृहमन्त्री बालकृष्ण खाँणलाई रूपन्देहीका जनताले पत्याएका थिएनन् ।

तर, उहाँकी श्रीमतीलाई पार्टी नेतृत्वले समानुपातिकमा पत्याएको छ ।’कांग्रेसले खस आर्यबाट प्रकाशशरण महत, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल र मैना रावललाई छानेको छ । प्रसाईं, गौतम र रावल संस्थापनइतर पक्षका हुन् ।

आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन र अञ्जनी श्रेष्ठको नाम टुंगो लागेको छ । बोखिम, राजभण्डारी र थापा मगर संस्थापनइतर समूहका हुन् ।

दलितबाट जीवन परियार, शान्ति विक, रूपा विक, सीता मिजार र आशा विक चयन हुनुभएको छ । जीवन र सीता संस्थापनइतरका हुनुहुन्छ । मधेशीमा विमलेन्द्र निधि, नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी र संगीता मण्डल छानिनुभएको छ । यादव संस्थापन इतरकी हुनुहुन्छ । यस्तै, मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसदका लागि छानिनुभएको छ ।

त्यस्तै, नेकपा एमालेले पनि समानुपातिक सांसदहरूको सूची टुंगो लगाएर आयोगमा प्रतिवेदन पठाएको छ । शनिबार बसेको सचिवालय बैठकले सूची टुंगो लगाएको एमाले सचिव योगेश भट्टराइले जानकारी दिनुभयो । प्रतिनिधि सभातर्फ ३४ सिट पाएको एमालेले महिला २२ जना र पुरुष १२ जना चयन गरेको छ ।

आदिवासी जनजाति क्लस्टरबाट देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा चयन हुनुभएको छ । त्यस्तै खसआर्यतर्फ रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दिपा शर्मा र सुनिता बराल चयन हुनुभएको छ ।

थारू क्लस्टरबाट आश्माकुमारी चौधरी र शान्ती चौधरी पर्नुभएको छ भने दलितबाट ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा, रुक्मिणी राना बराइली र हर्कमाया विश्वकर्मालाई छनोट गरिएको छ । त्यसै गरी मधेसी क्लस्टरबाट गंगाप्रसाद यादव, अमृतलाल राजवंशी (अल्पसंख्यक), बिना देवी, अमृतादेवी अग्रहरी, प्रतीक्षा तिवारी र मुस्लिम सराज अमहत फारुकीलाई एमालेले सांसद बनाएको छ ।

त्यसै गरी नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फको १४ समानुपातिक सांसदहरूको टुंगो लगाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले १४ समानुपातिक सांसदहरूको टुंगो लगाएको जानकारी दिँदै माओवादी केन्द्रका महासचिव देव गुरुङले भन्नुभयो– ‘समानुपातिक सांसदहरूमा दुर्गा राई, मिना तामाङ, उर्मिला माझी, छिरिङ ल्यामु तामाङ, हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी,नारायणी शर्मा, रूपा सोसी चौधरी, रणेन्द्र बराइली, सुशिला श्रीपाली ठकुरी, मिना यादव, उमरावती देवी यादव र कल्पना मियाँ छनोट हुनुभएको छ ।’

त्यस्तै, समानुपातिकमा १३ सिट पाएको रास्वपाले शनिबार आयोगलाई बुझाएको सूचीमा डा.ढाका कुमार श्रेष्ठ (आदिवासी), डोल प्रसाद अर्याल (खस आर्य), असिम साह (मुस्लिम) र मनिष झा (मधेसी) पर्नुभएको छ ।आदिवासी महिलातर्फ इन्दिरा राना मगर र सुमना श्रेष्ठ, थारू पुरुषमा अशोक चौधरी र मधेशी पुरुषमा तपेश्वर यादव समेटिएका छन् । आर्य महिलामा डा. चन्दा कार्की र निशा डांगी, दलित पुरुषमा सन्तोष परियार, दलित महिलाबाट कल्पना रोक्का र पिछडिएको क्षेत्रको महिलाबाट विनिता कठायतलाई संसद्मा पठाएको रास्वपाले जनाएको छ ।

त्यस्तै, राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश १ मा ४, मधेसमा १, वागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना समानुपातिक सांसद छानेको छ । उक्त दलले सांसदको सूची सार्वजनिक गरेको छैन ।